Comments Add Comment

चितवन राइनोज फाइनल नजिक, बुटवल ब्लास्टर्स प्लेअफमा

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल)को पहिलो संस्करणमा चिवतन टाइगर्स र बुटवल ब्लास्टार्स शुरुवाती दुई खेलमा अवस्था फरक थियो ।

सोमपाल कामी नेतृत्वको बुटवलले शुरुवाती दुई खेल जित्दै प्लेअफ यात्रा बलियो बनाएको थियो । तात्कालीन राष्ट्रिय टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले शुरुवाती दुई खेल हार्‍यो ।

तर त्यसपछि भने दुवै टिमको प्रदर्शनमा फरक आयो । बुटवल बाँकी लगातार तीन लिग खेल हार्दै लिगबाटै बाहिरियो भने चितवनले लिगमा बाँकी रहेको लगातार तीन खेल जित्दै प्लेअफमा स्थान बनायो ।

दोस्रो संस्करणमा भने दुवै टिमले एकै दिन प्लेअफमा स्थान पक्का गर्‍यो । पारस खड्काको चितवनले लिगमा लगातार चार खेल्दै ८ अंक जोडेको छ र एक खेल अघि नै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

लिगमा सहभागी ६ टोलीमध्ये शीर्ष स्थानमा रहने टोली सिधै फाइनल पुग्नेछ । अन्तिम खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई पराजित गरेमा चितवन अपारजित रहँदै फाइनल पुग्नेछ । यदि काठमाडौंसंग हारेपनि दोस्रो स्थानको बुटवल विराटनगर टाइटन्ससँग पराजित भए चितवन शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ ।

यस्तै सोमपालको बुटवलले लिगमा तेस्रो जित जित्दै कम्तिमा शीर्ष तीनमा स्थानमा स्थान पक्का गरेको छ । बुटवलले लिगमा चार खेल खेल्दा ३ खेल जितेको छ भने चितवनसंग मात्र हारेको छ

अब लिगमा अन्तिम चरणका तीन खेल बाँकी छ ।

र चितवन र बुटवल बाहेक बाँकी चारवटै टिमको प्लेअफ सम्भावना कायमै छ र चार टिम मध्ये एक टिम शीर्ष तीनमा रहँदै प्लेअफमा पुग्नेछ । यसमा सबैभन्दा अगाडि छ राष्ट्रिय टिमका वर्तमान कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्स वारियर्स ।

चार खेल खेलिसकेको काठमाडौंले दुई जित र दुई हारपछि ४ अंक जोडेको छ । गत वर्षको विजेता पोखरा पल्टन, धनगढी ब्लुज र विराटनगर टाइटन्सको एक जितबाट समान २ अंक छ ।

लिगमा अब काठमाडौंले चितवनसँग खेल्नेछ । यदी उक्त खेल काठमाडौंले जितेमा काठमाडौं प्लेअफ पुग्नेछ भने बाँकी दुई खेलको नतिजा जस्तो आएपनि अन्य तीन टिम बाहिरिनेछ । यदि काठमाडौं पराजित हुने र अन्य टिमले जित हात पारेमा समान ४ अंक हुनेछ यस्तोमा नेटरनरेट निर्णायक बन्नेछ । काडमाडौंको रनरेट राम्रो रहेकोले पराजित भएपनि शीर्ष तीनमा रहने सम्भावना कायमै छ ।

गत सिजन प्लेअफ खेलेका तीन ए टिम मात्र यस सिजन प्लेअफ पुगेको छ ।

लोकेशले ६२ रन बनाउँदा पनि विराटनगर पराजित

लोकेश बामले आठौं नम्बरमा ब्याटिङ गर्दै ६२ रन बनाएपनि विराटनगर टाइटन्स चितवन राइनोजसँग १८ रनले पराजित भयो । ८.२ ओभरमा ३७ रन बनाउदा ६ विकेट गुमाएको विराटनगर फराकिलो हारतर्फ अग्रसर भइरहेको थियो। तर यस सिजन पहिलो खेल खेल्न पाएका लोकेश बामले आठौं नम्रमा ब्याटिङ गर्दै शानदार इनिङ्स खेले ।

सातौँ विकेटका लागि पुनित मेहरासंग अर्धशतकीय साझेदारी गर्दै लोकेशले विराटनगरलाई जिततर्फ डोहोर्‍याएका थिए । तर दुवै खेलाडी आउट भएपछि विराटनगरले हार बेहोर्‍यो । यद्यपि लोकेशको इनिङ्स भने सम्झनलायक बन्यो । उनले ३५ बल खेल्दै ५ चौका र ५ छक्का प्रहार गरे । पुनित मेहरासँग सातौँ विकेटका लागि ७७ रनको साझेदारी गरे ।

पुनितले २४ रन जोडे ।

चितवनले दिएको १४७ रनको लक्ष्य पछ्याएको विराटनगर अन्तत १९ ओभरमै १२८ रनमा अलआउट भयो । लोकेश र पुनित बाहेक नमन खानले १८ रन बनाए भने बाँकी ८ खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

चितवनका करण केसी र भुवन कार्कीले ३-३ विकेट लिए ।

त्यसअघि सन्नी पटेल र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दा चितवनले २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो । यी दुईले पाँचौ विकेटका लागि अविजित ५४ रनको साझेदारी गरे । आरिफले २२ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ३९ रन बनाए । सन्नीले ८ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा २७ रन बनाए । दुवै अविजित रहे ।

यस्तै कप्तान पारस खड्काले ३५ र बाबर हायतले २५ रन जोडे भने रोहन मुस्ताफा ७ र अनिल शाह ३ रन बनाएर आउट भए ।

बुटवल विजयी

बुटवलको लागि प्लेअफमा स्थान बनाउन आइतबारको खेल महत्वपूर्ण थियो । यस्तोमा ललित भण्डारी र अभिनाश बोहराको शानदार बलिङ अनि अफ्ताबुद्दिनको अर्धशतकमा धनगढी ब्लुजलाई ७ विकेटले पराजित गर्दै लिगमा तेस्रो जित हात पार्‍यो ।

पहिले ब्याटिङ गरेको धनगढीले कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक मद्दतमा एक बल अगावै १४० रनमा अलआउट भएको थियो ।

बुटवलका लागि अभिनाश बोहरले ४ तथा ललित भण्डारीले ३ विकेट लिए । अभिनाशले ३.५ ओभरमा २६ रन खर्चे भने ४ ओभर बलिङ गरेका ललितले १९ रन मात्र खर्चे ।

१३ रनमै ३ विकेट गुमाएको धनगढीका लागि कप्तान दीपेन्द्र र सन्दीप जोराले इनिङ्स सम्हाले । दुईले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे । तर त्यसपछि लगातार विकेट जाँदा धनगढीले ४० रन थप्दा ७ विकेट गुमायो । दीपेन्द्रले ४५ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ६२ रन बनाए। सन्दिप जोराले ३२ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडे। यस्तै सौरभ खनालले १० रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।

१४१ रनको लक्ष्य पछ्याउने क्रममा अफताबुद्दिन अहेमद र शंकर रानाले बुटवललाई शानदार शुरुवात दिलाए । यी दुईले पहिलो विकेटका लागि ४.४ ओभरमै ५३ रनको साझेदारी गरे । जसमध्ये अफ्ताबुद्दिन एक्लैले ५२ रन बनाए । उनले २३ बल खेल्दै १ चौका र ७ छ्क्काको मद्दतमा ५२ रन बनाएका हुन् ।

त्यसपछि शंकर राना र हर्स टोन्कले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । टोन्कले २१ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा ४० रन जोडे । दुई ब्याट्सम्यानले आक्रामक इनिङ्स खेलेर आउट हुँदा पनि क्रिजमै रहेका शंकर रानाले ३१ बल खेल्दै २५ रन योगदान गरे । त्यसपछि बुटवललाई जितसम्म पुर्‍याउन सिवम सिंहले अविजित १५ रन बनाए । उनले ११ बल खेल्दै २ चौका प्रहार गरे । धनगढीका लागि अनिल खरेलले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।

पीपीएलमा बाँकी लिग खेलहरु
सोमबार : धनगढी ब्लुज भर्सेस पोखरा पल्टन
मंगलबार : चितवन राइनोज भर्सेस काठमाडौं गोल्डेन वारियर्स
बुधबार : बुटवल ब्लास्टर्स भर्सेस विराटनगर टाइटन्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment