Comments Add Comment

नरेन्द्र मोदीलाई पाँचौ धक्का, झारखण्डमा १७ वर्षे सत्ता ढल्यो

७ पुस, काठमाडौं । नागरिकता कानुन संशोधनविरुद्ध भारतब्यापी आन्दोलन खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई झारखण्डको चुनावले धक्का दिएको छ । महाराष्ट्रको चुनावमा पराजयलगत्तै भाजपाले १७ वर्षसम्म शासन गरेको झारखण्ड पनि गुमाउनुपर्ने अवस्था आएको हो ।

आठ महिनाअघि भएको लोकसभा चुनावमा एक्लै अत्यधिक बहुमतका साथ दोस्रो पटक प्रधानमन्त्री बनेका भाजपाका मोदीले क्षेत्रीय पार्टीहरुलाई दमन गर्न खोज्दा एकपछि अर्को ठूला राज्यमा उसले सत्ता गुमाउँदै गएको विश्लेषण गरिएको छ ।

झारखण्ड राज्य सरकारका लागि भएको चुनावमा सोमबार साँझसम्मको मतगणनामा झारखण्ड मुक्ति मोर्चा र कांग्रेसको गठबन्धनको बहुमत निश्चित भएको छ । कुल ८१ सिटका लागि भएको निर्वाचनमा बहुमत सिटमा अगाडि छ ।

भाजपाले पछिल्लो समय ठूलो जनसंख्या भएका महाराष्ट्र, केरला, राजस्थान, मध्यप्रदेश जस्ता राज्य गुमाएपछि झारखण्डमा समेत पराजय भोगेको छ । स्थानीय दलहरुसँग भाजपाको मतभेद र उनीहरुलाई नजरअन्दाज गर्दा मोदीले एकपछि अर्को पराजय ब्यहोर्नुपरेको विश्लेषकहरुले बताएका छन् ।

झारखण्ड चुनावमा भाजपा पराजयको असर अर्को वर्ष हुने विहारको चुनावमा पनि पर्ने आँकलन गरिएको छ । विहार र झारखण्ड जोडिएका प्रदेश हुन् । झारखण्ड भारतको २८ औं राज्य हो,जुन स्थापना भएको १९ वर्षमध्ये १७ वर्ष भाजपाले शासन गर्दै आएको थियो ।

बिजेपी शासनकालमा झारखण्डमा सबैभन्दा बढी किसानले आत्महत्या गरेको र महिलामाथि सबैभन्दा बढी अत्याचार हुने राज्यमा झारखण्ड पहिलो नम्बरमा आएको तथ्यांकसमेत सार्वजनिक भएको थियो । भारतीय राजनीतिक विश्लेषकहरुले लोकसभा चुनावको अति आत्मविश्वासका कारण ठूला राज्यहरु गुम्दै गएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment