Comments Add Comment

कक्षाकोठामा भेटिएका जीवित ‘देवता’

३० मंसिर, काठमाडौं । लामो जामाजस्तो देखिने नीलो कुर्ता र सुरुवाल, त्यसमाथि छिर्केमिर्के ज्याकेट । रातो रिबनले बाँधेर बनाइएको जगटो । आँखादेखि कञ्चटसम्म लगाइएको लामो धर्के गाजल । अग्लो र गहुँगोरो वर्णका उनी कक्षामा भएका विद्यार्थीभन्दा भिन्न देखिन्छन् ।

‘हृवाइटबोर्ड’मा हेर्दै कापीमा केही सार्छन् । क्यालकुलेटर थिच्दै कपाल कन्याउँछन् । हातको औंला गन्ती गर्दै लेख्न थाल्छन् । शिक्षकले दिएको ‘कक्षाकार्य’मा अरु साथीजस्तै उनी पनि व्यस्त छन् ।

त्यही बेला अर्को विद्यार्थी उभिएर ‘सर मैले सकेँ…’ भन्दै कापी बुझाए । आफूभन्दा पहिले साथीले ‘कक्षाकार्य’ सक्दा उनको मुहारमा खिन्न भाव देखिन्छ । तर हात कापीमा चलिरहन्छ ।

यो कालिमाटीस्थित जनज्योति माध्यमिक विद्यालयको कक्षा ९ मा पुग्दा देखिएको दृश्य हो ।

कक्षाकोठामा भएका अरु विद्यार्थीभन्दा उनको गेटअप भिन्न छ । स्कुलको हाजिरी कापीमा ‘रोजन शाक्य’ नाम दर्ता भए पनि उनलाई ‘भगवान’ भनेर सम्बोधन गरिन्छ ।

हो, भगवान .. ।

उनी आफैंले आफूलाई भगवान घोषित गरेका भने होइनन् । सिंगो समाजले भगवान मानेका उनलाई हजारौं मानिसहरुले पुज्छन् । आशिर्वाद थाप्छन् । इन्द्रजात्रामा कुमारी र गणेशसँगै रथ यात्रा पनि हुन्छ ।

भगवान अर्थात् भैरव ।

हो, उनै भैरव अहिले स्कुलमा छन् । बिहान बेलुका आसनमा बस्ने उनी दिउँसो स्कुल आउँछन् । स्कुलमा फरक पोशाक लगाउननबाहेक भगवान भएकामा अरु छुट छैन । साथीहरुजस्तै समयमै स्कुल पुग्नुपर्छ । प्रार्थनामा बस्नुपर्छ । गणितका सूत्रदेखि नेपालीको व्याकरणसम्म कण्ठ पार्नुपर्छ । अंग्रेजीका लामा-लामा कविता सुनाउनुपर्छ । गृहकार्य नबुझाए भगवान भएकै आधारमा छुट पाउँदैनन् ।

बरु अरु विद्यार्थीहरुको भन्दा सीमितता र बाध्यता छ । चाहेको ठाउँ जान पाउँदैनन् । मनले मागेको खान पाउँदैनन् ।

‘मनले चिताएको पुगोस्’ भनेर अरुलाई आशिर्वाद दिने भगवान आफ्नै दैनिक जीवनमा भने चाहेको जस्तो केही गर्न सक्दैनन् ।

यो कथा उनै भैरवको भोगाइ र सपनाको हो ।

पहिलो पिरियडमा गणितको पढाइ सकिएपछि कक्षाकोठामा नेपाली शिक्षिका प्रवेश गरिन् । भैरव व्याकरण र वाक्य संरचनाको घनचक्करमा एकछिन रुमल्लिए । क्रमशः अंग्रेजी र विज्ञानको कक्षा सुरु भयो । दुई बजेको घण्टी लागेपछि छुट्टी भयो ।

****

शुक्रबारको दिन स्कुलमा ‘खो खो’ खेल रहेछ । ‘खो खो’ खेल कबड्डीजस्तै । दुई टिमबीच दौडिँदै छुने र आउट गर्ने ।

भैरव ‘ग्रिन हाउस’को नेतृत्व गर्दै मैदानमा उत्रिए । अरुलाई अनुशासनमा राख्न सक्ने र आफैं पनि अनुशासित भएकाले स्कुलले उनलाई ‘ग्रिन हाउस’को क्याप्टेन बनाइदिएको छ ।

मैदानमा भैरव जोशिला देखिए । आफ्नो प्रतिद्वन्द्वीलाई आउट गर्दा खुसी भएर उफ्रिन्थे भने आफू वा आफ्नो टोलीको साथी आउट हुँदा निराश ।

मैदानमा उनको फूर्ति हेर्नलायक थियो ।

उनको टिम एकपछि अर्को टिमलाई हराउँदै सेमिफाइनलमा पुग्यो । उनले दौडिँदै सानो मैदानमा एक फन्को लगाए । टिमका साथीहरुसँग जितको उत्सव मनाए ।

एकछिनमै उनको टिमले सेमिफाइनल खेल हार्‍यो । एकछिन अघि देखिएको जोश, जाँगर र फूर्ति सबै हरायो । उनी निराशमात्रै भएनन्, कमजोर प्रदर्शन गरेका साथीहरुसँग असन्तुष्टि पोखे । त्यसबेला उनको मुहारमा असन्तुष्टि र लाजको समिश्रण झल्किन्थ्यो ।

****

काठमाडौंको ओमबहाल चोक । त्यही चोकको देब्रेपट्टी रहेको माटोको पुरानो साँघुरो घरमा बस्छन् भैरव । काठको भर्‍याङबाट दोस्रो तल्लामा उक्लेपछि भैरव बस्ने आसन आउँछ । त्योभन्दा माथिल्लो तल्लामा उनको परिवार अटाएको छ । यो घर पनि हो, मन्दिर पनि हो । भान्सा कोठादेखि सबै त्यहीँ अटाएको छ ।

रोजन शाक्य स्वच्छन्द भैरव हुन् । कुमारीजस्तै शक्तिशाली मानिन्छ । तर जीवित देवी कुमारीको जति चर्चा भैरव र गणेशको छैन । किन ? यसको यकीन जवाफ भने कोहीसँग छैन ।

‘रे’ का कुरा गर्नेहरु भने प्रसस्तै भेटिन्छन् ।

हामी पुग्दा भैरव आसनमा थिए । त्यहाँ ‘नित्य पूजा’ चल्दै थियो । उनका मामा भैरव शाक्य त्यहीँ भेटिए । उनी पनि ३२ वर्षअघि दुई वर्षको उमेरमा भैरवका रुपमा पुजिएका थिए । करिब १२ वर्षसम्म भगवानको रुपमा पुजिए । भैरवबाट ‘मुक्ति’ पाएपछि अहिले घर गृहस्थीको जञ्जालमा जेलिएका छन् ।

उनीसँग भैरव बन्दाका अनेक मिठा-तीता सम्झना छन् ।

उनीसँग टीका थाप्न तत्कालीन राजा वीरेन्द्र शाह पुगेका थिए । राष्ट्र प्रमुख फेरिँदा भैरवको पूजा गर्ने चलन थियो । तर अहिले त्यो परम्पराले निरन्तरता पाउन सकेको छैन । पहिला रथयात्रा निकाल्नुअघि पनि राजा आएर घरमा भैरवको पूजा गरेको सुनाउँदै भैरव भन्छन्, ‘अहिले त राष्ट्रपति घरमा आएर पुज्ने र टीका थाप्ने प्रचलन नै हरायो । अहिले विधिपूर्वक केही काम भएको छैन ।’

त्यसबेला जात्राहरुको माहोल पनि छुट्टै हुन्थ्यो । तर अहिले जीवित देवताप्रति सम्मान र जात्राको रौनक दुवै कम हुँदै गएको उनको अनुभव छ । ‘त्यो बेलाको जस्तो रौनक र विश्वास अहिले कहाँ पाउनू ?’ भैरव भन्छन्, ‘परम्परालाई राज्यले बोझ ठानेपछि यस्तो हुन्छ ।’

भैरव (रोजन) का बुवा उत्तमका अनुसार अहिले कतिपयले त भन्न थालेका छन्, परम्परा धानेर के हुन्छ ? मान्छेलाई भगवान भन्दै पुजेर के हुन्छ ?

त्यसको जवाफ उनीसँग छैन । तर उनलाई परम्परा थाहा छ, इतिहास थाहा छ, यसको महत्व पनि थाहा छ । आफ्नो परम्परा छाड्दै गए पतन भइन्छ भन्ने बोध पनि छ ।

****

धार्मिक मान्यताअनुसार भैरव देशको रक्षक हुन् । लिच्छविकालीन राजा गुणकामदेवले कान्तिपुर नगर बसाउँदा राष्ट्रको रक्षाका लागि अष्टमातृकासँगै कान्तिपुर नगरको दक्षिण भेग (हालको टेकु) मा क्षेत्रपालको रुपमा भैरवलाई स्थापना गरेको विभिन्न वशांवलीमा उल्लेख छ ।

 

 

किवदन्तीकाअनुसार भैरव र कुमारीलाई इन्द्रजात्राका बेला तानिने रथका दुई पाङ्ग्रा मानिन्छ ।

भैरव, कुमारी र गणेशको शक्तिले देशमा अनिष्ट रोक्ने विश्वासमा वर्षौंदेखि उनीहरुलाई जीवित देवता मानिँदै आएको छ ।

तर न जीवित देवतामध्ये कुमारीका लागि मात्रै छुट्टै बस्ने व्यवस्था छ । कुमारी, कुमारी घरमै पढ्छिन् ।

गणेश र भैरव आफ्नै घरमा बस्छन् । उनीहरुलाई कुमारीलाई जस्तो सुविधा छैन ।

भैरवले घरमा बस्दा जामाजस्तै लुगा लगाउनुपर्छ । अरुले जस्तो कमिज पाइन्ट लगाउन अनुमति हुँदैन । कपाल नकाटीकन ‘जटा’ बनाएर राख्नुपर्छ । खोला नाघेर बाहिर जानु हुँदैन । कसैको जुठो खानु हुँदैन । भोजभतेरमा जाने छुट छैन ।

भैरवले तोड्नै नहुने नियम थुप्रै छन् । ‘नियम तोडे के हुन्छ ?’ किंवदन्तीले भन्छ, ‘अनिष्ट हुन्छ, देशलाई पनि, भैरव आफैंलाई पनि ।’

यही विश्वासमा वर्षौंदेखि यो परम्परा चलिरहेको छ ।

इन्द्रजात्रामा कुमारीको रथ यात्रा गर्नुअघि गणेशको रथ तानिन्छ । त्यसपछि भैरवको । दशैंको नवमीको दिन गणेश, भैरव र कुमारीलाई ‘खट’मा हालेर तलेजु भवानी मन्दिरमा लागिन्छ । ‘बेल विवाह’ नगरेका ९ जना कुमारीसँगै राखेर पूजा गरिन्छ ।

प्राचीन मान्यता छ, ‘भैरव र कुमारीको आँखा जुध्दा देशमा संकट पर्छ ।’ त्यसैले संगै रथ यात्रा गराए पनि ‘भैरव र कुमारीको आँखा नजुधोस्’ भन्ने चाहना हुन्छ ।

देशमा भएका रहस्यमयी घटना हुँदा यस्तै केही भएको थियो कि भनेर शंका गर्नेहरु रहेको भैरवका पिता उत्तम सुनाउँछन् । यो विश्वास हो ।तर भैरव र कुमारीको आँखा जुधेकै कारणले देशमा ‘रहस्मयमी घटना’ घटेको भनेर ‘ठोकुवा’ गर्नेहरु भने अहिलेसम्म कोही भेटिएका छैनन् ।

****

जो कोही भैरव बन्न पाउँदैनन्, यसका आफ्नै नियम छन्, परम्परा छन् । उत्तमका अनुसार भैरव हुन शाक्य खानदानमा जन्मेको हुनुपर्छ । शाक्य खानदानले अन्य खानदानसँग बिहे गरेर जन्मिएको बालक पनि स्वीकार्य हुन्न । काठमाडौंको शाक्यले भक्तपुर या ललितपुरको शाक्य परिवारसँग विवाह गरेर जन्मेको बालक पनि हुन्न । घाउचोट लागेको बालकलाई भैरव बनाउन अस्वीकार गरिन्छ ।

यी सबै मापदण्ड पूरा गरेपछि पनि गुभाजुहरुले जन्म कुण्डली हेर्छन् र भैरव छनोट गरिन्छ ।

जसरी पहिलो रजस्वला हुनासाथ कुमारी फेरिन्छ, त्यसैगरी १४ देखि १५ वर्षको उमेर पुगेपछि भैरव फेर्नुपर्छ । त्यस्तै कुमारी परिवर्तन भएसँगै गणेश र भैरव परिवर्तन गर्ने परम्परा छ ।

साढे २ वर्षको उमेरमा भैरव बनेका रोजन अहिले १५ वर्ष पुगिसके । नयाँ भैरवको खोजी पनि भइरहेको छ । गएको दशैंमा नयाँ कुमारी आएसँगै भैरव फेर्ने तयारी थियो । धेरै बालकको चिना पनि हेराइयो । लक्षण हेरियो । तर भैरव बन्न योग्यता पुगेका कोही भेटिएनन् ।

अहिले आगामी चैत मसान्तसम्म नयाँ भैरव ल्याउने भनिएको छ । तर अर्को भैरव भेटिएको छैन । भैरव बनाउन योग्य भएका केही बालकको कपाल काटिएकाले बनाउने कि नबनाउने भन्ने दोधार छ । ‘खोट’ भएकाहरुलाई किन भैरव बनाउने भन्ने प्रश्न आए पनि निर्णय हुन सकेको छैन ।

भैरव बनाउन ‘योग्य’ बालक भेटिएका पनि हुन् तर परिवारले भैरव बनाउन अस्वीकार गरेको छ । मानिसहरुले आफ्नो सन्तानलाई भैरव बनाएर पम्पराको बोझ बोक्न नचाहेको उत्तम बताउँछन् । यसरी परम्परालाई बोझ मान्नुको कारण आर्थिक संकट र पालना गर्नुपर्ने कठोर नियम भएको उनको अनुभव छ ।

****

उत्तमका अनुसार कुमारीको जत्तिकै महत्व भएको भैरवलाई पर्याप्त आर्थिक सहयोग छैन ।

९ दिनसम्म चल्ने इन्द्रजात्रा सामान्य तरिकाले चलाउन पनि ३ लाख रुपैयाँ खर्च हुन्छ । जीवित देवता भैरवको अभिभावकका नाताले पूरै बस्तीमा बेलाबेलामा भोज गर्नुपर्छ । वर्षमा तीन पटक खुवाउनुपर्ने ठूलो भोज त छँदैछ, चाडपर्वपिच्छे भोज गरिरहनुपर्छ ।

हरेक दिन नित्य पूजा गर्नैपर्‍यो । पोशाक र भैरवका गरगहनाको सामाग्रीको लागि पनि खर्च धेरै उठ्छ । पूजा गर्न आउने भक्तजनहरुलाई प्रसाद दिनैपर्‍यो ।

ज्यापु बाजा बजाउनेलाई पारश्रमिक दिनुपर्छ ।

आन्दानीका नाममा गुठी संस्थानले वर्षमा सात मुरी धान दिन्छ । यो महिनाबाट बल्ल काठमाडौं महानगरपालिकाले मासिक ३० हजार रुपैयाँ दिन थालेको छ ।

तर यो रकम अपुग हुने उत्तम सुनाउँछन् ।

त्यसमाथि भैरवकै हेरचाहमा परिवारका सदस्यहरुको अधिकांश समय जान्छ । नित्य पूजाको तयारीदेखि खानपानसम्म सबै परिवारले नै हेर्नुपर्छ ।

यस्तै कारणले छोरालाई रोजेको स्कुलमा पढाउन नसकेकोमा आमाबाबु दु:खी छन् ।

अरुलाई उज्जवल भविष्यको आशिर्वाद दिने भैरवकै भविष्य अन्धकार रहेको उनकी आमा सुवर्ण तारा शाक्य सुनाउँछिन् । ‘परम्परा नमानौं भने संस्कृति मासिएला डर, मानौ खर्च धान्नै सकिन्नँ’, भैरवकी आमा प्रश्न गर्छिन्, ‘धर्म, संस्कृति एउटा परिवारको काँधमा थोपरेर चल्छ त ?’

उत्तमलाई पनि कहिलेकाहीँ परम्परा धानेर ‘बोझ’ बोकिरहेको झैं लाग्छ भने कहिले ‘भैरव’ बन्ने अर्को बालक नभेटिँदा ‘अनिष्ट’ हुने भयले सताउँछ । अनौठो ‘धर्मसंकट’बाट गुज्रिरहेका उनी वर्तमानसँग दिग्दार र भविष्यसँग त्रसित सुनिन्छन् ।

कहिलेकाहीँ सोच बदलिन्छ र विद्रोही झैं सुनिन्छन् । ‘अभाव र दबाब बढाउने संस्कार अन्त्य गर्न’ भन्दै मन र मष्तिष्कमा द्वन्द्व चलाइरन्छन् । अन्ततः अन्य मानिसले जस्तै ‘धर्मसंस्कार त संस्कार नै हो’ भन्ने निचोडमा पुग्छन् । उत्तम भन्छन्, ‘अरुले जस्तै सोचेर पनि भएन, फेरि परिवार र राज्यलाई अपशकुन होला !’

****

उत्तमको परिवारले गणेश र भैरवलाई पनि कुमारीजस्तै घर बनाएर राखिदिन माग गरेको वर्षौं भइसक्यो । पूर्वराष्ट्रपति रामवरण यादवदेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पटकपटक माग राखिसके । तर कसैले सुनेनन् ।

भैरवलाई छुट्टै घरमा राखिदिए सबैले मान्ने भगवानको सम्मान हुने उनी बताउँछन् । तर राज्यले नै गणेश र भैरवको चिनारी नबनाइदिएको शाक्य परिवारको गुनासो छ । ‘कुमारी घर जस्तै भैरव र गणेश घर भए पर्यटकहरु हेर्न आउँथे,’ उत्तम भन्छन्, ‘मानिसहरुले महत्व पनि बुझ्थे, आर्थिक सहयोग पनि जुट्थ्यो ।’

****

स्कुल आउँदा-जाँदा रोजनलाई मानिसहरु अनौठो मानेर हेर्छन् । मानिसले विचित्रले हेरेको देख्दा उनलाई झनक्क रिस उठ्छ । कतिपयले केटी ठानेर जिस्क्याउँछन् पनि ।

उनी ‘म केटी होइन’ भन्दै जंगिन्छन् पनि । त्यस्तो बेला साथीहरुले सहयोग गर्छन् ।

उनलाई साथीहरु जस्तै ‘मल्टिप्लेक्स’मा गएर फिल्म हेर्न मन छ, तर जान पाउँदैनन् । बाहिरी खानेकुराको स्वाद अहिलेसम्म चाखेका छैनन् ।

नयाँनयाँ ठाउँ घुम्न र खेल्न जान मन लागे पनि आफ्नो बाध्यता बुझेर सम्हालिएको बताउँदै सुनाउँछन्, ‘अनुशासित जिन्दगी बाँच्नुपर्दा कहिलेकाहीँ त रुन मन लाग्छ ।’

उनलाई भगवानबाट मुक्ति पाएपछि धीत मर्नेगरी बाहिर घुम्ने रहर छ । फिल्म हेर्ने र फुटबल खेल्ने धोको पूरा गर्ने चाहना छ । अनि कम्प्युटर इन्जिनियर बन्ने सपना पूरा गर्नु छ ।

‘एक-दुई वर्ष त हो, त्यसपछि आफ्नै जिन्दगी आफ्नै तरिकाले बाँच्ने हो,’ उनी भन्छन्, ‘मेरो पनि त सपना, इच्छा चाहना छ… त्यो त पूरा गर्नु पर्‍यो नि ।’

****

जब इन्द्रजात्रा आउँछ, उपत्यकामा उल्लास छाउँछ । स्वयं भैरव खुसी नहुने कुरै भएन, तर बेलाबेला मन बेचैन हुन्छ । रथ केही भइहाल्छ कि भन्ने डरले मुटु काँप्छ । मादक पदार्थ सेवन गरेर रथ नतानिदिए पनि हुन्थ्योझैं लाग्छ । भन्छन्, ‘भगवानलाई पनि आफ्नो ज्यानको माया त लागिहाल्छ नि ।’

हेर्नुहोस् भिडियो

तस्वीर र भिडियो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment