Comments Add Comment

अनुष्कासँग म धेरै आशावादी छु – सुगरिका केसी

१४ वर्षअघि मिस नेपालको उपाधि जितेकी सुगरिका केसी सञ्चारकर्मीदेखि सामाजिक अभियन्ताको रुपमा समेत सक्रिय छिन् । उनी कुशल गृहिणीका साथै एउटा छोराकी आमा समेत हुन् । मिस वल्र्ड २०१९ को पूर्वसन्ध्या पारेर हामीले सुगरिकासँग विभिन्न विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं । कुराकानीको सम्पादित अंश :

जाडो मौसम कस्तो लाग्छ ?

सामान्यतया मलाई जाडो मौसम खासै मन पर्दैन । किनभने जाडोमा हामी अलिक बढी निष्कृय हुन्छौं । हाम्रो स्वास्थ पनि त्यति ठिक रहँदैन । हिँडडुल गर्न अलिकति अफ्ट्यारो पनि हुन्छ । त्यसैले तुलनात्मक रुपले मलाई गर्मी महिना मनपर्छ । जाडो महिना ठिक ठिकै लाग्छ ।

जाडो मौसमको मन पर्ने र नपर्ने कुराहरु के के हुन ?

जाडोमा स्वास्थ्य समस्या हुन्छ । विशेषण गरी घरमा सानो छोरा छ । सानो बच्चा भएकाले उसलाई अलिक बढी ध्यान दिनुपर्ने हुन्छ । म आफैं बोल्ने (उद्घोषण) पेशामा छु । त्यसैले जाडोमा  घाँटीलाई चिसोबाट जोगाउनु पर्ने हुन्छ । यी त भए जाडोका मन नपर्ने कुराहरु । जाडाको केही राम्रा पक्षहरु छन् । मलाई लङ कोट र बुटहरु लगाउन मनपर्न । जाडोमा यी पहिरनहरु लगाउन पाइन्छ, फेसनेवल भएर हिँड्न पाइन्छ । त्यसबाहेक जाडोको मनपर्ने कुराहरु खासै छैनन् ।

जाडोमा आफूलाई हिट र फिट राख्न के के गर्नुहुन्छ ?

ओहो, गज्जबको प्रश्न । हिट र फिट त त्यस्तै हो । मेरो जीवनशैली नै अलिकति सक्रिय खालको छ । म बिहानदेखि बेलुकासम्म नै हिँडिरहेकी हुन्छु, कुदिरहेकी हुन्छु । धेरै थरीका कामहरु गरिरहेकी हुन्छु । त्यसले गर्दा पनि फिटनेस आफैं ब्यालेन्स्ड हुन्छ । सुत्ने र उठ्ने रुटिन पनि मिलाएकी छु ।

सकेसम्म दिनभरी अनुशासित जीवनशैली बिताउने प्रयास गर्छु । खानामा म शाकाहारी हुँ, माछा-मासु खान्न । रक्सी-चुरोट खान्न । पार्टीहरुमा पनि कमै जान्छु । मलाई अलिकति स्वस्थ जीवनशैली नै मनपर्ने भएकाले सजिलो भएको हो । यसका साथै म खुशी हुने व्यक्ति हुँ । खुशी हुने बित्तिकै मान्छेलाई अर्कै देखिने रहेछ । काम पनि अलिकति बढी काम गर्न रुचाउने, वर्कोहोलिक पनि छु । सबैसँग घुलमिल हुने, हाँसी-खुशी रहने भएकाले पनि फिट हुन सजिलो भएको होला ।

जहिले पनि उस्तै देखिनुको रहस्य के होला ?

ओहो, यो त सम्भव नै छैन । सधैं उस्तै भईंदैन । म मिस नेपाल भएकै १४ वर्ष भइसक्यो । यो डेढ दशकको अवधिमा धेरै कुराहरु परिवर्तन भइसकेको छ । समय अनुसार बिस्तारै परिवर्तन पनि हुँदै गइन्छ । अब अलिकति काममा व्यस्त, मेरो जीवनशैली अलिकति व्यवसायिक पनि छ । कहिलेकाहीँ तालिममा हिँड्नु पर्ने हुन्छ । कहिलेकाहीँ इभेन्टहरुमा हिँड्नु पर्ने हुन्छ । हामीले जस्तो खालको काम गरिरहेका हुन्छौं । त्यसमा अलिकति फिट र मेन्टन भएर हिँड्नु पर्ने भएकाले पनि अलिकति उस्तै देखिएको हुन सक्छ । तर, उस्तै त पक्कै पनि छैन । समय अनुसार परिवर्तन र समय अनुसारको जीवनशैली अपनाएको कारणले गर्दा पनि शायद त्यस्तो देखिएको हुनसक्छ ।

अहिले कुन कुन काममा व्यस्त हुनुहुन्छ ?

मेरो प्रमुख काम चाहिँ म दुई वटा काम गरिरहेकी हुन्छु । एउटा मिडिया (रेडियो) छ, अर्को आफ्नो निजी काम छ । मिडियामा चाहिँ म रेडियोमा पनि छु, टेलिभिजनमा पनि बोलिरहेकी हुन्छु । स्टेज कार्यक्रम पनि चलाइरहेकी हुन्छु ।  मिडियाकर्मी हुनुका साथ-साथै म एउटा व्यवसायी पनि हुँ । सोसल इन्टरप्रेनर पनि भन्न सकिन्छ । यिनै कामहरुमा अलिकति व्यस्त छु । देश-विदेशका विभिन्न ठाउँहरुमा प्रशिक्षणहरु, इभेन्टहरुमा सहभागी भइरहेकी हुन्छु ।

रेडियो, इभेन्टहरु र घर-परिवार कसरी समय मिलाउनु हुन्छ ?

यसमा अफिस पनि थपिदिनु भए हुन्छ । मलाई लाग्छ यो एउटा गुण चाहिँ भगवानले प्रत्येक महिलामा दिनु भएको हुन्छ । घर पनि सम्हाल्न सक्ने क्षमता, अफिस पनि सम्हाल्न सक्ने क्षमता, बाहिरको काम पनि सम्हाल्न सक्ने क्षमता । एउटा काम गर्ने इच्छा शक्ति भयो भने र आफूलाई रुचि लागेको क्षेत्रमा काम गर्ने गरियो भने सबै कुरा आफैं सहज हुन्छ ।

अर्को कुरा मलाई धेरैभन्दा धेरै काम गर्ने बानी छ । मलाई धेरै कामले पनि थकाउँदैन, जति पनि काम गर्न सक्छु । र, आफूलाई जे-जे विषयमा इच्छा लागेको छ, त्यही-त्यही विषयको काम भएकाले पनि मैले समय व्यवस्थापन गर्न सकेकी हुँ । अर्को महत्वपूर्ण कुरा चाहिँ के हो भने अलिकति सहयोगी, आफ्नो कुरा बुझ्ने परिवारका सदस्य हुँदा पनि सजिलो हुन्छ । मेरो घर परिवारका सबै व्यक्तिहरुले मलाई चिन्ता नलिई काम गर्ने, अगाडि बढ्ने उत्साह दिनु भएको छ । त्यसकारण पनि काम गर्न सजिलो भएको छ ।

आफूलाई कस्ती गृहिणी भन्न रुचाउनु हुन्छ ?

म आफूलाई असल गृहिणी अनि असल आमा पनि भन्न रुचाउँछु । म समय समयमा छुट्टी नै लिएर भए पनि परिवारसँग समय बिताइरहेको हुन्छु । हामी श्रीमान्-श्रीमती नै व्यस्त हुन्छौं । त्यसैले कहिलेकाहीँ छोरालाई घुमाउनका लागि पनि अफिस बिदा लिन्छौं । यसबाहेक म साँझ चाँडै घर पुग्ने प्रयास गर्छु । ताकि छोराको पढाईमा ध्यान दिन पाउँ, होमवर्क समयमै सकियोस् अनि सबै जना बसेर गफगाफ गर्न पाइयोस् ।

तपाईंको बोल्ने शैली एकदम राम्रो छ, त्यसका लागि के गर्नुहुन्छ ?

यो चाहिँ खै के हो । स्कूल पढ्दादेखि नै मलाई एकदमै बोल्न मन लाग्थ्यो । स्टेजमा बोल्न मन लाग्ने, रेडियोमा बोल्न मन लाग्ने । बोल्ने कार्यक्रमहरुमा म सधैं अघि बढ्थेँ । जति बोल्दै गएँ, कार्यक्रमहरुमा भाग लिँदै गएँ । बोल्ने शैली पनि विकसित हुँदै गयो, सिकाउँदै गयो । अर्को कुरा म कहिले झुटो बोल्दिन । जसले साँचो बोल्छ, उसले असाध्यै मिलाएर पनि बोल्न सक्छ भन्ने मान्यता छ, शायद त्यसैले होला ।

रेडियोमा बोल्ने हुँदा हरेक कुराको ज्ञान हुनु आवश्यक हुन्छ, त्यसको लागि कसरी अपडेट हुनुहुन्छ ?

रेडियोमा चाहिँ म अहिले इमेज एफएमको बिहान प्रसारण हुने शुभदिन कार्यक्रममा आबद्ध भएको करिब चार वर्ष भयो । बिहान ८ देखि १० बजेसम्म प्रसारण हुने यो कार्यक्रम अलिक फरक शैलीको छ । हामी यो कार्यक्रममा समसामयिक विषयवस्तुमा चर्चा गर्छौं, विश्लेषण गर्छौं । राजनीति र सामाजिक मुद्दाहरुमा छलफल गर्छौं । त्यसैले यो कार्यक्रम अलि चुनौतीले भरिएको पनि छ । यो कार्यक्रममा आफू के बोल्दैछु भन्ने कुराको ज्ञान हुनु आवश्यक पनि छ ।

मिस वल्र्ड २०१९ को ग्राण्ड फिनाले भोलि हुँदैछ, अहिलेको मिस नेपाललाई कसरी शुभकामना दिन चाहनुहुन्छ ?

यो वर्षको मिस वल्र्ड २०१९ यही डिसेम्बर १४ (शनिवार) लण्डनमा सम्पन्न हुँदैछ । यसपटकको मिस वल्र्डमा अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गरिरहनु भएको छ । हामीले सामाजिक सञ्जालमा पनि देखिरहेका छौं । अनुष्काले निकै राम्रो गरिरहेकी छिन् । शुक्रबारसाँझ मात्रै उनले मल्टिमिडियाको उपाधि जितेको खबर आएको छ । यसअघि उनी मिस वल्र्डकै उत्कृष्ट ४० मा प्रवेश गरिसकेकी छिन् ।

त्यसकारण म अहिले नै उनलाई मिस वल्र्ड-२०१९ का लागि धेरै-धेरै शुभकामना दिन्छु । अनुष्काको अर्को राम्रो पक्ष के हो भने उनलाई यो मिस नेपाल के हो ? मिस वल्र्डमा मैले नेपालको प्रतिनिधित्व कसरी गर्नुपर्छ भन्ने कुराको राम्रो ज्ञान भएको, राम्रो बोल्ने क्षमता पनि भएकाले तथा उनी आफैँमा प्रतिभाशाली समेत भएकाले पनि म यसपटक अलिक बढी आशावादी पनि छु । अघिल्लो वर्ष शृङ्खला खतिवडाले पनि यो प्लेटफार्मलाई निकै अगाडि बढाएको हो ।

यो पटक अनुष्काले पनि प्रयास गरिरहेकी छिन् । अहिलेसम्म चाहिँ उनले हेड टु हेड च्यालेञ्ज जितेर टप ४० मा पुगिसकेकी छिन् । ब्युटी विद द पपर्समा पनि टप टेनमा पुगेको छ । ब्युटी विद द पपर्समा पनि उपाधि जित्यो भने नेपाल सोझै टप टेनमा पुग्ने छ । अब हामी सबै जनाको माया, साथ र सहयोगले हेरौं उनलाई कहाँसम्म पुर्‍याउने छ  ।

आफू मिस नेपाल हुँदा र अहिलेका मिस नेपालमा के-कस्तो फरक पाउनु भएको छ ?

म २००५ मा मिस नेपाल भएको अहिले २०१९ आइसक्यो अर्थात् १४ वर्ष भइसक्यो । १४ वर्षमा धेरै चिजहरु परिवर्तन भए । त्यो बेलामा सोसल मिडियाहरु नै थिएनन् । अहिलेको जस्तो एक्टिभ हुने त कुरै भएन । सिक्ने ठाउँहरु धेरै थिएन । कोबाट सिक्ने भन्ने व्यक्तित्वहरु पनि धेरै हुनु हुन्थेन । त्यसैले अहिले सूचना प्रविधिको क्रान्तिले गर्दा पनि अहिलेका मिस नेपालहरुलाई निकै नै सजिलो छ ।

हाम्रो पालामा अलिकति हार्ड वर्क बढी गर्नुपर्दथ्यो, मेहनत धेरै गर्नु पर्दथ्यो । कुनै एउटा काम सक्नलाई अलिक धेरै समय लाग्थ्यो भने अहिले एकदम छिटो हुन्छ । सजिलो हुन्छ र अहिले मिस नेपालको महत्व पनि धेरै बुझिसक्नुभएको छ । त्यसकारणले गर्दा पहिलेको मिस नेपाल र अहिलेको मिस नेपालमा भिन्नता त धेरै नै छ ।

मिस वल्र्डमा विजयी हुन मिस नेपालले कुन-कुन कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ  ?

मिस वल्र्डमा सफलता पाउनका लागि शुभकामना त जहिले पनि हाम्रो तर्फबाट छंँदैछ । मिस नेपालले मिस वल्र्डमा भाग लिन थालेको करिब २० वर्ष भएको छ । यद्यपि, ईशानी श्रेष्ठको पालादेखि नेपालले मिस वल्र्डमा राम्रो गर्न थालेको हो । अघिल्लो वर्ष शृङ्खला खतिवडाले मिस वल्र्डमा हालसम्मकै सबैभन्दा ठूलो सफलता हाँसिल गरेकी थिइन् । यो पटक पनि अनुष्काले निकै राम्रो गरिरहेकी छिन् ।

हुन त हामी मिस वल्र्डमा जान थालेको धेरै भयो । यो अति नै ठूलो ग्लोबल प्लटेफार्म हो, जहाँ कुनै बेला नेपाल भन्ने देश पनि छ र त्यहाँबाट पनि मिस वल्र्डमा प्रतिनिधित्व हुन्छ भन्ने स्थापित गराउनै गाह्रो थियो । तर, ईशानी र शृङ्खलाले त्यो प्लेटफार्ममा नेपालले के सम्म गर्न सक्छ भन्ने प्रमाणित गरिसकेका छन् । एकै पटक मिस वल्र्डको उपाधि जित्नलाई यो-यो कुरा गर्नुपर्छ भनेर भन्न गाह्रो छ ।

यो प्रतियोगितामा विजयी हुनलाई सम्पूर्ण नेपाली जनताले त्यहाँ पुग्ने नेपाली प्रतियोगीलाई साथ, सहयोग, उत्प्रेरणा र हौसला जगाउनुपर्छ । प्रशिक्षणमा अति नै ध्यान दिनुपर्छ र क्षमतावान प्रतिनिधिलाई त्यहाँ पठाउनुपर्छ । यति गर्न सकियो भने देश सानो अथवा ठूलो भन्ने होइन, एउटी नेपाली प्रतिनिधिको शिरमा पनि मिस वल्र्डको ताज सजिने दिनका लागि धेरै समय कुर्नु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment