Comments Add Comment

पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई ‘एकीकरण ट्रेल’ बनाउँछौ : मन्त्री भट्टराई

५ पुस, गोरखा । नेपाली भूमीमाथि आँखा नलगाउन संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले छिमेकी देशलाई आग्रह गरेका छन् । शनिवार गोरखा नगरपालिका-४ पिपलथोकमा निर्माण भएको भीमसेन थापाको शालिक अनावरण गर्दै उनले मातृभूमी माथिको थिचोमिचो नेपालीलाई सहृय नहुने बताए ।

‘हो हाम्रा सीमामा समस्या छन्, कहिले कालापानी कहिले सुस्तामा,’ उनले भने, ‘म छिमेकी देशलाई भन्न चाहन्छु आजको एक्काइसौं शताव्दीमा एक अर्काबीच मिलेर जानुपर्छ, युद्ध होइन, शान्ति आवश्यक छ ।’

आपसी समस्यालाइ वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गर्दे उनले थपे, ‘हामी कसैको भूमीमाथि आँखा लगाउदैनौं, हाम्रो भूमीमाथि पनि थिचोमिचो नहोस् ।’ भारत र चीन प्रति अंकित गर्दै मन्त्री भट्टराईले विश्वलाइ जित्न हिडेका शक्ति राष्ट्रले छिमेकीको सामान्य एक टुक्रा जमिनमाथी हस्तक्षप गर्न नसुहाउने बताए ।

उनले भने, ‘इतिहास हेरौं, सत्य बुझौं, इतिहासले र तथ्यले के बताउँछ त्यसकै आधारमा भूमी कसको हो एकीन भइहाल्छ ।’ नशामा एक थोपा रगत रहुञ्जेल देशको माटो मिच्न नदिने बताउँदै उनले देशको रक्षा गर्न सबै नेपाली तयार रहेको सचेत गराए ।

अनावरण गरिएको भीमसेन थापाको शालिक प्रति हेर्दै मन्त्री भट्टराइले भने, ‘कम्मरमा पटुकी र हातमा तरवार लिएर उभिनुभएको थापाको शालिकले पुर्खाले लडेर जोगाएको देश अबका पुस्ताले जोगाउन सक्छन् की सक्दैनन् भनेर हामीलाई प्रश्न गरिरहेको छ ।’ माटोको रक्षाका लागी सदैव तयार रहेको बताउँदै मन्त्री भट्टराइले त्यसका लागी एकताको खाँचो रहेको बताए ।

पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार तयार गर्नुस्: भट्टराई

भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई लक्षित गरी जिल्लामा राम्रा होटल तथा स्थलको निर्माण गर्न मन्त्री भट्टराईले सुझाव दिएका छन् । पर्यटकका लागी आवश्यक पूर्वाधार तयार गरी ऐतिहासिक क्षेत्रको पहिचान र संरक्षण गर्न उनले आग्रह गरे । भ्रमण वर्षमा करिव २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको बताउँदै उनले थपे, ‘ती मध्ये २० हजार पर्यटक गोरखा आउलान्, उनीहरुलाइ बस्ने राम्रो होटल र घुम्ने ठाउँहरु बन्नुपर्‍यो ।’

पर्यटन प्रवर्द्धनका लागि गोरखादेखि काठमाण्डौ सम्मको पुरानो पैदलबाटोलाई ‘एकीकरण पदमार्ग’ को रुपमा विकास गर्ने उनले बताए । ‘एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएको त्यो बाटोलाई एकीकरण ट्रेलको रुपमा बिकास गर्न आगामी वर्ष बजेट हाल्छौ,’ उनले भने, ‘एकीकरणको क्रममा पृथ्वीनारायण शाह कहाँ बसे, कसको घरमा बसे, के के गरे भन्ने इतिहास झल्काउँछौं ।’

गोरखादेखि धादिङ, नुवकोट, ककनी हुदै वालाजु निस्कने उक्त पदमार्ग २३ कोषको रहेको बताइएको छ । पर्यटकको गन्तव्य स्थल मनास्लु पदमार्गलाई पनि थप व्यवस्थित बनाउने उनले बताए ।

लामो समयदेखि बन्द रहेको पालुङटार विमानस्थललाई नयाँ ढंगले संचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘विमानस्थल पुनः संचालन गर्न हामीलाई बारम्वार झकझक्याइरहनु भएको छ, संचालनका लागि यस बर्ष हामीले केही रकम पनि विनियोजन गर्‍यौं,’ उनले भने ।

गोरखा दरवार पुननिर्माणमा ढिलाइ नगर्न उनले ठेकेदारलाई निर्देशन समेत दिएका छन् । ‘ऐतिहासिक महत्व भएकाले दरवार हेर्नकै लागी कतिपय पर्यटक जिल्ला आउछन्, त्यसैले जतिसक्दो चाडो यसको पुनर्निर्माण हुनुपर्छ,’ उनले भने । भूकम्पले क्षति पुगेको दरवार अहिले पुनर्निर्माण हुँदै छ ।

ठेकेदारको लापरवाहीका कारण सम्झौता म्याद गुज्रिँदा ३० प्रतिशत मात्र काम भएको छ ।

गोरखा संग्रहालयलाई थप व्यवस्थित गर्नका लागी आवश्यक सहयोग गर्ने उनले आश्वासन दिएका छन् । भीमसेन थापा स्मृती पार्कलाइ विस्तार गरी थप व्यवस्थित बनाउन समेत मन्त्रालयले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । योजनाको प्रस्ताव लिएर आउन उनले नगरपालिकालाई आग्रह गरेका छन् ।

भीमसेन थापाको शालिक अनावरण

गोरखा नगरपालिका-४ पिपलथोकमा निर्माण भएको भीमसेन थापाको शालिकको मन्त्री भट्टराईले अनावरण गरेका छन् । पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपालको पहिलो प्रधानमन्त्री समेत रहेका थापाको पूर्ण कदको शालिक निर्माण भएको हो । भीमसेन थापा स्मारक पार्कमा ठड्याइएको शालिक निर्माणका लागि मात्रै २० लाख रकम खर्चिएको वडाध्यक्ष रामशरण अधिकारीले बताए ।

मूर्तिकार नविन सुवेदीले थापाको शालिक कुदेका हुन् । पार्क र शालिक निर्माणका लागि गोरखा नगरपालिकाले ४३ लाख र डिभिजन वन कार्यालयले ११ लाख रकम उपलब्ध गराएको हो ।

११ लाख ५० हजार रकम बराबरको श्रमदान गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । पार्क निर्माणका लागि स्थानीय मकर बहादुर गुरुङले दुइ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् । उनलाइ शनिवार मन्त्री भट्टराईको हातबाट सम्मान गरिएको छ ।

भिमसेन थापाको जन्मस्थल र उनी हुर्केको ठाउँ भएकाले पार्क निर्माण गरी शालिक राखिएको बताइएको छ । पार्क निर्माण भएसँगै पर्यटन प्रवर्द्धन हुने स्थानीयले अपेक्षा गरेका छन् । भ्रमण वर्षलाइ समेत लक्षित गरी शालिक राखिएको वडाध्यक्ष अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment