Comments Add Comment

फेसबुक बन्यो दशककै सर्वाधिक लोकप्रिय एप, यी हुन् धेरै डाउनलोड गरिएका एपहरु

गुगल प्ले स्टोर तथा एप्पलको एपस्टोरमा लाखौँ एपहरु उपलब्ध छन् । विश्वका करोडौँ मोबाइल फोन प्रयोगकर्ताहरुले प्रयोग गर्ने यी एपहरु मध्ये पछिल्लो दश वर्षमा सबैभन्दा धेरै डाउनलोड भएको एप कुन होला ? यो जिज्ञासा उत्पन्न हुनु स्वभाविकै हो ।

पछिल्लो एक रिपोर्टले यस सम्बन्धी जिज्ञासा शान्त पारिदिएको छ । उक्त तथ्याङ्क अनुसार पछिल्लो एक दशकमा सबैभन्दा धेरै डाउनलोड भएको एपको सूचीमा फेसबुक पहिलो नम्बरमा पर्न सफल भएको छ ।

लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकको एप यस दशकको सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको रिसर्च फर्म एप एन्नीको रिपोर्टमा उल्लेख गरिएको छ ।

फेसबुकको मूख्य एपमात्र होइन फेसबुक परिवारकै अन्य तीनवटा एपहरु मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम पनि सर्वाधिक डाउनलोड हुने टप फाइभ एपभित्र परेका छन् ।

फेसबुक परिवारका यी चार एपबाहेक टप फाइभमा पर्न सफल अर्को एप चाहीँ स्नापच्याट हो । स्मरणीय के छ भने सन् २०१३ मा फेसबुकले स्नापच्याटलाई ३ अर्ब डलरमा खरीद गर्ने प्रयास गरेको थियो । यद्यपि फेसबुकको उक्त प्रस्तावलाई स्नापच्याटले अस्वीकार गरेको थियो ।

सन् २०१० देखि अहिलेसम्म सबैभन्दा धेरैपटक डाउनलोड भएका शीर्ष दश एप्सको सूचीमा उल्लेखित पाँच बाहेक स्काइपी, टिकटक, युसी ब्राउजर, युट्युब र ट्वीटर रहेका छन् ।

रिपोर्ट अनुसार यस दशकमा सर्वाधिक डाउनलोड भएका दशवटा एपमध्ये सातवटा सञ्चार तथा सोसल मिडिया एप परेका छन् । टपटेन डाउनलोड भएका एपमध्ये आठवटा अमेरिकी कम्पनीका एप हुन् भने टिकटक र युसी ब्राउजर चिनियाँ कम्पनी मातहत रहेका छन् ।

रिपोर्टमा सर्वाधिक डाउनलोड भएका एपको सूचिमात्र होइन प्रयोगकर्ताले सर्वाधिक रकम खर्चिएका एपको सूचि पनि उल्लेख छ । जस अनुसार यस दशकमा प्रयोगकर्ताले नेटफ्लिक्समा सबैभन्दा धेरै खर्च गरेका छन् । दोश्रो नम्बरमा डेटिंग एप टिन्डर रहेको छ । त्यस्तै तेश्रो स्थानमा प्यान्डोरा म्युजिक, चौथोमा टेन्सेन्ट भिडियो र पाँचौँमा लाइन रहेको छ ।

त्यस्तै सबैभन्दा धेरैपटक डाउनलोड भएको गेमिङ एपको रुपमा सबवे सर्फर्स रहेको छ । यो सूचीमा क्यान्डी क्रस दोश्रो स्थानमा रहेको छ भने टेम्पल रन टू, माइ टकिंग टम तथा क्लास अफ क्लान्स क्रमशः पाँचौँ स्थानसम्म रहेका छन् । त्यस्तै प्रयोगकर्ताले सर्वाधिक खर्च गरेको एपमा क्लास अफ क्लान्स पहिलो नम्बरमा परेको छ भने मोन्स्टर स्ट्राइक दोश्रो, क्यान्डी क्रस तेश्रो, पजल एण्ड ड्रागन्स चौथो र फेट ग्रान्ड अर्डर पाँचौँ स्थानमा रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment