+
+
Shares

ह्याचरी उद्योग संघले ५ हजार चल्ला मारिदिएको व्यवसायीको आरोप

सुवास पण्डित सुवास पण्डित
२०७६ मंसिर ३० गते १५:०८

३०, मंसिर, चितवन । १० दिन देशभरका ह्याचरीमा चल्ला उत्पादन रोक्ने निर्णय कार्यान्वयन नगरेको भन्दैं नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीले चितवनको एक पोल्ट्री फर्ममा पसेर करीव पाँच हजार चल्ला मारिदिएका छन् ।

भरतपुर महानगरपालिका १६ फूर्तिचोकमा रहेको बुढानिलकण्ठ ब्रिडर्स फार्म प्रालिमा उत्पादन भएको चल्ला संघका पदाधिकारीसहित ५०÷६० जना व्यक्ति प्रवेश गरी नष्ट गरिदिएको ब्रिर्डसका अध्यक्ष देवेन्द्र श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘हामीले त ब्रोइलर चल्ला उत्पादन गर्ने गरेको छैन, कोइलर उत्पादन गर्ने हो, ह्याचरी उद्योग संघले हठात रुपमा गरेको निर्णय हामीलाई मान्नुपर्ने बाध्यता के छ ?’ ब्रिर्डसका सञ्चालक श्रेष्ठले भने, ‘अर्काको फर्ममा अनाधिकृत रुपमा प्रवेश गरेर क्षति गराउने अधिकार ह्याचरी संघलाई कसले दियो ?

लगातार घाटा भएको र लागत नउठेको भन्दैं नेपाल ह्याचरी उद्योग संघले मंसिर २९ गतेदेखि देशभरका ह्याचरी १० दिन बन्द गर्ने निर्णय गरेको थियो । ‘यो देशमा गरेर खान पनि नपाइने ? उनीहरुको सिण्डिकेट मानिदिनुपर्ने ? दादागिरी सहनुपर्ने ?’ सञ्चालक श्रेष्ठले भने, ‘ब्रोइलरको चल्ला उत्पादन रोक्ने तर लेयर्सको किन नरोकेको ? आफूहरुको फाइदाका लागि साना किसान डुबाउने खेल हो यो ।’

आइतबार बिहान उत्पादन भएको कोइरल चल्लाको बजार मूल्य दुई लाख १० हजार रुपैयाँ रहेको श्रेष्ठले बताए । चल्ला नष्ट गर्न संलग्न रहेको अभियोगमा प्रहरीले नेपाल ह्याचरी उद्योग संघका तीन जना पदाधिकारीलाई पक्राउ गरे पनि आइतबार साँझ नै छाडिदिएको थियो ।

जिल्ला प्रहरी कार्याल चितवनका प्रवक्ता एकनारायण कोइरालाले कसैलाई पनि पक्राउ नगरिएको दावी गरे । तर, प्रहरीले तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर सहमति भएको भन्दैं छाडिदिएको थियो । कोइरालाले लिखित उजुरी नआएका कारण उनीहरुलाई थप कारबाही गर्न नसकिएको बताए ।
‘पोल्ट्री क्षेत्रका आफ्नै भाइहरु पर्छन् भनेर मैले लिखित उजुरी दिइनँ’ श्रेष्ठले भने, ‘तर चल्ला नष्ट गर्ने कार्य गलत थियो ।’

नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले भने चल्ला नष्ट गर्ने कार्यमा संघको संलग्नता नरहेको बताए । बुढानिलकण्ठ ब्रिर्डसलाई चल्ला बेच्ने अनुमति समेत नरहेको उनको भनाइ छ । ‘उहाँहरुले गैरकानुनी रुपमा चल्ला उत्पादन गरेर बेच्नुभएको छ हामीले उजुरी गर्नेवित्तिकै पक्राउ पर्नुहुन्छ’ पोखरेलले भने, ‘साथीभाइले गरिखाउन भनेर छाडिदिएको हो ।’

चल्ला बेच्ने अनुमति लिनुभएको छैन भन्ने प्रश्नमा बुढालिनकण्ठ ब्रिर्डसका सञ्चालक देवेन्द्र श्रेष्ठले भने ‘ह्याचरी चलाउँदा चल्ला बेच्ने अनुमति लिनुपर्छ भन्ने ज्ञान उहाँलाई मात्रै छ मलाई छैन, उहाँभन्दा म पुरानो हुँ ।’

उनले बोइलर र कोइलरका चल्लालाई एउटै क्याटोगोरीमा राख्न नहुने बताए । चितवनमा ७ वटा कोइलर ( गिरीराज) चल्ला उत्पादन गर्ने ह्याचरी छन् । हप्तामा डेढ लाख चल्ला उत्पादन हुँदै आएको छ । कोइरल चल्लाको मुल्य प्रति गोटा ४० देखि ५० रुपैयाँ पर्छ । चल्लाको मुल्यमा ब्रोइलरको जस्तो उतारचढाव छैन ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?