Comments Add Comment

‘नाई मलाइ थाहा छैन’ गीतले मलाई स्थापित गर्योः संजिव पराजुली

भन्छन्–‘ट्रेन्डिङ त फेसन मात्र हो’

गायक संजिव पराजुली संगीतिक क्षेत्रमा लागेको झण्डै दुई दशक हुन लागिसकेको थियो । उनको स्वरमा रेकर्ड भएका गीतको संख्या भने १० को हाराहारीमा थिए । आधुनिक गीतमा उनले निरन्तर आवाज दिइरहेका थिए ।

सोही समय संजिवलाई दुई जना मिलेर गाउने रहर जाग्यो । गायिका टीका प्रसाँइको गीत सुन्ने संजिवले टीकालाई नै गीतको अफर गरे । टीकाकै शब्द तथा संगीतमा एउटा गीत तयार भयो, ‘तिमी मलाई मन पर्छ’ ।

यो गीत केही हदसम्म सफल भयो । सफ्ट भर्सनमा गीत तयार भएको थियो । यसपछि संजिवलाई डान्सिङ गीतमा स्वर भर्ने इच्छा जाग्यो । अष्ट्रेलियामा बस्दै आएका संजिवलाई संगीतकार भेटेर गीत खोज्न गाह्रो थियो । त्यसैले टीकालाई भने–‘यदि कोहीसँग त्यस्तो गीत छ भने भन्नु है । हामीले गाउनु पर्छ ।’

टीका गीतको खोजीमा थिइन् । सोही समय टीकाले संगीतकार आशिष अविरललाई भेटिन । उनले टीकालाई एउटा गीत सुनाए, ‘जोडी ढुकुर सँगै बसेको किन होला ? नाई मलाई थाहा छैन्’ ।

गीतको लय र शब्दले टीकाको ध्यान खिच्यो । तुरुन्तै संजिवलाई म्यासेज गरिन र गीत सुनाइन् । संजीवले पनि उक्त गीत रुचाए । अनि तयार भयो सुपर हिट गीत, ‘नाई मलाई थाहा छैन ।’

संजिव आफूलाई चिनाउने गीत यसैलाई मान्छन् । उनले भने–‘गीत संगीत क्षेत्रमा नै काम गरिरहेको थिएँ । तर, खासै श्रोताले खासै चिन्नुभएको थिएन । तर, यो गीतपछि संजिव पराजुली भनेर धेरैले चिन्न थाल्नुभयो । यो गीत मेरो करिअरको कोशेढुंगा बनेको छ ।’

उक्त गीत दुई भर्सनमा तयार भएको छ । पहिला सफ्ट भर्सनमा सार्वजनिक भएको यो गीत पछि मात्र डान्सिङ शैलीमा आएको थियो । संजिव भन्छन्–‘पहिला सफ्ट थियो गीत । तर, यो गीत क्लबमा पनि बजोस् भन्ने लाग्थ्यो । त्यसैले आशिष अविरलजीसँग कुरा गरेर यसलाई डान्सिङ बिटमा पनि तयार गरियो । जुन एकदमै हिट भयो ।’

एउटा गीत हिट भएपछि धेरैको नजरमा परेका थिए संजिव । शुभचिन्तक पनि कमाएका थिए । त्योसँगै संजिवलाई दवाव पनि थपिएको थियो । संजिव भन्छन्–‘धेरै जनाले अब के गर्दै हुनुहुन्छ, के आउँछ भनेर प्रश्न गर्नुहुन्थ्यो । त्यसैले पनि मलाई अझै राम्रो गर्नुपर्ने चुनौती थपिएको थियो ।’

उक्त गीतपछि संजिवका गीतहरु निरन्तर आइरहेका नै छन् । ‘कर्के नजर, नाई नाई हुन्न हुन्न’ लगायत गीतहरु उनको हिट गीतको सूचीमा थपिएका छन् । तर, संजिव आफू हिट गीतमा काम गर्छु भन्ने सोचले काम नगर्ने बताउँछन् । उनले भने–‘म हिट गीत दिन्छु भनेर कहिल्यै काम गर्दिनँ । तर, जे गर्छु आफ्नो तर्फबाट उत्कृष्ट हुनेगरी गर्छु ।’

उक्त गीतपछि आएका प्रतिक्रियाहरु उनले मिश्रित पाएका छन् । कसैले नाई मलाई थाहा छैन् जस्तो नभएको बताउँछन् त कसैले फरक र मिठो भएको प्रतिक्रिया दिन्छन् । दुबै प्रतिक्रियालाई सकारात्मक रुपमा लिने गर्छन उनी । भन्छन्–‘दुबैथरी प्रतिक्रियाले अर्को पटक सच्चिएर काम गर्ने मौका मिल्छ । त्यसलाई म एकदमै स्विकार गर्छु ।’

अहिले युट्युबको भ्युज र ट्रेण्डिङलाई सफलता मान्नेहरुको पछाडि आफू नभएको उनी बताउँछन् । भन्छन्–‘ट्रेन्डिङ फेसन बनेको छ । त्यहाँ आएका प्रतिक्रियाहरुलाई हेरेर त कसरी मुल्याङ्कन गर्ने र ! जस्तो पनि विषय ट्रेण्डिङमा आइरहेको हुन्छ ।’ बजारले खोजेको कुरालाई बुझेर सोही अनुसारको ट्रेन्ड सेट गर्नेमा आफ्नो ध्यान गएको संजिव बताउँछन् ।

अहिले उनी गीतको भिडियोमा पनि देखिन थालेका छन् । आफ्नो अनुहार देखाउने लोभमा परेको उनलाई आरोप लागिरहेको छ । तर, संजिव त्यस्तो नभएको बताउँछन् । उनले भने, ‘त्यो लोभ होइन । यहाँ भिडियोमा जो देखिन्छ, त्यसैले गरेको हो भन्ने हुन्छ । त्यसैले म भिडियोमा गायकको रुपमा प्रस्तुत मात्र भएको हो ।’ भिडियो निर्माणमा आफूले कुनै हस्तक्षेप नगर्ने उनको भनाई छ ।

संजिव अष्ट्रेलिया बस्दै आएका छन् । अष्ट्रेलियामा बसेर नेपाली गीत–संगीतको क्षेत्रमा काम गर्न कठिन नै छ । तर, अहिले उपलब्ध प्रविधिले आफूलाई सहज बनाइदिएको संजिव बताउँछन् । उनले भने–‘अहिले हामीलाई उतैबाट गीत रेकर्ड गरेर पठाउन सजिलो भएको छ । मैले मेरा सबै गीत अष्ट्रेलियाबाट नै रेकर्ड गराएर पठाएको छु ।’

आफू नेपाल नै बसेर गीत संगीतमा काम गर्ने भएपनि त्यसमा केही न केही समस्या हुने उनको बुझाई छ । तर, मनबाट केही कुरा गर्ने इच्छा राखिन्छ भने त्यो पूरा गर्न गाह्रो नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment