Comments Add Comment

ह्वाइट हाउसले युक्रेनको सहायता रोक्न निर्देशन दिएको खुलासा

७ पुस, काठमाडौं । ह्वाइट हाउसले युक्रेनलाई दिँदै आएको अमेरिकी सहायता रोक्का गर्न निर्देशन नै दिएको खुलासा भएको छ ।

युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडनमाथि छानबिन गरेमात्रै अमेरिकी सहयोगले निरन्तरता पाउने बताएको आरोपमा डेमोक्र्याटहरूले लगाउँदै आएका छन् । बाइडन सन् २०२० को राष्ट्रपतीय चुनावमा ट्रम्पका प्रमुख प्रतिद्वन्द्वी हुन् ।

आफ्ना प्रतिद्वन्द्वीलाई तह लगाउन पद दुरुपयोगको अभियोगमा अमेरिकाको तल्लो सदनबाट ट्रम्पमाथि हालै महाभियोग लागेको छ । ट्रम्प तल्लो सदनबाट महाभियोग लाग्ने अमेरिकी इतिहासकै तेस्रो राष्ट्रपति बनेको केही दिनपछि नै ह्वाइट हाउसले त्यस्तो प्रक्रिया थालेको विवरण बाहिरिएको हो ।

बीबीसीका अनुसार, ट्रम्पले गत जुलाईमा आफ्ना युक्रेनी समकक्षीसँग टेलिफोन वार्ता गरेको केहीबेरमै युक्रेनलाई दिँदै आएको सहायता रोक्ने प्रक्रिया सुरु गरिएको थियो । फोनवार्तालगत्तै ह्वाइट हाउसले युक्रेनलाई दिइने सहायता रोक्का गर्न भनेको इमेलमार्फत खुलेको समाचारमा उल्लेख छ ।

अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी मुद्दाबारे अदालतले गरेको फैसलापछि सेन्टर फर पब्लिक इन्टिग्रिटीले त्यस्तो इमेल पाएको थियो । जसमा ट्रम्पले युक्रेनी समकक्षीसँग कुरा गरेको ९१ मिनेटपछि नै ह्वाइट हाउसका वरिष्ठ अधिकारी माइक डफेले सहायता रोक्का गर्ने विषयमा सम्पर्क गरेको तथ्यहरू भेटिएका छन् ।

अमेरिकी राजनीति पछिल्ला केही महिनादेखि ट्रम्पको यही टेलिफोन वार्ताको वरिपरि घुम्दै आइरहेको छ । पद दुरुपयोग गर्दै आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई तह लगाउन खोजेको अभियोगमा उनले तल्लो सदनबाट महाभियोग झेलिसकेका छन् । अब उनले त्यहाँको माथिल्लो सदनमा यो अभियोगको सामना गर्नेछन् । यद्यपि, माथिल्लो सदनमा रिपब्लिकन दल बलियो रहेकाले तल्लो सदनमा जस्तो महाभियोग लागेर पदबाट बाहिरिनुपर्ने सम्भावना भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment