Comments Add Comment

बैंकिङ प्रविधिमा सहभागिता बढ्दो, विश्वसनीयता कति ?

मोबाइल बैंकिङका ग्राहक ९२ लाख, कार्ड बोक्ने ७० लाख

२७ मंसिर, काठमाडौं । पछिल्लो समय बैंकिङ प्रविधिमा सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । खासगरी ३ वर्षयता बैंकिङ प्रविधिका ग्राहक ह्वात्तै बढ्का छन् ।

२०७३ चैत्र मसान्तसम्म मोबाइल बैंकिङका ग्राहक २४ लाखमात्रै थिए । अहिले १ करोड नजिक पुगेका छन् । पछिल्लो ४ महिनाको मात्रै तथ्यांक हेर्ने हो भने पनि बैंकिङ प्रविधिमा सर्वसाधारणको आकर्षण बढेको देखिन्छ ।

आव ०७५/७६ को असार मसान्तसम्म मोबाइल बैंकिङका प्रयोगकर्ता ८३ लाख ४७ हजार १ सय ८७ थिए । चालु आवको चौथो महिनाको (कात्तिक) मसान्तसम्म ९१ लाख पुगेका छन् । यसमध्ये वाणिज्य बैंकका ७४ लाख ६ हजार ८ सय २, विकास बैंकका ९ लाख ९ हजार ५ सय १२ र वित्त कम्पनीका ३० हजार ८ सय ७३ छन् ।

मोबाइल बैंकिङजस्तै इन्टरनेट बैंकिङमा पनि आकर्षण देखिएको छ । गत आर्थिक वर्ष ०७५/७६ को अन्त्यसम्म इन्टरनेट बैंकिङका ग्राहक ९ लाख १७ हजार ३ सय ४४ थिए । यीमध्ये ८ लाख ८८ हजार २६८ ग्राहक ‘क’ वर्गका वाणिज्य बैंकहरूका थिए भने ‘ख’ वर्गका विकास बैंकहरूको इन्टरनेट बैंकिङका ग्राहक संख्या २४ हजार १२४ र ‘ग’ वर्गका वित्त कम्पनीका ४ हजार ९ सय ५२ थिए ।

यो संख्यामा अहिले ११ हजार थपिएका छन् । कात्तिक मसान्तसम्म इन्टरनेट बैंकिङका प्रयोगकर्ता ९ लाख २८ हजार ७ सय ९ पुगेका छन् । यसमध्ये वाणिज्य बैंकका ८ लाख ९६ हजार ५ सय ९७, विकास बैंकका २६ हजार ८ सय ३३ र फाइनान्स कम्पनीका ५ हजार २ सय ७९ हुन् ।

कार्ड प्रयोगकर्ता ७० लाख

डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्नेहरूको संख्या ७० लाख नजिक पुगेको छ । गत असार मसान्तसम्ममा कार्ड प्रयोगकर्ताहरू ५२ लाख हाराहारीमा थिए । यो संख्या अहिले बढेर ७० लाख हाराहारीमा पुगेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूको संख्या मात्रै ६८ लाख १९ हजार ६ सय २ पुगेको छ । उता क्रेडिक कार्ड प्रयोगकर्ताहरूको सख्या १ लाख ३७ हजार ६ सय ५६ र पिप्रेट कार्ड प्रयोगकर्ताहरूको संख्या ६३ हजार २ सय पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा शाखारहित बैंकिङ केन्द्रको संख्या १ हजार ५ सय ५९ पुगेको राष्ट्र बैंकले बताएको छ । स्थानीय एजेन्टहरूले शाखारहित सेवा प्रदान गर्ने गरेका छन् । यो सेवा वाणिज्य बैंकहरूले मात्रै दिइरहेका छन् ।

शाखारहित सेवाका ग्राहक भने १ लाख ८० हजार २ सय ५ जना रहेको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार एटिएम मेसिनको संख्या ३ हजार ५ सय २० पुगेको छ । गत असार मसान्तसम्म शाखारहित बैंकिङ सेवाका ग्राहक १ लाख २४ हजार थिए भने एटिएम मेसिनको संख्या २ हजार ४७ मात्रै थियो ।

‘प्रविधिको प्रयोग बढाउनुको विकल्प छैन’

राष्ट्र बैंकले प्रविधिको प्रयोग बढाउन बैंकहरूलाई निर्देशन दिँदै आएको छ । प्रविधिको प्रयोगबाट छिटो र सस्तोमा धेरै काम गर्न सकिने भएकाले पनि यसको प्रयोग बढाउन केन्द्रीय बैंकको निर्देशन छ ।
यद्यपि, अझै पनि बैंकिङ प्रविधि विश्वसनीय बन्न सकिरहेका छैनन् । बेला–बेलामा बैंकिङ क्षेत्रमा हुने गरेका ह्याकिङ तथा चोरीका घटनाले सर्वसाधारणमा आतंक सिर्जना हुने गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला प्रविधिमा केही चुनौती रहेको स्वीकार गर्छन । तर प्रविधिबाट कोही भाग्न नहुने उनले बताए ।

बैंकिङ प्रविधिको जतिसक्दो उपभोग गर्नुपर्ने भन्दै उनले बैंकहरूले प्रविधिमा लगानी थप बढाउनु पर्ने आवश्यकता औंल्याए ।

बैंकहरू पनि प्रविधिको प्रयोग बढाउनु पर्नेमै जोड दिन्छन् । प्रविधिमा नेपालमा मात्रै नभएर विश्वभर नै चुनौती रहे पनि यसबाट कोही डराउन नहुने सनराइज बैंकका सीईओ जनक पौड्यालले बताए । नेपालमा पछिल्ला समय घटेका केही घटनाका आधारमा प्रविधिलाई असुरक्षित छ भन्न नमिल्नेसमेत उनको भनाइ छ ।

‘प्रविधिमा केही चुनौती त हुन्छ नै, यो नेपालमा मात्रै होइन विश्वभर नै हुन्छ’, उनले भने, ‘घटेका घटनाबाट पाठ सिकेर मजबुत बन्ने हो डराउनु पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment