Comments Add Comment

धनुषा बम विष्फोट : प्रहरी इन्स्पेक्टर दाहालको पनि मृत्यु

२८ मंसिर, जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । इन्स्पेक्टर दाहालको पनि मृत्यु भएपछि बम विष्फोटमा ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ ।

दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोस धनुषामा बम विष्फोट, एकै परिवारका दुईको मृत्यु, चार घाइते

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । बम विष्फोटमा दाहालको कोखामा छर्रा लागेको थियो ।

घटनामा घाइते भएका राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ ।

असईबाट प्रहरी सेवामा प्रवेश गरेका दाहाल पूर्वप्रधानमन्त्री झलनाथ खनालको पीएसओ पनि थिए ।

बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment