Comments Add Comment

त्रिभुवन विमानस्थलको ‘अन्तर्राष्ट्रिय ग्रेडिङ’ हुने, फाइदा के ?

२ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलले प्रवाह गर्ने सेवाको गुणस्तरसम्बन्धमा अन्तर्राष्ट्रिय संस्था एयरपोर्ट्स काउन्सिल इन्टरनेशनल (एसीआई) वर्ल्डबाट ग्रेडिङ (वर्गीकरण) हुने भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एसीआईसँग वर्गीकरण प्रक्रियाबारे जानकारी लिने प्रक्रिया पूरा भएको छ ।

एसीआई वर्ल्डबाट त्रिभुवन विमानस्थलको वर्गीकरणसम्बन्धमा प्रत्युत्तर आइसकेको प्राधिकरण स्रोतले बतायो । यससम्बन्धमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

विमानस्थलका यात्रुको अनुभव र विमानस्थल सेवाको गुणस्तरमापन गरी यस संस्थाले विमानस्थलहरूलाई वर्गीकरण गर्छ । यसले कुन देशको विमानस्थलको गुणस्तर कस्तो छ भन्नेबारे संसारभरका यात्रुलाई जानकारी गराउँछ । जब विमानस्थलहरू वर्गीकरणमा पर्छन्, त्यसपछि सेवाको गुणस्तर कायम राख्न र आफूलाई अब्बल सावित गर्न थप प्रयास गर्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणको प्राथमिकताको कार्यक्रममा चालु आर्थिक वर्ष ०७६/७७ को अन्तिमसम्म त्रिभुवन विमानस्थलको ग्रेडिङ सम्पन्न गर्ने उल्लेख थियो ।

त्रिभुवन विमानस्थलले प्रदान गर्ने सेवामा अहिले पनि सेवाग्राहीका प्रशस्त गुनासा छन् । उडान–अवतरणमा हुने ढिलाइ, उडान रद्दबाहेक ग्राउण्ड ह्याण्डलिङ, ब्यालेग लिन लाग्ने समय, सरसफाइ, अधिक भीडभाड, शौचालयका विषयमा यात्रुका गुनासा छन् । यसबाहेक अध्यागमन सेवा, भन्सार, सुरक्षामा पनि उत्तिकै गुनासा छन् ।

के हो एसीआई ?

एयरपोर्ट्स काउन्सिल इन्टरनेशनल विश्वका व्यावसायिक विमानस्थलहरूको साझा संस्था हो । यसको स्थापना १९९१ मा भएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले यस संस्थालाई मान्यता प्रदान गरेको छ । यस संस्थाले विमानस्थल सेवाको गुणस्तरको विश्वव्यापी मापदण्ड बनाउँछ । त्यससम्बन्धी नीति बनाउने र त्यसको कार्यान्वयनका लागि विमानस्थलहरूलाई सहजीकरण गर्ने कामसमेत गर्दै आएको छ ।

त्रिभुवन विमानस्थलको सेवा सुधारमा यस वर्ष भइरहेका मुख्य काम

– काठमाडौंबाट प्रमुख आन्तरिक विमानस्थलमा जाने साना जहाजको उडान निरुत्साहित गर्दै जाने र उपत्यका बाहिरका विमानस्थलबाट दुर्गम क्षेत्रमा हुने उडानलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । यस नीति अनुसार, रामेछाप विमानस्थलबाट लुक्लामा उडान भइरहेको छ ।
– यात्रु ओसार–पसारका लागि नेपाल एयरलाइन्सले २ वटा भीआईपी फस्र्ट क्लास कोच सञ्चालनमा ल्याएको छ । ४ वटा प्यासेन्जर बस नेपाल आउने क्रममा छन् ।
– अहिले ४ सय वटा सीसी क्यामराबाट विमानस्थलको निगरानी हुन्छ । थप १ सय सीसी क्यामरा जडानका क्रममा रहेका छन् ।
– सबै ट्याक्सी तथा पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवस्था कार्यान्वयनका क्रममा छ ।
– विमानस्थलमा रहेको मनी एक्सचेन्ज अगाडि २४ सै घण्टा सटही दर देखिने गरी विद्युतीय सूचना बोर्ड राखिएको छ ।
– विमानस्थलभित्रका पसलमा बेच्ने सामानको मूल्य निर्धारण गर्ने प्रक्रिया जारी छ ।
– ड्युटी फ्री पसलका लागि कार्यविधि बनाएर कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छ ।
– बुटिक एयरपोर्टको अवधारणा अनुसार पूर्वाधार निर्माण भइरहेको छ ।
– पुरानो पार्किङस्थलमा आकर्षक बगैंचा निर्माणको काम जारी छ ।
– पार्किङस्थलमा स्मार्ट पार्किङ लागू गरिँदै छ ।
– विमानस्थलमा रहेका भद्दा विज्ञापन हटाउने, थप विज्ञापन राख्न अनुमति नदिने र नयाँ विज्ञापनमा ५० प्रतिशत राष्ट्रिय सम्पदा राख्नुपर्ने नीति कार्यान्वयनमा ल्याइएको छ ।
– विमानस्थलको आगमनबाट पार्किङसम्म स्वचालित स्क्यालेटर निर्माण र सञ्चालन योजना छ ।
– ट्रान्जिट यात्रुका लागि सुविधा सम्पन्न लाउन्जको व्यवस्थाका लागि निर्माण जारी छ ।
– विमानस्थलमा शव ल्याउने छुट्टै मार्ग र मृतकका आफन्तका लागि फरक प्रतीक्षालयको निर्माण गर्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment