Comments Add Comment

कर्णालीमा छोरीको खाता पुस १ देखि, कालिकोटबाट सुरु हुने

२९ मंसिर, काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको ब्यालेन्ससहितको बैंक खाता खोल्ने अभियान १ पुसबाट शुभारम्भ गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रमका लागि कार्यविधि स्वीकृत गरेसँगै कार्यान्वयनको बाटो खुलेको हो ।

कार्यविधि अनुसार १ साउन २०७६ यता जन्मिएका छोरीलाई सरकारले यस कार्यक्रममा आवद्ध गराइने छ । यो कार्यक्रम कालिकोटबाट सुरु भएर प्रदेशभर लागु गरिने प्रदेश सरकारले जनाएको छ । यसका लागि बालिकाका अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोबास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्नेछन् । आफ्नो बुबाआमा हुनेले बुबा आमाबाटै र नहुनेले आश्रित संघ–संस्था वा संरक्षकले छोरीको खाता खोलिदिनु पर्ने गरी कार्यविधि बनाइएको छ ।

यो सुविधा एक दम्पत्तीबाट जन्मिएका बढीमा दुई जना छोरीको हकमा मात्र उपलब्ध हुनेछ । संरक्षकको जिम्मामा रहेका छोरीको हकमा भने संख्याको सीमा राखिएको छैन ।

मानव विकास सूचकाङ्कमा पछि परेको कर्णाली प्रदेशमा छोरीहरु माथि हुने असमान व्यवहार हटाउने यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा कर्णाली सरकारको छ । १ साउनयता जन्मिएका छोरीका अभिभावकले स्थानीय तहमा निवेदन दिएपछि सम्बन्धित स्थानीय तहले प्राप्त निवेदन र कागजातको जाँचबुझ गरी सेवा प्रदायक संस्था (कर्णाली प्रदेश अन्तरर्गत स्थानीय तहमा शाखा कार्यालय रहेको वाणिज्य बैंक वा स्थानीय तहले बैंकिङ कारोबार गरिरहेको बैंक) मा सिफारिस गर्नुपर्ने प्रावधान बनाइएको छ ।

यो पनि पढ्नुहोस कर्णालीका छोरीको खाता खोलेर सरकारले पैसा हाल्दै 

सिफारिस भएर आएको निवेदनअनुसार सेवा प्रदायक संस्थाले नियमअनुसार बैंकले खाता खोलिदिनेछन् । खोलिएको खाताको जानकारी स्थानीय तह र ग्राहक दुबैलाई गराउने गरी कार्यविधि बनाइएको छ ।

छोरीको उक्त खातामा प्रदेश सरकारले सुरुमै १ हजार रुपैयाँ ब्यालेन्स राखिदिनेछ । त्यसपछि हरेक महिना ५ सय रुपैयाँका दरले प्रदेश सरकार आफैले रकम डिपोजिट गरिदिनेछ । यो रकम प्रदेश सरकारले आवश्यकता अनुसार हेरफेर गर्न सकिने गरी प्रावधान राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment