Comments Add Comment

बुढापाकालाई दया होइन, सम्मान गरौं

एक जना ९४ वर्षीय य बृद्ध एक दिन आफ्ना छोरासँग पार्कमा बसिरहेका थिए । अचानक एउटा चरा उनीहरु नजिकको रुखमा आएर बस्यो । बृद्ध बुबाले चरालाई देखाउँदै छोरासँग त्यो के हो ? भनेर साधे । छोराले त्यो चरा हो भनेर जवाफ दिए ।

केही समयपछि बृद्धले छोरालाई पहिला सोधेको प्रश्न नै सोधे-त्यो के हो भनेर ? छोराले अहिले भर्खर त भनेँ-‘त्यो एउटा चरा हो’ भने ।

केही समयपछि बृद्ध बाबुले आफ्ना छोरालाई फेरि त्यही प्रश्न तेस्रो पटक पनि सोधे ।

यो पटक छोराले उनलाई अति नै नराम्रो तरिकाले जवाफ दिँदै भने-‘त्यो एउटा चरा हो, चरा हो, चरा हो ।’

तपाईंँ मसँग बारम्बार एउटै प्रकारको प्रश्न किन सोधिरहनु भएको छ ? मैले तपाईंंलाई बारम्बार भनिरहेको छु, त्यो एउटा चरा हो भनेर । के तपाइर्ं बुझ्नु हुन्न ? अब घर हिँड्नुहोस् ।

उनीहरु दुबै घर फर्किए । बृद्ध आफ्नो कोठामा गए र केही समयपछि आफ्नो पूरानो डायरी लिएर आए, जसमा उनले आफ्ना छोराको सम्पूर्ण बाल्यावस्थालाई साँचेर राखेका थिए । डायरीको एक पेज खोलेर उनले आफ्ना छोरालाई पढ्न लगाए ।

जब छोराले त्यो पढ्यो, उसको आँखाबाट आँशु बग्न थाल्यो ।  त्यो डायरीमा ‘आज मेरो तीन वर्षको छोरा मसँग पार्कमा बसेको थियो । त्यो समयमा रुखमा एउटा काग आएर बस्यो, छोराले मसँग २३ पटक त्यो के हो भनेर सोध्यो र मैले २३ औं पटक नै त्यो काग हो भनेर उसलाई मायाले जवाफ दिएँ र हरेक पटक अँगालोमा बेरेर मायाको अनुभव गराएँ’ भनेर लेखिएको थियो ।

जब एउटा छोराले एउटै प्रश्न २३ पटक सोध्दा बुबालाई जवाफ दिन कुनै झन्झट भएन भने आज बुबाले आफ्ना छोरासँग केवल तीन पटक त्यही प्रश्न सोध्दा छोरालाई झर्को र रिस किन उठ्छ ?

जुन आमा-बुबाले हामीलाई जन्म दिए, बोल्न सिकाए । आज त्यही छोरा-छोरीले उनीहरुलाई नै चुप लगाएको देखेर पीडा हुन्छ । जुन आमा-बुबाले हामीलाई जिन्दगी दिए । स्वयंको खुशीहरुलाई बेवास्ता गरेर हामीलाई सबै कुराको सुविधा दिए । आज उनीहरुसँग कुरा गर्ने हामीसँग समय हुँदैन ।

आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर आफ्ना आमा-बुबालाई दिनुपर्छ । किनभने उनीहरु त्यही व्यक्ति हुन्, जसले तपाईंंको कुरा त्यो बेलामा पनि सुनेका थिए । जब तपाईंं बोल्न पनि जान्नु हुन्न थियो ।

कस्तो विडम्बना, एक जोडी आमा-बुबाले मिलाएर दुईवटा बच्चालाई पाल्न सक्छिन् । तर, दुईजना बच्चा मिलेर एक जोडी आमा-बुबालाई पाल्न सक्दैनन् । जुन आमा-बुबाले आफ्नो सम्पूर्ण जीवन आफ्ना बालबालिकामा अर्पण गरे । आज उनीहरुका लागि हाम्रो घरमा स्थान हुँदैन । आमा-बुबालाई आफूसँग राख्नु एउटा बन्धन जस्तो लाग्छ । कसैले तपाईंंको हालखबर सोध्यो भने आमा-बुबासँगै भएकाले धेरै काम बढेको छ भन्ने जवाफ दिनुहुन्छ ।

तपाईंले आफ्ना आमा-बुबालाई जस्तो व्यवहार गर्नुहुन्छ । तपाईंको छोरा-छोरीले पनि भविष्यमा तपाईंंलाई त्यस्तै व्यवहार गर्छन् । संसार गोलो छ, जहाँबाट घुम्न सुरु भएको हुन्छ, त्यहीँ आएर रोकिन्छ ।


आफ्ना भावनालाई परिर्वतन गर्नुहोस् र भन्नुहोस हामी आफ्ना आमाबुबासँग बस्छौं र यो कुरामा हामीलाई गर्व छ । तपाईंको आमा-बुबाले तपाईंंलाई बच्चा बेलामा एउटा राजकुमार-राजकुमारी जस्तै गरेर पालेका हुन्छन् । त्यसैले अब उनीहरुलाई बुढेसकालमा राजा-रानी जस्तै राख्नु तपाईंंको जिम्मेवारी हुन्छ ।

आमा-बुबाको जिन्दगी बित्छ तपाईंंको जिन्दगी बनाउनका लागि र बच्चा ठूलो भएर तपाईंंले मेरो लागि के गर्नु भएको छ ? भनेर प्रश्न सोध्छ । कहिले पनि जिन्दगीमा आफ्नो सफलताको घमण्ड आफ्ना आमा-बुबालाई देखाउनु हुँदैन । किनभने उनीहरुले आफ्नो जिन्दगी हारेर तपाईंंलाई जिताएका हुन्छन् ।

जब हामी ठूला हुन्छौं । तब हामी आफ्नो जीवनका ठूला-ठूला निर्णयहरु आफैं लिन थाल्छौं । एक पटक पनि आफ्ना आमा-बुबासँग सोध्न आवश्यक ठान्दैनौं । जुन घरमा आमा-बुबाको सल्लाह लिइँदैन, त्यो घरमा पछि वकिलको सल्लाह लिन पर्ने अवस्था आउन सक्छ, यो कुरालाई सधैं ध्यान दिनु राम्रो हुन्छ ।

आमा एउटा त्यस्तो बैंक हुन्, जहाँ तपाईं हरेक दुःख, हरेक समस्यालाई जम्मा गर्न सक्नुहुन्छ । बुबा एउटा त्यस्ता क्रेडिट कार्ड हुन्, जोसँग ब्यालेन्स नभए पनि तपाईंंको सम्पूर्ण सपना पूरा गर्ने कोसिस गर्छन् ।

संसारमा हरेक मानिसहरु आफ्ना दुःखहरु कोही न कोहीसँग बाँड्ने गर्छन् । तर, एउटा बुबाले आफ्नो दुःख कसैसँग पनि बाँड्दैन । कहिलेकाहीँ उनीहरुले तपाइर्ंलाई गाली गरेर आफ्नो रिस देखाउने त गर्छन् । तर, कहिले पनि रोएर आफ्नो पीडा देखाउँदैनन् । उनलाई थाहा छ तपाईंंको भविष्यको बलियो डोरी उनको हातमा छ भन्ने कुरा ।

आमा-बुबा हुँदा त्यति वास्ता हँुदैन । तर, उनीहरु नहुँदा उनीहरुको कमी धेरै महसुस हुन्छ । तपाईंं यो संसारमा कसैको बारेमा सोच्नुस् अथवा नसोच्नुहोस् । तर, ती आमा-बुबाको बारेमा अवश्य सोच्नुहोस्, जसले कुनै थकाई बिना नरोकिकन आफ्ना समस्याहरु कसैलाई पनि नभनी ईश्वरसँग तपाईंंको सफलताको लागि प्रार्थना गर्छन् ।

जुन दिन तपाईंंका आमा-बुबालाई तपाईंंप्रति गर्व हुन्छ । त्यो दिन तपाईंंले संसार जितेको भन्ने सोच्न सक्नुहुन्छ । संसारभरीका सम्बन्धहरुमा आफ्ना आमा-बुबाभन्दा प्यारो र आफ्नो भन्ने कोही हुुँदैन भन्ने बुझ्नुपर्छ । यो संसारमा बिना स्वार्थ केवल आफ्नो आमा-बुबाले मात्र माया गर्छन् । यो वास्तविकता जसले बुझेको छ । उनीहरु भाग्यशाली हुन् र जसले बुझ्दैनन् उनीहरुभन्दा अभागी अरु कोही हुँदैनन् ।

मानिसहरु भन्छन् पहिलो प्रेम बिर्सन सकिँदैन । तर, किन हामी हाम्रो पहिलो प्रेम अर्थात् आमा-बुबालाई नै बिर्सन खोज्छौ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment