+
+
Shares

ट्रेकिङ एड्भाइजरी : लाङटाङ र मनास्लु लार्केपास खुला, चुम भ्याली एक साता बन्द

मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले आग्रह गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते ११:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टानले लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेको नयाँ सुरक्षा सूचना जारी गरेको छ।
  • मनास्लु–लार्केपास पदमार्ग आंशिक मर्मतपछि पुनः खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले आग्रह गरेको छ।
  • क्यान्टिलिभर पुल भत्किएपछि चुम भ्याली पदमार्ग हाललाई बन्द गरिएको छ र करिब एक सातापछि पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।

६ कात्तिक, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले लाङटाङ र मनास्लु क्षेत्रको पदयात्रासम्बन्धी नयाँ सुरक्षा सूचना (ट्रेकिङ सेफ्टी एड्भाइजरी) जारी गरेको छ।

मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले आग्रह गरेको छ।

टानले बुधबार जारी गरेको सूचनाअनुसार लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेका छन्। त्यस्तै, बाढीले क्षति पुर्‍याएको मनास्लु–लार्केपास पदमार्ग पनि आंशिक मर्मतपछि पुन: सञ्चालनमा आएको छ।

लाङटाङ जान दुई विकल्प

बेत्रावतीमा बेलिब्रिज जडान भएसँगै लाङटाङ क्षेत्र जाने पर्यटकका लागि टानले मुख्य दुईवटा विकल्प सुझाएको छ। पहिलो विकल्पअनुसार काठमाडौंबाट त्रिशूली र बेत्रावती हुँदै धुन्चे वा ठूलोस्याफ्रुसम्म गाडीमा गएर त्यहाँबाट ब्याम्बो, लामाहोटल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ।

दोस्रो विकल्पमा काठमाडौंबाट चिसापानी/हेलम्बु, ठाडेपाटी, घोप्टे, गोसाइँकुण्ड, ठूलोस्याफ्रु, ब्याम्बो, लामाहोटल हुँदै लाङटाङ र क्यान्जिनसम्म पुग्न सकिने व्यवस्था छ।

मनास्लुमा सावधानी अपनाउन आग्रह

गत अक्टोबर ११ मा बुढीगण्डकीमा आएको विनाशकारी बाढीले क्षति पुर्‍याएको मनास्लु क्षेत्रका पहुँच मार्ग, पदमार्ग, पुल र टि–हाउस (लज) हरू आंशिक रूपमा मर्मत गरिएका छन्।

मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले आग्रह गरेको छ।

पदयात्रीहरू गाडीमार्फत माछाखोलासम्म पुगेर त्यहाँबाट जगत, न्याकफेदी हुँदै लार्केपासतर्फको पदयात्रा सुरु गर्न सक्नेछन्। यारुबगरमा क्षति भएको कठिन खण्डलाई छल्नका लागि १० मिनेटको वैकल्पिक पदमार्गसमेत तयार पारिएको टानले जनाएको छ।

चुम भ्याली बन्द

क्यान्टिलिभर पुल भत्किएका कारण चुम भ्याली पदमार्ग भने हाललाई बन्द गरिएको छ। मर्मत कार्य जारी रहेकाले करिब एक सातापछि यो पदमार्ग पुन: सञ्चालनमा आउने अपेक्षा गरिएको टानको सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?