Comments Add Comment

पोखरामा हुने सडक महोत्सवको प्रचारात्मक टोली चितवनमा

२९ मंसिर, चितवन । आगामी डिसेम्वर २८ बाट पोखरामा सुरु हुने सडक महोत्सवको प्रचारात्मक टोली चितवन आएको छ । पूर्वको इटहरी, जनकपुर हुँदै चितवन आइपुगेको टोलीले आइतबार सौराहामा पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी गराएको हो ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन(रेवान) पोखराको आयोजनामा ‘सडकमै खाऔं सडकमै रमाऔं’ भन्ने नारासहित हरेक वर्ष पोखरामा सडक महोत्सव हुँदै आएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्था रेवानका पूर्ब अध्यक्ष सूर्यबहादुर भुजेलले अंंग्रेजी नयांँ वर्षलाई लक्षित गर्दै यसपटक पनि सडक महोत्सवको आयोजना गरिएको बताए ।

‘नयांँवर्ष र भ्रमणवर्ष लाई समेत लक्षित गरी महोत्सवको आयोजना गर्न लागेका हौं’ पूर्व अध्यक्ष भुजेलले भने, ‘यसले पोखरा, चितवन र अन्य पर्यटकीय क्षेत्रको टुरिज्म कनेक्टीभीटीलाई बढाउनेछ ।’ देशकै तेस्रो पर्यटकीय गन्तब्य सौराहा र चितवनका आन्तरिक पर्यटकलाई निम्तो बाँड्न यहांँ आएको व्यवसायीको भनाइ छ ।

देशकै ठूलो सडक महोत्सवको रुपमा परिचित यो महोत्सव क्रिसमस र नयांँ वर्षमा आउने पर्यटकको बसाइ अवधि लम्याउने र पर्यटन भ्रमण वर्षलाई सफल बनाउने लक्ष्य रहेको आयोजकको दाबी छ ।

सो अवसरमा बोल्दै २१ औं सडक महोत्सवका सहसंयोजक नरेश भट्टराईले पोखराका विभिन्न आर्थिक गतिविधिलाई चलायमान बनाउन, पर्यटन प्रर्वद्धन गर्न अन्तर्राष्ट्रिय स्तरमा महोत्सवको प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिँदै आएको बताए । महोत्सवमा विभिन्न खानाका परिकार, खेलहरु, सांस्कृतिक कार्यक्रमहरु गरिनेछ । आयोजकका अनुसार ५ किलोमिटर दुरीसम्म सडकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना, हस्तकला प्रर्दशनी, साहसिक खेलकुद तथा वृत्तचित्र प्रर्दशनी, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment