Comments Add Comment

पर्यटक बोलाउन होटेल व्यवसायी चीन जाँदै

२७ मंसिर, काठमाडौं । आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै होटेल संघ नेपाल (हान)ले चीनमा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने भएको छ ।

चीनको छेन्दुमा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा १६-२० डिसेम्बरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने हानले उल्लेख गरेको छ ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा ६० सदस्य प्रतिनिधिमण्डल १६ डिसेम्बरमा चीनको छेन्दु प्रस्थान गर्दैछ । चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण पश्चात चिनियाँ पर्यटकको मुख्य रोजाइ नेपाल बन्दै गएको मौका छोपी उनीहरुलाई नेपाल भ्रमणमा आकर्षित गर्ने उद्देश्यले व्यवसायी चीन जान लागेका हुन् ।

चीनमा हुने प्रवर्द्धनात्मक कार्यक्रमले पर्यटक वृद्धिमा भूमिका खेल्ने हानको विश्वास छ । उक्त अवसरमा चीनका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरसँग नेपाली होटलहरुको बीटूबी मिटिङ तथा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने भएको छ ।

सोही अवसरमा होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा छेन्दुस्थित होटल जिनजियाङमा आयोजना गरिनेछ । प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुकबाहिर गर्ने नीति अनुसार यस वर्ष चीनमा आयोजना गरिने भएको हानले उल्लेख गरेको छ ।

होटल संघ नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई थप सशक्त बनाउन पर्यटकहरुको आकर्षणका लागि भ्रमण वर्षभरिका लागि यसअघि नै विशेष योजना अन्तर्गत आवास र खानामा छुटको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment