Comments Add Comment

७ अर्बको भाडा प्रस्ताव घटाएर नेपाल ट्रस्टको दरबारमार्गको जग्गा डेढ अर्बमा यतीलाई

४ पुस, काठमाडौं । नेकपा बैठक, वरुण वेभरेजले गरेको राजस्व छली, पूर्वसभामुख महराबारे अदालतले दिएको आदेश आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । त्यस्तै, नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा भाडा दुरुपयोग, अमेरिकी राष्ट्रपतिविरुद्धको महाभियोगलगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरूले समेटेका छन् ।

नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा भाडामा लगाउँदा अनियमितता भएको खुलासा कान्तिपुरले गरेको छ । ट्रस्टको जग्गा थामसेर्कु डेभलपर्सलाई भाडामा दिँदा पाँच अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको समाचारमा उल्लेख छ । जग्गा भाडामा लिने थामसेर्कु यती समूहको भगिनी संस्था हो ।

कान्तिपुरका अनुसार, थामसेर्कुले ३० वर्षको अवधिमा ६ अर्ब ९७ करोड रुपैयाँ सरकारलाई दिनेगरी प्रस्ताव पेस गरेकामा १ अर्ब ४० करोड रुपैयाँ मात्रै तिरे पुग्ने सम्झौता गरिएको छ ।

कान्तिपुर लेख्छ– ६ अर्ब ९७ करोड रुपैयाँमा भवन बनाएर ३० वर्षसम्म सञ्चालन गर्ने प्रस्ताव थामसेर्कुले गरेको थियो । तर, त्यसअनुसार सम्झौता नभएपछि ३० वर्षको अवधिमा ५ अर्ब ५७ करोड रुपैयाँ नोक्सानी हुने देखिएको हो । यस आधारमा वार्षिक झन्डै साढे १८ करोड रुपैयाँ नोक्सानी हुने देखिन्छ ।

नेपाल ट्रस्टको सञ्चालक समितिको ०७१ साउन २८ को बैठकले दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिन स्वीकृत गरेको हो । बोलपत्र आह्वानमा ६ कम्पनीले प्रतिस्पर्धा गरेका भए पनिच यती समूहको भगिनी संस्था थामसेर्कुको प्रस्ताव स्वीकृत भएको कान्तिपुरले लेखेको छ ।

एक वर्षपछि बसेको नेकपा स्थायी समिति बैठकमा यसका नेतृत्वमाथि नेताहरूले उठाएका जटिल प्रश्नबारे पनि कान्तिपुरले चर्चा गरेको छ । समाचार अनुसार, एमसीसी, बीआरआई र इन्डोप्यासिफिकबीचको अन्तर, गुटबन्दी, सरकार र पार्टीको कार्यशैलीलगायत विषयमाथि नेताहरू केन्द्रित भएका छन् ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेको खबर अन्नपूर्णमा पढ्न सकिन्छ । अन्नपूर्णका अनुसार, नेपालले किनारामा पारिएको भन्दै स्थायी समिति बैठकमा चित्त दुखाएका छन् ।

त्यस्तै कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आफ्नो असहमतिविपरीत निर्णय गरेको आरोप पनि नेता नेपालको छ ।

एमसीसी पारित गर्न कांग्रेसले गरेको आग्रह, ट्रम्पविरुद्ध अमेरिकाको तल्लो सदनले पारित गरेको महाभियोग प्रस्तावलगायत विषयलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

नागरिकले मूल्य अभिवृद्धि करको नक्कली कारोबारमार्फत रामजस्व छलेको अभियोगमा बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजविरुद्ध करिब २ अर्ब रुपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर भएको लेखेको छ । राजधानीमा लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट खडा हुन लागेको समाचार छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment