Comments Add Comment

उपसभामुख तुम्बाहाम्फेको चाहनामा कांग्रेस बाधक नबन्ने

४ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदको हिउँदे अधिवेशनको सुरुवात आफ्नै अध्यक्षतामा गर्ने उपसभामुख डा.शिवमाया तुम्बाहम्फेको चाहनामा बाधक नबन्ने भएको छ । उपसभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा जाने निर्णय कांग्रेसले गरेको छ ।

यसअघि उपसभामुखले बैठकको सुरुवात गर्ने सन्दर्भमा कांग्रेसले नियमावलीको कुरा ल्याएको थियो । तर संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्ने भन्ने व्यवस्था रहेकाले कांग्रेसले यसमा ‘पोजिशन’ नलिने सचेतक पुष्पा भुसालले बताइन् ।

उनले भनिन्, ‘संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखलाई अधिकार दिएको छ । प्रतिनिधिसभा नियमावलीमा चाहिँ बैठक सञ्चालन, सपथग्रहणलगायतका काम सभामुखले गर्ने भनिएको छ । तर संविधानकै व्यवस्थाअनुसार जान कांग्रेस बाधक बन्दैन ।

उपसभामुख डा.तुम्बाहम्फेले शुक्रबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन् । सभामुख निर्वाचनअघि नै उनलाई राजीनामा दिन नेकपाले भनेको छ । तर उनले संसद अधिवेशनको सुरुवात आफैंले गर्ने अडान लिएकी थिइन् ।

नेकपा स्रोतका अनुसार, शुक्रबार संसद् अधिवेशनको सुरुवात गरेपछि तुम्बाहम्फेले राजीनामा दिनेछिन् । संविधानमा उपसभामुखले सभामुख समक्ष राजीनामा दिनुपर्ने भनिएको छ । तर सभामुख नभएकाले प्रतिनिधिसभासमक्ष राजीनामा दिनेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

नेकपाले सभामुख कसलाई बनाउने भन्ने निर्णय अहिलेसम्म गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment