Comments Add Comment

बसको ठक्करबाट छात्राको ज्यान गयो, सुकेधारा-चाबहिल क्षेत्रमा तनाव

आक्रोशित समूहले आगजनी गरेको बस । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

७ पुस, काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेकाे आगजनी र प्रदर्शनबाट सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ ।

भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो ।

गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको ज्ञवालीले बताए । उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन गर्दथिन् ।

पन्तको मृत्युपछि पशुपति क्याम्पसका विद्यार्थीहरुले चाबहिल मित्रपार्क क्षेत्रमा प्रदर्शन गरे । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं-भक्तपुर रुटमै चल्ने बा ४ ख ७१०४ नम्बरकाे अर्काे बसमा आगजनी गरेका हुन् । आगलागीबाट बस पूर्ण रूपमा नष्ट भएको छ । साथै आगोको लप्काले एक घरमा पनि सामान्य क्षति पुगेको छ ।

आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

विद्यार्थीको प्रदर्शनपछि अहिले यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । पसलहरु पनि बन्द छन् । प्रहरीका अनुसार, अवस्था नियन्त्रणमा लिएर सवारी आवागमन पूर्ववत अवस्थामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment