Comments Add Comment

तीन जनाको हत्या गरेर फरार रहेका प्रतिवादी ३२ वर्षपछि पक्राउ

७ पुस, जनकपुरधाम  । एकै परिवारका तीन जनाको हत्या गरी ३२ वर्षदेखि फरार रहेका एक जना प्रतिवादी सिराहामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविकको लगडिगदियानी गाविस ६ (हाल सिराहा नगरपालिका २०) निवासी ६८ वर्षीय हिरबा सहनी छन् । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टोलीले सहनीलाई घरबाटै पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रहरीका अनुसार सहनीले २०४४ सालमा तत्कालिन कृष्णपुर गाविस ८ (हाल अर्नमा गाउँपालिका ५) बस्ने जगदेव यादवका दुई छोरा र एक नातिनीको हत्या गरेका थिए ।

२०४४ साल पुस १३ गते जगदेवका छोरा रामनाथ र रामचन्द्रलाई गोली हानी हत्या भएको थियो । यो घटना गरेको चार दिनपछि उनका ६ महिनाकी नातिनीको पनि गागन खोलामा हत्या भएको थियो ।

तीनै जनाको ज्यान मुद्दाको फैसला जिल्ला अदालतमा २०६० साल माघ १८ गते भएको थियो । उक्त फैसलाको लगत नम्बर २२२० मा १० वर्ष र लगत नम्बर २२२३ नम्बरमा २० वर्ष गरी ३० वर्ष कैद सहनीलाई तोकिएको थियो ।

पक्राउ परेका सहनीलाई जिल्ला अदालतमा पेश गरेपछि सिराहा कारागारमा चलान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment