साग सकियो । तर, यसका स्मृतिहरु मनमस्तिष्कमा भरिएका छन् । सायद कहिल्यै मेटिने पनि छैनन् ।
अहिले पनि रोमाञ्चित हुन्छु, त्यो पल सम्झेर, जब मैले देशका लागि स्वर्ण पदक जित्दै राष्ट्रिय झण्डा काँधमा हालेँ । मलाई आकाशमा उडिरहेझैं भान भएको थियो त्यतिबेला । नहोस् पनि किन ? जुन सपना देखेर यत्रो मिहिनेत गरियो, त्यो पूरा भएको थियो । मलाई आफू संसारकै खुशी व्यक्ति भएजस्तो लाग्यो ।
००००
स्वर्ण पदक जितेपछि मैले शुरुमा बुबालाई सम्झिएँ । उहाँ देशबाहिर हुनुहुन्छ । एकदमै मिस गरेँ उहाँलाई । रोक्न खोज्दा पनि आँखाबाट आँशु झरिहाल्यो । सायद बुवा त्यसबेला मेरो अगाडि हुनुभएको मसँगै रुनुहुन्थ्यो ।
हरेक खेलाडीको सपना भनेकै अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । यही स्वर्णका लागि दिनरात मिहिनेत गर्छौं । वर्षौं तपस्या गर्छौं । त्यसैले स्वर्ण जित्नु हाम्रो लागि युद्ध जिते बराबर हुन्छ । यदि यो स्वर्ण देशका लागि हो भने त त्यसको गौरव कसरी बयान गर्नु ?
फेरि पनि भन्छु, देशको झण्डा त्यो म्याटमा फर्फराउँदा मलाई जीवनै सबैभन्दा ठूलो खुशी मिलेको थियो ।
मेरो सेमिफाइनल खेल थियो भारतीय खेलाडीसँग । दक्षिण एसियामा भारत र पाकिस्तानका खेलाडी एकदमै बलिया छन् । मसित भिड्ने भारतीय खेलाडी पनि खत्रै हुन् । मैले उनको खेल हेर्दै आएको हो । उनीसँग सेमिफाइनलमै भेट भएपछि थोरै डर पनि लागेको थियो । तर जसरी पनि गोल्ड जित्ने अभिलाषा थियो मनमा । १२ औं सागमा सात जना रजतमै अड्किएको पीडा भुल्नु पनि त थियो ।
तर स्वर्ण जित्न त फाइनलमा पुग्नुपर्यो पहिले । फाइनलमा पुग्न भारतीय खेलाडीलाई पन्छाउनुपर्यो । उसको जति स्पिड छ म त्योभन्दा डबल स्पिड हान्छु । उसले जुन मुभ गर्छ, म त्यही नै मुभ गरेर उसलाई छक्काइदिन्छु भन्ने सोचिरहेको थिएँ । गुरु संगीना वैद्यले यही भन्नु भएको थियो । र, मेरो दिमागमा पनि यत्ति थियो–स्पिड… स्पिड… स्पिड… ब्लक… ब्लक… ब्लक….।
भारतीय खेलाडीसित कडा टक्कर भयो । पहिलो राउण्डमा मैले लिड गरेँ । त्यसपछि मेरो आत्मबल बढ्यो । अनि त दोस्रो र तेस्रो राउण्डमा पनि लिड गर्दै मैले ५०–३९ स्कोरमा खेल जितेँ । सेमिफाइनल जितिसकेपछि त मेरो हौसला बुलन्द भइहाल्यो ।
फाइनल पाकिस्तानी खेलाडीसँग थियो । उनी पनि कमजोर थिइनन् । मभन्दा अग्ली थिइन् । तेक्वान्दोमा हाइटको एडभान्टेज धेरै हुन्छ । अग्लोले होचोलाई हाइकिक हान्न सजिलो हुन्छ । हाइकिक लाग्यो भने ३ अंक पाइन्छ ।
म होची भएकाले ब्लक गर्ने रणनीतिमा थिएँ । हाइकिक ब्लक गर्छु, तल–माथि प्रहार गरिहाल्छु भन्ने मेरो सोच थियो । ट्रेनिङको बेला मेरो गोलीगाँठोमा चोट लागेको थियो । हात पनि दुखेर पन्च नै गर्न नहुने भएको थियो । तर मैले खुट्टा जाला वा हात जाला भन्ने नसोची फाइनलमा विपक्षीमाथि पन्च हान्ने मात्र सोचेँ ।
फाइनलमा पाकिस्तानी खेलाडीसँग सोचेजस्तै भयो । मेरो सबै स्कोर लाग्यो । उसको अलिकति मात्र लाग्यो । मैले डबल किक हानेर जितेँ । फाइनल स्कोर मेरो ५० थियो, उसको जम्मा १४ । तेक्वान्दोमा यो एकदमै भारी अन्तर हो । १ स्कोरले त जितिन्छ भने मैले त ३६ अंकले पछि पारेकी थिएँ ।
अघिल्लो दिन पुम्सेमा नेपालले ७ वटा गोल्ड जितेको थियो । यसले खुशीसँगै दबाव पनि दिएको थियो । फाइटमा पनि त हामीले आफूलाई सावित गर्नुपर्यो ।
१७ मंसिरमा चार जनाको फाइट थियो । होम गेम, त्यो पनि आफूले ट्रेनिङ गरिरहेको ठाउँमा खेलेका थियौं । हार्न लाग्दा पनि दर्शकले गर्दा भित्रैबाट उर्जा आउने । अब चाहिँ मैले हान्नै पर्छ भने जस्तो हुने । अनि जित्दाको खुसी कसरी बयान गरुँ ?
००००
वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुद मैले अहिलेको भन्दा फरक तौल समूहमा प्रतिस्पर्धा गरेको थिएँ । मैले ५३ केजीमुनीमा कास्य जितेको थिएँ । निमा दिदीले स्वर्ण जित्नुभयो । मैले स्वर्ण जितेको भए राम्रो हुन्थ्यो, तर आएन ।
लगत्तै म सागको तयारीका लागि बन्द प्रशिक्षणमा परेँ । तर मैले सागका लागि आठौंभन्दा फरक ४६ केजीमुनि खेल्छु भनेर गुरुहरुसँग आग्रह गरेँ र, अनुमति पनि दिनुभयो ।
सागमा स्वर्णकै लक्ष्य लिएकी थिएँ । मैले घरमा ममीलाई पनि ‘म यो पटक सागमा स्वर्ण जिते खेल्छु, नभए खेल्नै छोडिदिन्छु’ भनेकी थिएँ । दिमागभरि स्वर्णमात्रै थियो ।
तर, त्योभन्दा पहिले त नेपालबाट छनोट हुनुपर्ने थियो । सेलेक्सनमा रेजिना कार्कीसँग खेल्नुपर्ने थियो । उहाँ पहिला सागको रजत जितिसक्नुभएकी खेलाडी । आठौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता । दिदी एकदमै राम्रो खेल्नुहुन्थ्यो । स्पिड र पावर सबै थियो उहाँमा । तर साग सपना पूरा गर्न मैले उहाँलाई जित्नुपर्ने भयो । मैले आफ्नो स्पिड र पावर बढाउन दिनरात मिहिनेत गरेँ ।
पहिलो छनोटमा लिग राउण्ड भएको थियो । सबैसँग भिड्नुपर्ने । तीन तौल समूहको एउटै प्रतिस्पर्धा थियो । मैले आठौंमा ५३ केजीमा खेलेकाले मलाई फाइदा नै भयो । किनकी मलाई अनुभव थियो । छनोट लिगमा मैले चारै फाइट जितेँ ।
त्यसपछि फाइनल सेलेक्सन आयो । फाइनल सेलेक्सन रेजिना दिदीसँग पर्दा डर लागेको थियो । तर आफ्नो अठोट पूरा गर्न मैले उनलाई हराउनुको विकल्प थिएन । रेजिना दिदीसँग मेरो एकदमै राम्रो गेम भयो । मैले धेरै नै स्कोरले उहाँलाई जितेँ । यो जितले मेरा लागि सागको ढोका खुल्यो । एउटा उद्देश्यमा सफल भएँ ।
००००
मेरो घरबाहिर बस्ने आदत छैन । अझ ममीसँग छुट्टिनै नसक्ने । मामाघर जाँदा पनि एकदुई दिनमै फर्किहाल्थें । सागका लागि बन्द प्रशिक्षणमा बसेपछि ममीबाट टाढा हुनुपर्यो । पहिले बिहान ट्रेनिङ गरेर बेलुका घर फर्किन्थे । तर यो पटक क्याम्पमा बस्दा घर जाने चान्स भएन । सबैलाई एकदमै मिस गर्थे । त्यसैले फोनमा नियमित कुरा हुन्थ्यो । ममीले पनि एकदमै हौसला दिनुहुन्थ्यो ।
बुवा साउदी जानुभएको करिब १० वर्ष जति भइसक्यो । उहाँ जाँदा म त १२ वर्षको मात्र थिएँ ।
बुवाको कुरा गर्दा म अलि भावुक बनिहाल्छु । बुवा साउदीमा गाडी चलाउनुहुन्छ । १–२ वर्षको ग्यापमा आउने जाने गर्नुहुन्छ । तर मलाई पढाई र खेल दुवैमा पहिल्यैदेखि हौसला दिनुहुन्थ्यो । बुवाममीले केही कमी गर्नुभएको छैन ।
हामी मध्यम वर्ग परिवार हौं । परिवारको भरणपोषणका लागि नै बुवा घरबाट यति धेरै टाढा जानुभएको छ । त्यसैले मैले आफ्नो बुबालाई खुशी दिन पनि स्वर्ण जित्नैपर्छ भन्ने सोचेको थिएँ । मेरो बुबा–मम्मीलाई प्राउड फिल गराउँछु भन्ने थियो ।
स्वर्ण पदक जितेपछि होटल गएँ । जानासाथ बुबालाई मेसेज गरेँ । तर उहाँ अनलाइनमा हुनुहुन्नरहेछ । ड्युटीमा हुनुहुँदोरहेछ । मैले ‘बुबा मैले गोल्ड जितेँ’ भनेर म्यासेज गरेँ । भोलिपल्ट बिहान उहाँले रेस्पोन्स गर्नुभयो । मलाई बधाई दिनुभयो ।
भिडियो कल गर्दा त बुवा रुन थाल्नुभयो । म पनि सँगै रोए । बुबालाई मैले जितेको गोल्ड मेडल देखाएँ । उहाँले ‘तिमीलाई धेरैधेरै बधाई छ, मेरी छोरी’ भन्नुभयो । मैले पनि ‘हजुरलाई पनि बधाई छ बुबा’ भनेँ । उहाँ साह्रै खुशी देखिनुभयो ।
०००
कक्षा ८ मा पढ्दादेखि तेक्वान्दो सिकेकी हुँ । हामी जडीबुटीमा बस्थ्यौं । नजिकै कोटेश्वर तेक्वान्दो डोजाङ थियो । नवीनकुमार श्रेष्ठ गुरु हुनुहुन्थ्यो त्यहाँ । दैनिक दाइ–दिदीहरु तेक्वान्दो ड्रेस, ब्ल्याक बेल्ट लगाएर रनिङ गर्नुहुन्थ्यो, किक हान्नुहुन्थ्यो । म पनि ओहो ! मैले पनि त्यसरी हान्न पाए हुने नि भनेर सोच्थेँ । फेरि, ‘केटी मान्छेले किक हान्दा कस्तो हुन्छ होला’ भन्ने पनि लाग्थ्यो ।
एक दिन ममीलाई भनेँ, ‘म पनि तेक्वान्दो सिक्छु ।’ उहाँले सुरुमा त हातखुट्टामा चोट लाग्छ भनेर मान्नुभएन । तर मैले साथीहरु पनि छन् भनेर फकाएँ । मेरो जिद्दीका अगाडि उहाँको केही लागेन । त्यसपछि म कराँतेमा भर्ना भएँ । नियमित अभ्यास गर्न थालेँ । अरुभन्दा किक पनि राम्रो हान्न खोज्थेँ । अरुभन्दा छिटो दौडिन खोज्थेँ । नवीन गुरुले ‘यो कालीले भविष्यमा केही गर्छ है’ भन्नुहुन्थ्यो ।
पहिला हाम्रो ‘डोर टु डोर’ भन्ने जुनियर टुर्नामेन्ट हुन्थ्यो । त्यसमा भाग लिएर जितेँ । त्यसपछि ‘बेस्ट अफ दि बेस्ट’मा गएर खेलेँ । जितेँ । सन् २०१४ मा जिल्लास्तरीय सेलेक्सन भयो । त्यसपछि मध्यमाञ्चल सेलेक्सन भयो । तर राष्ट्रिय स्तरमा भने म छनोट हुन सकिनँ । मसँग धेरै अनुभव पनि थिएन ।
२०१४ मै वल्र्ड च्याम्पियनसिपका लागि जुनियर सेलेक्सन भयो । त्यसमा जितेर देशभरीबाट छनोट भएँ । जुनियर वर्ल्ड च्याम्पियनसिप खेल्न ताइवान जाने अवसर पाएँ । त्यहाँ म चिनियाँ खेलाडीसँग पराजित भएँ । उमेरले सानै थिएँ । जम्मा १४ वर्षको । पहिलो पटक प्लेन चढ्दा अत्यास लागेको थियो । तर धेरै नयाँ अनुभव भयो । बाहिर दुनियाँ कस्तो हुन्छ मैले देखेको थिइनँ नि । त्यहाँ गएपछि अझ ‘प्राक्टिस’ पुगेको रहेनछ भन्ने अनुभव भयो ।
त्यसपछि थप मेहनत गर्न थालेँ । राष्ट्रियस्तरका खेलहरु खेलेँ । जित्थे पनि । तर अफिसियल स्तरको गेमहरु चाँहि जित्न सकिँन । सातौँदेखि राष्ट्रिय खेलकुदमा भाग लिन थालेको थिएँ । सातौँमा पनि रेजिना दिदीसँग पराजित भएको थिएँ ।
जुनियर वर्ल्ड च्याम्पियनसीप, चीनमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेँ । सागअघि आर्मी गेम खेल्न चीन गएका थियौँ । वुहानमा मिलिटरी वल्र्ड गेम्समा नेपाल आर्मीको प्रतिनिधित्व गरेँ । पहिलो खेल कोरियन खेलाडीसँग थियो । म हारेँ । तर यो खेलमा मैले धेरै कुरा सिके । अनुभव प्राप्त गरेँ ।
मेरो खेल निखार्नमा नवीन गुरुको ठूलो हात छ । उहाँले मलाई एकदमै सहयोग गर्नुभयो । उहाँ नभएको भए सायद म यहाँ आइपुग्दैनथेँ होला । उहाँलाई म आफ्नो गडफादर ठान्छु । अहिले सागमा पनि उहाँ नै मेरो प्रशिक्षक हुनुहुन्थ्यो ।
०००
तेक्वान्दो मेरो लागि रगत जस्तै हो । तेक्वान्दो बाहेक अरु त सोच्नै सक्दिन । यही खेलबाट देशको लागि स्वर्ण जित्दा एकदमै खुशी र गर्व लाग्छ । अब मेरो जीवन नै तेक्वान्दो हो भन्ने लाग्छ । टेक्निकअनुसार खेल्छु । अझै धेरै मिहिनेत गर्छु । एसियन गेम्स, वल्र्ड च्याम्पियनसिप र ओलम्पिकसम्म पुग्ने कोसिस गर्नेछु ।
वर्ल्ड च्याम्पियनसिपमा मेडल ल्याउने आगामी लक्ष्य छ ।
अहिले २२ वर्षकी भएँ । म अलि स्ट्रेट फरवार्ड पनि छु । हो भने हो होइन भने होइन । त्यसैले पनि होला, साथीहरुले मलाई ‘डन’ भन्छन् । खेलमा लागेपछि पढाईलाई चाहिँ निरन्तरता दिन सकिन । ट्रिटन कलेजमा स्नातक तहको अध्ययन गर्दागर्दै छाडेँ । फेरि पढाईलाई निरन्तरता दिने चाहना भने छ ।
तस्वीर तथा भिडियो : शंकर गिरी/अनलाइनखबर
(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’को ६५औं अंकमा यो हप्ता तेक्वान्दो खेलाडी काजल श्रेष्ठको कथा प्रस्तुत गरिएको हो ।)
प्रतिक्रिया 4