Comments Add Comment

एक वर्षमै उप्कियो कालोपत्रे, मर्मतमा ठेकेदारको अटेरी

२९ मंसिर, विराटनगर । मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडक पाँच वर्षअघि नै कालोपत्रे भएको हो, तर बर्षभरि धुलोले ढाकिने यो सडकमा खाल्डाखुल्डी अत्यधिक छ ।

ठेकेदारको लापरवाहीका कारण सडक लथालिंग छ, २०७४ सालमा सडक कालोपत्रे गरेको एक वर्ष नबित्दै भत्किन थाल्यो । भत्किएको सडक मर्मतका लागि पटक पटक ठेकेदारलाई दवाव दिए पनि उसले चासो दिएन । ‘न सडक बनेको छ न त लापरवाही गर्ने ठेकेदालाई कारवाही नै भयो’, स्थानीय देबी बस्नेत भन्छन,‘सडकका कारण हामी बर्षभरी सास्ती ब्यहोर्न बाध्य छौं ।’

मिक्लाजुङ गाउँपालिका ९ का वडाअध्यक्ष सोमनाथ अधिकारीले उर्लाबारी–मधुमल्ला हुदै उत्तरी भेग जोड्ने सडकको दुरावस्थाका कारण त्यस क्षेत्रको समृद्धिको आधार गुमेको बताउँछन् । ‘भत्किएको सडक निर्माणका लागि स्थानीय सरकार र सरोकारवाला निकायले पटक–पटक ठेकेदारलाई दबाव दिएको छ, तर अहिलेसम्म ठेकेदारले सडक निर्माणमा कुनै चासो देखाएको छैन’ उनले भने ।

उर्लाबारी–मधुमल्ला सडक निर्माण गर्न दवाव दिन मानबहादुर श्रेष्ठको संयोजकत्वमा उर्लावारी–मधुमल्ला १२ दशमलव ४ किलोमिटिर सडक निर्माण पहल तथा दबाब समिति समेत गठन गरिएको छ ।

समितिले पटक–पटक सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराए पनि बेवास्ता हुँदै आएको छ ।

४८ बर्षअघि नै शिलान्यास

तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले ०२८ सालमा उक्त सडक शिलान्यास गरेका थिए । उर्लाबारीबाट रविसम्मको दूरी जम्मा ५२ किलोमिटर छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किमीमा कालोपत्रे भएको थियो । अहिले पाँचथरको रवि बजार र आसपासका बासिन्दाले उर्लाबारी झर्नुपरे मेची राजमार्गको घुमाउरो बाटो करिब दुई सय १३ किमी पार गर्नुपर्छ ।

रविबाट झापाको दमक जोड्ने करिब ५९ किमिको सडकको २० किमी खण्ड रतुवा खोलामा पर्छ । सोही कारण वर्षायाममा उक्त सडकमा पनि यातायात बन्द हुन्छन् ।
उर्लाबारी–मधुमल्ला–रवि सडक तयार भए ती दुवै मार्गको विकल्प बन्ने मात्र नभई यात्राको समय पनि छोटिन्छ । ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दाका लागि तराईसँग जोडिने सहज मार्गका रुपमा समेत यो सडक रहेको छ ।

उक्त सडकको कुनै खण्डमा पक्की पुल निर्माण गर्नुपर्दैन । ‘पूरै सडक कालोपत्रे गर्ने हो भने पूर्वी नेपालको समृद्धिका लागि कोशेढुंगा सावित हुन सक्छ,’ मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले भने ।

यो सडक उर्लाबारीमा पूर्व–पश्चिम राजमार्ग र रवि हुँदै राँके पुग्दा मेची राजमार्गमा जोडिन्छ । तर, सुरुवाती खण्डको उर्लाबारी–मधुमल्ला सडकमा टालटुले काम हुँदा सडकको भविष्य नै अन्योलमा परेको छ ।

उर्लाबारी–मधुमल्ला खण्डका लागि आठ करोड ९७ लाख २२ हजार रुपैयाँमा प्रेरारज्योति जेभीले कालोपत्रे गर्ने ठेक्का पाएको थियो । तोकिएको समयभन्दा वर्षदिन ढिलो गर्दै कालोपत्रे गर्दा पनि ठेकेदार कम्पनीले गुणस्तरीय निर्माण गर्न सकेन । ठेकेदार कम्पनीले दोस्रो चरणको कालोपत्रेको काम बीचैमा अलपत्र छाडेको छ । ‘घर अगाडिको सडक कालोपत्रे भएकामा दंग परेका थियौं,’ स्थानीय मनोज अधिकारीले भने, ‘तर, भत्किएर हिँड्नै नसकिने भयो ।’

अपुरै सडकमा १ करोड भुक्तानी

तत्कालिन डिभिजन सडक कार्यालय विराटनगरले एक चरणको काम मात्र गरेर अलपत्र छाडेको ठेकेदार कम्पनीका राजकिशोर गुप्तालाई ९९ लाख ७२ हजार दुई सय रुपैयाँ भुक्तानी गरेको छ ।

त्यसमध्ये ६३ लाख ५४ हजार रुपैयाँ बराबरको मात्र काम सम्पन्न भएको छ । स्थानीय बासिन्दाले ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै दिएका छन् । त

डिभिजन सडक कार्यालयले पनि तत्कालिन समयमा ठेकेदारको चरम लापरवाही गरेको निष्कर्ष निकाल्दै कारवाहीका लागि विभाग पठाएको थियो ।

तर अहिलेसम्म नत सडक कालोपत्रे अघि बढेको छ नत लापरवाही गर्ने ठेकेदारलाई कारवाही भएको छ । अहिले यो सडक हेर्ने जिम्मा प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालयमा सरेको छ ।

कार्यालयले पटक–पटक पत्र काटेर निर्माणको काम सञ्चालन गर्न ताकेता गरे पनि ठेकेदार सम्पर्कमा आउन नचाहेको इन्जिनियर शैलेन्द्रकुमार स्ािंहले बताए ।
‘ठेकेदारको लापरवाहीले निर्माणको काम अलपत्र हुनुहुदैन’, इन्जिनियर सिंहले भने,‘ आवश्यक अध्ययन र वस्तुस्थिति बुझेलगत्तै सडक निर्माणको कामलाई गति दिन कार्यालयको तर्फबाट आवश्यक पहल हुनेछ ।’

ठेकेदार गुप्ताले भने जिम्मा लिएको काम समन्न गर्न आफू तयार रहेको दाबी गरे । उनले भने, ‘केही दिनभित्रै काम सुरु गर्ने तयारी छ, केही महिनाभित्रै काम सम्पन्न गरेर सम्बन्धित कार्यालयलाई सडक हस्तान्तरण गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment