Comments Add Comment

सडक : समृद्धिको गन्तव्य कि मृत्युको ?

सीमा तन्काउन गरिएका युद्धहरु सकिएपछि संसारमा शान्तिको अपेक्षा गरिएको थियो । मानिसहरुको मृत्युदर घट्ने अपेक्षा थियो । तर रोग, भोकसँगै मानवीय आविष्कार मृत्युका कारक बन्दै गएका छन् । हाम्रोजस्तो असमान भौगोलिक अवस्थिति भएका मुलुकमा सडक दुर्घटना मृत्युको कारकतत्व बन्दै गएको छ । विश्वका औद्योगिक मुलुकहरु ‘ट्रेड वार’ गर्न तम्सिँदै गर्दा हामीलाई आफ्नो सहजताका लागि बनाइएका सडकको सुरक्षाले चिन्तित बनाइरहेको छ ।

सिन्धुपाल्चोकको हृदयविदारक सडक दुर्घटनापश्चात मुलुकका प्रधानमन्त्री निदाउन नसकेको समाचार आउनुले सडक, सुरक्षा र साधनको अवस्थाप्रति गम्भीर हुन बाध्य पारेको छ ।

गत मंसिर महिनामा मात्र तीन ठूला सडक दर्घटना भए । अर्घाखाँची, गुल्मी र सिन्धुपाल्चोकमा भएका यी ठूला दुर्घटनामा ८० जनाले ज्यान गुमाए । देशभर भएका अन्य सानातिना दुर्घटनाको हिसाब नै छैन ।

प्रहरी केन्द्रीय कार्यायलको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनाका कारण ११ हजार ७२४ नेपालीले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७१/०७२ मा २ हजार ४ जनाले ज्यान गुमाएका छन् भने ०७२/०७३ मा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६ पुगेको छ ।

०७३/०७४ मा दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८४ पुग्यो । ०७४/०७५ मा यो संख्या बढेर २ हजार ५४१ पुग्यो । दुर्घटनामा परी २०७५/०७६ मा २ हजार ७८९ जनाले ज्यान गुमाए । चालु आवको कात्तिकसम्म दुर्घटनामा ८ सयको मृत्यु भइसकेको छ ।

नेपालमा बर्सेनि सडक दुर्घटनाबाट दुई हजारभन्दा बढीको मृत्यु हुँदै आएको तथ्यांकले देखाउँछ । प्रहरीको तथ्याङ्क अनुसार ०७४/७५ मा १० हजार नौ सय ६५ वटा सडक दुर्घटना भएका थिए । दुर्घटनामा दुई हजार पाँच सय ४१ जनाको मृत्यु भएको थियो । ०७५/७६ मा १३ हजार ३ सय ६६ वटा सडक दुर्घटना भएका थिए । दुर्घटनामा २ हजार ७ सय ८९ जनाको मृत्यु भएको थियो ।

दुर्घटनाको संख्यासँगै मृत्युदर बढ्दै गरेको आँकडाले देखाउँछ । । सडक दुर्घटना न्यून गर्न जति खर्च गरिएको भए पनि नतिजा शून्य हुनु अति दुःखद कुरा हो । माथिका तथ्याङ्क र अवस्थालाई हेर्दा हाम्रा सडकहरु समृद्धिका गन्तव्य हुन् कि मृत्युका भनेर सोच्नुपरेको छ । नीतिगत कडाइ र व्यवहारिक अनुगमन सडक सुरक्षाको अहिलेको टड्कारो आवश्यकता बनेको छ । यी तथ्याङ्कलाई घटाउन कठोर नीति अवलम्वन गर्दै कार्यान्वनमा जानुको विकल्प छैन ।

यस्ता ज्यानमारा दुर्घटनाका कारणहरु प्रायः सार्वजनिक यातायात सेवामुखी भन्दा पनि नाफामुखी हुनु, अस्वस्थ प्रतिस्पर्धा र छिटो पुग्ने होडवाजी नै बढी देखिन्छन् । भू–बनोट र सडकको अवस्थाकै कारण दुर्घटना बढ्ने गरेका छन् । सडकका खाल्टाखुल्टी र बनावटका कारणले पनि नेपालमा दुर्घटना हुने गरेका छन् । साथै, यहाँ वर्कसपमा मर्मत गरिएका कमसल गाडीका कारणले पनि दुर्घटना हुने गरेका छन् ।

दुर्घटनामा मानवीय कारण एक महत्वपूर्ण पाटोका रुपमा रहेको छ । त्यसअन्तर्गत चालक, यात्रु तथा मानिसको लापरवाही मुख्य कारक हो । नयाँ बानेश्वरस्थित संसद भवनको दक्षिण गेटबाट तीनकुनेतर्फ जाने ठाउँ होस् वा जावलाखेलबाट पुल्चोकतर्फ आउँदा दमकलतिर मोडिने ठाउँको पीच, जहाँको सडक जोखिमपूर्ण हुने गरी बनाइएको छ ।

नेपालको संविधानको धारा ४४ मा उपभोक्ताकोहक अन्तर्गत प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरीय वस्तु वा सेवाबाट क्षति पुगेका व्यक्तिलाई कानुनबमोजिम क्षतिपुर्ति पाउने हकको व्यवस्था गरेको छ । त्यस्तै संविधानको धारा ३० ले स्वच्छ वातावरणको हकअन्तर्गत ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने’ हकको व्यवस्था गरेको छ ।

यसका अतिरिक्त धारा ५१ राज्यका नीतिहरूभित्र नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिअन्तर्गत यातायात सुविधामा नागरिकका सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्वि गर्न र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपांगता भएका व्यक्तिअनुकूल बनाउने कुरा बोलेको छ ।

संवैधानिक र कानुनी प्रवन्धहरू हुँदाहुँदै पनि हाम्रा सडक, राजमार्ग, सवारी र यातायात व्यवस्थाले संस्कार र सभ्यताको प्रदर्शन गरेका छन् कि छैनन् र नागरिकले सुरक्षितरूपमा समयमा यातायात सुविधाको उपयोग गर्न पाएका छन् कि छैनन् भन्ने कुराले महत्व राख्छ । हाम्रा सडक र सवारी सेवा र सुविधाको बदला संकट र त्रास तथा जनताको जयान लिने पासो त बनेका छैनन् ? चिन्तन, बहस र कठोर नीतिगत सुधार गर्नुपर्ने बेला आएको छ ।

यातायात २१ औं शताब्दिको सभ्यताका रूपमा विकसित भएको छ । यसका आफ्नै तौरतरिका, नियम र पद्दति छन् । जो हामीकहाँ कमै लागू गरिन्छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, मन मन लागेको ठाउँमा रोक्ने, झार्ने, जथाभावी सडक पार गर्ने, सकेसम्म बढी भाडा असुल गर्ने, दुर्घटना निम्त्याउने आदि सांकेतिक पहिचान र पर्याय बनेका छन् । जो सडक सभ्यताले परिकल्पना गर्दैन ।

थप व्ययभारविनै सुधार्ने काम, जस्तो– रूटमा चल्ले सफारीको रोकिने स्थान पनि हल गर्दा सडक केही व्यवस्थित हुन सक्छ । तर, त्यति व्यवस्था गर्नसमेत यातायात विभाग, ट्राफिक प्रहरी असफल छन् ।

यातायात सभ्यताको अर्को महत्वपूर्ण पक्ष भनेको सवारीको स्तरीयता मापन हो । निश्चित समयावधिको सवारी साधनलाई निश्चित राजमार्गमा चलाउन पाउने वा नपाउने गरी व्यवस्थित गर्नै पर्छ । निश्चित समयमा सवारी साधनको मर्मत–सम्भार भएको ग्यारेन्टी गर्ने र मापदण्डमा नरहेका सवारी साधनलाई कडा प्रकृतिको सजायँ र दण्डको प्रबन्धबाट लापरवाही र हेलचेक्र्याइँ कम गर्न सकिन्छ । अझै अटेर गर्दा सञ्चालन अनुमति रद्द गर्नै पर्छ । कसैको व्यवसाय भन्दा नागरिकको ज्यान सरकारको प्राथमिक विषय हुनैपर्छ ।

सवारी सभ्यताका लागि सवारी कर्मचारी विशेषगरी सवारी चालकको क्षमता र सभ्यता महत्वपूर्ण हुन्छ । सवारी साधनको प्रकृतिअनुरूप चालकका उमेर, योग्यता र सीप निर्धारण गर्नुपर्छ । बीस बर्र्षे ठिटोलाई टिप्पर चलाउन दिएपछि मोटरसाइकल र स्कुटरलाई नउछिनी उसको मनले मान्दैन, अनि दाइँ लगाउँदै हुइँकिन्छ ।

निश्चित रुटमा सवारी चलाउन त्यही रुटमा सवारी चलाइरहेका चालकमात्र प्रयोग गर्नुपर्ने बाध्यकारी व्यवस्था हुनुपर्छ । विशेषगरी नयाँ ठाउँमा भ्रमण, धार्मिक यात्रा, पिकनिक वा विवाहमा जाँदा धेरै दुर्घटना भएका उदाहरण छन् । सवारी चालक, सहचालक र परिचालकलाई सुरक्षित सवारीसम्बन्धी तालिमको अनिवार्यता गर्नुपर्छ ।

अर्को थप कुरा के छ भने सवारी साधन आफैंमा स्तरीय देखिने, सरसफाइयुक्त, धुलो र धुवाँमुक्त हुन आवश्यक हुन्छ । सवारीभित्र फोहोर राख्नका लागि डस्टविन प्रयोग गर्ने बानी विकास गर्नुपर्छ । यात्रुले प्रयोग गरेका बोतल र प्लास्टिकलगायतका सामग्री सवारीबाट बाहिर फाल्दा दुर्घटनाका खतराका साथै सडक सभ्यतामा स्खलन भएको छ ।

सवारी साधनभित्र सभ्य सवारी संस्कृति विकास गर्न यातायात व्यवहार र संस्कारमा रूपान्तरण हुनु जरुरी छ । यसको अनुगमन पनि आवश्यक छ ।

यातायात कर्मचारीका भाषा, संस्कार र सभ्यताले यात्रालाई सहज अथवा विरक्त बनाउँछ । सवारी साधनको सफाइ र आकर्षणले यात्रु मोहित हुन्छन् । सार्वजनिक सवारी साधनमा आफूखुसी कसैलाई लक्षित गरी वा लैंगिक वा अन्य हिंसाजन्य अभिव्यक्ति लेख्न रोक लगाउनुपर्ने अवस्था छ । सवारी साधनमा के मात्र लेख्ने र त्योबाहेक लेख्न नपाउने गरी कडाइ आवश्यक देखिन्छ । यात्रुको समेत सचेतना र सकारात्मक संस्कार र सभ्यताले यातायात सभ्यता बढाउन सहयोग गर्छ ।

अन्त्यमा, सडक तथा सवारी दुर्घटनाले हाम्रो सवारी तथा यातायात सभ्यतालाई सदैव गिज्याइरहेको छ । सवारी दुर्घटनाबाट हुने जनधनको क्षति अन्य प्रकारका दैवी र प्राकृतिक विपत्तिको क्षतिभन्दा ठूलो छ ।

मुलुक समृद्धिको यात्रामा गुडिरहेका बेला अब बन्ने पूर्वाधार जनताको ज्यान जोखिममा हाल्नेखालका नबनुन् भनेर होसियार हुनुपर्छ । सवारी साधान आयात गर्दा भौगोलिक अवस्थाको अध्ययन र अनुमतिसहित गराउनुपर्छ जसले गर्दा जनताको ज्यानमा मृत्युको बादल न मडारियोस् ।

( बराल विद्यार्थी नेतृ हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment