Comments Add Comment

पोखरामा अब नियमित फिल्म समीक्षा

पोखरा । पर्यटकीय राजधानीको उपमा पाएको पोखरालाई फिल्म नगरी बनाउनुपर्ने बहस पनि विस्तारै सुरु भएको छ । नेपालमा बन्ने कम बजेटदेखि महंगा फिल्मका गन्तव्य पोखरा हुन थालेका छन् । फिल्मकर्मीहरु काठमाडौंपछि पोखरालाई फिल्म क्षेत्रको राम्रो बजार मान्छन् ।

तर फिल्मसम्बन्धी पठनपाठन तथा विचार-विमर्श, समीक्षामा पोखरा, काठमाडौंभन्दा निकै पछाडि परेको छ । तर अब पोखरामा नियमित रुपमा फिल्म प्रर्दशन र समीक्षा कार्यक्रम हुने भएको छ ।

यसको सुरुवात गरेका छन्, पोखरा थियटरको सहकार्यमा पोखरा फिल्म सोसाइटी र गुरुङ फिल्म एसोसियसनले ।

हरेक महिनाको पहिलो शनिबार गन्धर्व नाटक घरमा नियमित फिल्म प्रदर्शन र त्यसको समीक्षा हुनेछ । शनिबार बिहान नाटक घरमा चिनियाँ उपन्यासकार बओसीद्वारा लिखित उपन्यास रिमेम ब्रान्च कृतिमा आधारित चिनियाँ फिल्म ‘द रोड होम’ फिल्म प्रदर्शन गरिएको छ ।

चलचित्र विकास बोर्डका दिवंगत अध्यक्ष केशव भट्टराईको तस्वीरमा माल्याअर्पण गर्दै कार्यक्रम सुरु भएको थियो र फिल्म प्रदर्शनपछि रंगकर्मी अनुप बरालले फिल्मबारे समीक्षा गरेका छन् ।

पोखरामा फिल्म समीक्षाको कमी भएको र त्यसको सरुआत भएकोमा रंगकर्मी बरालले खुसी व्यक्त गरे । उनले भने, ‘पोखरामा फिल्म धेरै हेरिन्छ । तर त्यस अनुपातमा कम समीक्षा हुन्छ,’ उनले भने, ‘चलचित्र हेर्ने र त्यसको समीक्षा गर्ने कार्यक्रम सुरु हुनु आफैंमा राम्रो कुरा हो ।’

पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान फिल्म हेर्ने माहोल बनाउन पनि कार्यक्रमले भूमिका खेल्ने बताए । उनले भने, ‘राम्रो फिल्म सबैले हेर्नुपर्छ । तर त्यसका विविध पाटोबारे दर्शकले पनि जान्नु आवश्यक हुन्छ ।’

उनले फिल्म हेर्नेमात्रै नभएर फिल्मसँग सम्बन्धित कुरा पनि दर्शकले जानकारी राख्नुपर्ने आवश्यक रहेको सुनाए ।

गुरुङ फिल्म एसोसियसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले फिल्म समीक्षा गर्ने संस्कृतिको सुरुआतले चलचित्र क्षेत्रमा सकारात्मक ऊर्जा थपिने बताए । चलचित्र बुझ्ने र त्यसलाई समीक्षात्मक ढंगले प्रस्तुत गर्न पनि कार्यक्रम सुरु गरिएको भन्दै उनले भने, ‘यसबाट संस्कृतिसँग जोडिएका फिल्महरु पनि प्राज्ञिक व्यक्तित्वलाई देखाउन सजिलो हुन्छ ।’

पोखरा थियटरका अध्यक्ष परिवर्तनले चलचित्रबारे समीक्षा र अन्तक्रिर्या कार्यक्रम गर्नेबारे १ वर्षअघिबाटै योजना बनाएपनि अहिले आएर सम्भव भएको जनाए । उनले भने, ‘फिल्म समीक्षा गर्ने संस्कृतिको सुरुआत गर्न लागेका छौं । अब अन्तर्राष्ट्रियमात्रै होइन, हाम्रै स्थानीय जातजाति,भाषाधर्मसँग सम्बन्धित फिल्म प्रर्दशन र समीक्षा गर्ने योजना बनाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment