Comments Add Comment

‘निबन्ध कुण्ठा पोख्ने माध्यममात्रै होइन’

२९ मंसिर, पोखरा । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिबलको तेस्रो दिन ‘मुर्झाएको निबन्ध’ विषयक सेसनमा बहस भयो । पत्रकार विमल आचार्यले सहजीकरण गरेको बहसमा कवि तथा आख्यानकार रमेश सायन, रोशन शेरचन र समालोचक गीता त्रिपाठी सहभागी थिए ।

छलफलमा सबै वक्ताले सहमति जनाए, ‘निबन्ध अब बन्द छैन । विराट विधामा प्रवेश गरिसक्यो । निबन्ध निर्बन्ध भइसक्यो ।’ यस वर्षको पद्मश्री पुरस्कार पाउने कृति छुटेका अनुहारका लेखक रमेश सायन निबन्धमा आत्मरुझानमात्रै लेखिन्छ भन्ने विषयमा सहमत भएनन् । सायनले अघि भने, ‘निबन्ध विराट भइसक्यो । यसमा आफ्नो रुचि के हो भन्ने कुरा पाठकले छुट्याउन पनि जान्नुपर्छ । के पढ्ने भन्ने विषय पाठकको रुचि र चेतनामा भर पर्छ ।’

अर्का वक्ता रोशन शेरचन कविताभन्दा निबन्धमार्फत पाठकसँग तत्काल संवाद गर्न सकिने बताउँछन् । ‘मेरो पनि पहिलो २ कृति कविता कै हो । तर, ती कविताबाट पाठकसँग संवाद हुन नसकेको जस्तो लागिसकेपछि म निबन्धमा आएँ,’ उनले भने, ‘निबन्धमा आइसकेपछि पाठकसँग सजिलै संवाद हुन थाल्यो ।’ उनले पनि निबन्ध पछिल्लो समय ठूलो क्षेत्रमा फैलिइसकेको सुनाए ।

शेरचनले आफूले निबन्धमा विचारलाई प्राथमिकता दिने बताए । उनले भने, ‘चेतनप्रवाह शैली अलिक गाहो छ । त्यसमा भाषा, शैली, शील्पबारे गहन अध्ययन गर्न जरुरी छ । त्यसैले मचाहिँ मचाहिँ विचारलाई प्राथमिकता दिन्छु ।’ उनले लेखकका लेखहरु सरल र पाठकले बुझ्ने खालको हुनुपर्ने बताए । अतिशय भावुकताबाट पन्छिन नसक्दासम्म निबन्ध अघि बढ्न नसक्ने शेरचनको भनाइ छ ।

निबन्ध समालोचक गीता त्रिपाठीले निबन्धमा पछिल्लो समय वैचारिकता हराउँदै गएको सुनाइन् । उनले भनिन्, ‘अहिलेको समयमा निबन्धमा विविधता आइसक्यो । तर, सबै कुन्ठा पोख्ने बाटोमात्रै भयो । वैचारिकता आएन ।’ उनले निबन्धमा हास्यव्यंग्य शैली पछिल्लो समय हराइसकेको र चलचित्रमा सीमित हुन गएको दाबी गरिन् ।’

‘पछिल्लो केही वर्षमा पाठक र लेखक आफैं अलमलमा छन् । आफ्नो परिवेश अनुसारको लेखन भइरहेको छ,’ त्रिपाठीले भनिन्, ‘अहिले धेरै आत्मकथा र यात्रासंस्मरण लेखिन थालेको छ । तर वास्तवमा यति छिट्टै मुर्झायो नै भन्ने होइन । निबन्ध कतातिर जाँदैछ भन्ने अन्यौल त छ ।’ उनले चिन्तन र विचारबिना निबन्ध नहुने बताइन् ।

त्रिपाठीले अघि भनिन्, ‘पछिल्लो समय निबन्धलाई मुर्झाउँदै गएको भनिएको छ । यसका पछाडि धेरै कारण छन् । हामी झुन्डझुन्डमा छौं । निबन्ध भनेको चिन्तन हो । विचार हो । बिना चिन्तन र विचार निबन्ध हुँदैन ।’ उनले लेखक निबन्धमा प्रवेश गरिसकेपछि कुन वर्गका लागि लेख्ने र सोही अनुसारको साधना पनि चाहिने सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment