Comments Add Comment

मेयर शाक्यलाई अभियान्ताको जवाफ- नेतृत्व लिनुस्, साथ दिन तयार छौं

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सञ्चार माध्यममा तस्वीर छाप्न अकुपाई टुँडिखेल अभियान चलाएको टिप्पणी गरेपछि अभियान्ताहरुले चित्त दुखाएका छन् । उनीहरुले गैर राजनीतिक अभियानलाई राजनीतिक भनेर जथाभावी नबोल्न आग्रह गरेका छन् ।

अभियानका संयोजक विजय श्रेष्ठ भन्छन्, ‘मेयर सा’पले जे बोल्नु भएको छ, त्यो गलत हो । यो गैरराजनीतिक अभियान हो र यसमा राजनीतिक रंग देखिएको छैन ।’

सार्वजनिक सम्पत्ति टुँडिखेलको रक्षा गर्नु सबैको दायित्व भएकाले अकुपाई टुँडिखेल चलाइएको भएपनि मेयर शाक्यले नकरात्मक गर्दै हिँड्नु ठिक नभएको उनले बताए ।

टुँडिखेल सार्वजनिक सम्पत्ति भएको भन्दै उनले फोटो खिच्न नभई सर्वसाधारणको सम्पत्तिको रक्षाका लागि अभियान चलाइएको संयोजक श्रेष्ठले जवाफ छ ।

महानगरले गर्नुपर्ने काम आफूहरुले गर्दा गलत अर्थ लगाउनु उचित नभएको उनले बताए । ‘टुँडिखेल झन मिचिँदै गएको छ, यसको संरक्षण गर्नुपर्ने महानगरपालिकाले हो, मेयर सा’पले यतिबेलसम्म के हेरेर बस्नु भएको थियो ?’ उनले प्रश्न गरे ।

‘हाम्रो पनि पेशा-व्यवसाय छ, फुर्सद भएर आएका होइनौं । यो(टुँडिखेल जोगाउने) गर्नुपर्ने मेयर सा’पले नै हो । तपाई नेतृत्व लिनुस्, हामी तपाईलाई साथ दिन तयार छौं ।’

टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु भएको अभियानले हरेक शनिबार कार्यक्रम गर्दै आएको छ ।

पहिलो दिन काठमाडौंकी उपमेयर हरिप्रभा खड्कीसँगै पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई, नेपाली कांग्रेसका सांसद भिमसेन दास, गगन थापा लगायतको उपस्थिति थियो । अभियान्ताकै आग्रहमा उपमेयरले खुलामञ्च क्षेत्रको अनुगमन गरी खाली गराउन प्रशासकीय अधिकृतलाई पत्रचार समेत गरेकी थिइन् । तर अहिलेसम्म त्यो पत्रअनुसार कामकारबाही अघि बढेको छैन ।

२३ कात्तिकबाट सुरु भएको अभियानका क्रममा शनिबार भने खुलामञ्चको सरसफाई गरिएको छ । अभियान्ताहरुले डोजर लगाएर खुलामञ्चको जमिन सम्माएका थिए । अब खुलामञ्चमा सामान्य कार्यक्रमहरु गर्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment