Comments Add Comment

कम्प्युटर इन्जिनियरिङको सिन्डिकेट लादिएको विरोधमा प्रदर्शन

विद्यालयमा आईटी विषय अनिवार्य गर्नुपर्ने माग

२९ मंसिर, काठमाडौं । सूचना प्रविधि क्षेत्रलाई सरकारले उपेक्षा गरेको भन्दै आइतबार काठमाडौंमा विरोध प्रदर्शन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली नयाँबानेश्वरस्थित एभरेष्ट होटलअगाडि आएर समापन भएको थियो ।

प्रदर्शनमा सूचना प्रविधि क्षेत्रका विद्यार्थी तथा प्राध्यापकहरु सहभागी थिए । कम्प्युटर साइन्स अल्मुनाई, सीएसआईटी एसोसिएसन अफ नेपाल र स्टुडेन्ट्स एसोसियसन अफ कम्प्युटर साइन्सले प्रदर्शन गरेका हुन् । सो प्रदर्शनमा प्राध्यापकहरुको संस्था कम्प्युटर फ्याकल्टी एसोसियसन अफ नेपालले ऐक्यबद्धता जनाएको थियो ।

उनीहरुले लोक सेवा आयोगले लिने सूचना प्रविधिसँग सम्बन्धित परीक्षामा इन्जिनियरिङ विषयको शैक्षिक योग्यतालाई मात्र मान्यता दिइएको, कक्षा ११ र १२ सम्म कम्प्युटर साइन्स विषयलाई अनिवार्य बनाउनुपर्ने तथा आईटी काउन्सील गठन गर्नुपर्नेलगायतका माग राखेका छन् ।

कम्प्युटर फ्याकल्टी एसोसियसन अफ नेपाल नामक संस्थाका महासचिव रमेश रिमालले भने, ‘सूचना प्रविधि अधिकृतको विज्ञापन खुल्यो भने कम्प्युटर इन्जिनियरिङ नै पढेको हुनुपर्ने भनेर क्वालिफिकेसन तोकिन्छ । जबकि आईटीसँग सम्बन्धित बीएस्सी सीएसआइटी, बीसीए, बीआइएम, बीआइटी जस्ता धेरै प्रोग्राम छन् । इन्जिनियरिङ विषयको मात्र सिन्डिकेट हुनु हुँदैन ।’

विद्यालय तहको पाठ्यक्रममा कम्प्युटर साइन्स अनिवार्य बनाउनुपर्नेमा अप्सनल पनि पढ्न नपाउने व्यवस्था गरिएकाले त्यसतर्फ सरकारले पुनर्विचार गर्नुपर्ने र सूचना प्रविधिको साझा संस्थाको रुपमा ‘आईटी काउन्सिल’ स्थापना गर्नुपर्ने रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment