Comments Add Comment

नाडेप लघुवित्तको झण्डै दुई करोड हिनामिना

७ जनाविरुद्ध बैंकिङ कसूरको मुद्दा

२५ मंसिर, विराटनगर । कर्मचारीको मिलेमतोमा नाडेप लघुवित्त वित्तीय संस्थाको झण्डै दुई करोड रुपैयाँ हिनामिना भएको छ । धादिङ केन्द्रीय कार्यालय रहेको लघुवित्तको विराटनगर इलाका अन्तर्गतको दुई केन्द्रबाट झण्डै दुई करोड रुपैयाँ हिनामिना भएको हो ।

लघुवित्तका शाखा कार्यालयका प्रमुखसहित सात जना कर्मचारीको संलग्नतामा फर्जी ऋणी खडा गरेर विराटनगर इलाका अन्तर्गत केन्द्र नम्बर नम्बर ०२१ र ०२४ बाट एक करोड ९३ लाख २६ हजार १ सय १९ रुपैयाँ हिनामिना भएको हो ।

हिनामिनामा संलग्न भएको आरोपमा प्रहरी सात जनाविरुद्ध बैंकिङ कसुर मुद्दा दायर गरेको छ । तत्कालिन विराटनगर शाखा प्रमुख बाराका विजयचन्द्र प्रसाद, रङ्गेली नगरपालिका १ का इन्द्रमणि बस्नेत, लेखा सहायक अधिकृत विराटनगरका ३ का नारायणप्रसाद खराल, विराटनगर ३ कि लुना पराजुली, फिल्ड सहायक विराटनगर– १ का दीपक भट्टराई, २१ नम्बर केन्द्र प्रमुख विराटनगर १४ कि मन्जुलादेवी यादव र २४ नम्बर केन्द्र प्रमुख बेबीकुमारी यादवविरुद्ध बैकिङ कसुर मुद्दा दायर भएको हो ।

मुद्दा दायर गरिएकामध्ये खराल र पराजुली गत कात्तिक २१ गते पक्राउ परेका छन् । अन्य पाँच जना फरार छन् । बैंकिङ कुसर मुद्दामा जनही १५ लाख धरौटी बुझाएर उनीहरु मंगलबार नै छुटेका छन् ।

मंगलबार उच्च अदालतको वाणिज्य इजलासमा न्यायाधीशद्वय लेखनाथ घिमिरे र महेश शर्माको संयुक्त इजालसले पराजुली र खराललाई जनही १५÷१५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

वचतकर्ताको उजुरीपछि छानबिन

सातजनाको मिलेमतोमा बचत कर्तालाई जानकारी नै नदिई उनीहरुको नामबाट ऋण निकालिएको थियो । केन्द्र नं. २१ बाट ८७ लाख २५ हजार २ सय २३ रुपैयाँ र केन्द्र नं. २४ बाट १ करोड ५ लाख ९७ हजार ८ सय ९६ रुपैयाँ अपचलन गरेको खुलेको हो ।

केन्द्रका बचतकर्ता र नक्कली बचतकर्ता खडा गरेर कर्मचारीले ऋण निकाल्दा लघुवित्तले जानकारी पाएको थिएन । तर बचतकर्ताले ऋण निकाल्न खोज्दा पहिले नै ऋण लिएको देखिएपछि पारिवारिक झगडा समेत भएको थियो ।

बचतकर्ताले ऋण नै नलिए पनि आफ्नो नाममा ऋण देखिएपछि केन्द्रीय कार्यालयमा गुनासो गरेका थिए । गुनासो गरेपछि गत बैशाखमा लघुवित्तले आन्तरिक छानविन गरेको थियो ।

छानबिनपछि नाडेपको केन्द्रीय कार्यालयले गरेको आन्तरिक छानविनमा कर्मचारीले ठूलो रकम हिनामिना गरेको देखेपछि नाडेपका प्रमुख कार्याकारी अधिकृत उपेन्द्रबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए ।

उच्च अदालत विराटनगरमा दायर गरेको अभियोग पत्रमा ७ जना कर्मचारीले एकसय भन्दाबढी नक्कली सदस्य खडा गरे ऋणी बनाएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment