Comments Add Comment

मार्क्सको विद्रूपीकरण : पियक्कड, पुरुषवादी !

चर्चित नाट्यकर्मी सुनील पोखरेल नेपाल प्रज्ञा प्रतिष्ठानमा तीन दिनसम्म कार्ल मार्क्सका रुपमा प्रस्तुत भए । पुस १ देखि ३ गतेसम्म त्यहाँ ‘मार्क्स फर्किए’ नाटक देखाइएको थियो । नाटकमा पोखरेलले कार्ल मार्क्सको अभिनय गरेका थिए ।

नेकपाका वैचारिक नेता घनश्याम भुसाल र राम कार्कीहरु आवद्ध रहेको कार्ल मार्क्स द्विशतवार्षिकी समारोह र नेपाल अध्ययन केन्द्र समितिको अगुवाइमा नाटक देखाइएको हो । १० हजार युवालाई मार्क्सवाद पढाउने लक्ष लिएको संस्याले यस नाटकमा नेकपाका नेताहरुदेखि कलेजका विद्यार्थीसम्मलाई दर्शक बनाएर कार्ल मार्क्स र उनका विचारप्रति आकर्षण जगाउने प्रयास गर्‍याे ।

अमेरिकी समाजवादी लेखक हावर्ड जीनको ‘मार्क्स इन सोहो’ बाट अनुदित यो नाटकका कतिपय प्रशंगहरु नेपालीकरण गरेर मञ्चन गरिएको हो । विदेशमा एकल अभिनय भएता पनि नेपालमा भने कलाकारको संख्या थपेर नेपाली मौलिकता दिने प्रयास गरिएको थियो । तर, यति हुँदाहुँदै पनि सुनील पोखरेलले व्यक्त गरेका नाटकका सम्वादहरु पूर्णतः ‘मार्क्स इन सोहो’ कै अनुदित उद्धरणहरु हुन् ।

नाटक मञ्चनको सवा घण्टाको वीचमा मार्क्सकै मुखबाट उनले जीवित हुँदा पाएका दुःख कष्ट एवं संघर्षका कथाहरु सुन्न पाइन्छ । कार्ल मार्क्स (सुनील पोखरेल) स्वर्गबाट फर्किएर लण्डनको सोहोस्थित आफू बसेको फ्याटमा आउन चाहन्छन् । तर, यमदूतहरुका साथमा आएका उनी नेपालमा पो आइपुग्छन् ।

त्यसपछि प्रवीण खतिवडाले मार्क्सलाई नेपालमा एक घण्टा बिताउन आग्रह गर्छन् । सवा घण्टाको नाटकमा मार्क्सले आफ्नो कष्टकर जीवनकथा सुनाउँछन् । र, त्यसपछि दूतहरुले उनलाई टिपेर लैजान्छन् । नाट्यवस्तुको छेऊटुप्पो यत्ति हो ।

अब चर्चा गरौं, सुनील पोखरेलले बोलेको सम्वादको ।

‘म मार्क्सवादी हैन नि’ भन्दै मञ्चमा प्रस्तुत भएका पोखरेलले मार्क्सका बारेमा दर्शकहरुलाई यसरी बताउने प्रयास गरे :
हामी लण्डनको सोहोमा बस्थ्यौं, जेनी, म र केटाकेटीहरु डाउन स्ट्रिटको एउटा फ्ल्याटमा बस्थ्यौं । बाहिर शहरभरिको फोहोर थुपारिएको हुन्थ्यो । म महादेशबाटै निस्काशित भएको थिएँ । म आफ्नो जन्मभूमिबाट निकालिएको थिएँ, किनभने मैले खतरनाक काम गरेको थिएँ ।

म ‘द राइनिश र जाइटुङ’ नामक अखबारमा काम गर्थें ।

मेरो विचारमा सबभन्दा क्रान्तिकारी काम गर्नु भनेको त सत्य बोल्नु हो नि हैन र ? अधिकारीहरुले हाम्रो अखबारलाई सेन्सर गर्ने कोसिस गरे । मैले जर्मनीमा प्रेस स्वतन्त्रता छैन भनेर लेखें । त्यसपछि उनीहरुले पत्रिकामाथि प्रतिबन्ध लगाए । त्यसपछि चाहिँ हामी साँच्चै उग्र भयौं । हामीले जाइटुङको अन्तिम अंकमा रातोमसीले ‘विद्रोह’ भनेर लेख्यौं । त्यसले अधिकारीहरुलाई झन् चिढ्यायो ।

तपाईको (नेपालका) सडकका गल्लीहरु हुँदै आउँदा मैले त्यही देखें, घरहरु सड्दै गरेका, विद्यालयहरु सड्दै गरेका, अस्पताल सड्दै गरेका । अलि पर गएपछि मैले फरक दृश्य देखें । मानिसहरु सम्पत्तिले भरिपूर्ण । महिलाहरु प्रशस्त गहनाले सजिएका । अलि पर सडकमा प्रहरीको साइरनको आवाज सुनियो । कतै, कुनै हिंसाको घटना या अपराध त भइरहेको थिएन ? कतै कुल ग्राहस्थ उत्पादन कानूनीरुपमा हत्याएकाहरुका तर्फबाट कसैले गैरकानूनी रुपमा आफ्नो हिस्सा त खोसिरहेको थिएन ?

वा ! बजार व्यवस्थाको चमत्कार ! मानिसहरु कमोडिटी अर्थात वस्तुमा परिणत भएका । र, उनीहरुको जीवन सुपर कमोडिटी अर्थात् पैसाद्वारा नियन्त्रित भैरहेको ।

कमिटीलाई यो कुरो मन परेन !
यो पनि पढ्नुहोस ‘म मरेकै हुँ, जिउँदै पनि छु ! यो द्वन्द्ववाद हो !’

(प्रवीण खतिवडा थप्छन्– कमिटीलाई मन नपरेर केही हुँदैन कामरेड, तपाईले घोषणापत्रमा लेख्नुभएकै छ नि, कमिटी भनेको पुँजीपति वर्गको दैनिक कार्यको प्रवन्ध गर्ने एउटा आधुनिक राज्यसत्ता मात्रै हो ।)

कम्युनिष्ट घोषणापत्र पढ्नुभएको छ ?

(प्रवीणको जवाफ–तपाईले लेख्नुभएका, छापिएका खोजेर पढ्ने जमर्को गर्‍या छौं । तर तपाईको जिन्दगीका नलेखिएका पाटाहरु केही पनि जान्दैनौं कामरेड )

०००

सोहोको त्यो सानो फ्याल्टमा जेनीले तात्तातो सुप उमाल्थिन् र आलु उसिन्थिन् । गल्लीको छेवैका एउटा साथीको पसलबाट ल्याइएको ताजा पाउरोटी खान्थ्यौं । टेबुल वरिपरि बसेर खाना खाँदै हामी तत्काल घटिरहेका घटनाबारे छलफल गथ्र्यौं । आइरिस स्वतन्त्रता संग्राम, पछिल्लो युद्ध, देशका नेताहरुको मूर्खता, गनगन, गुनासो र विन्तीभाउमै व्यस्त प्रतिपक्ष, काँतर प्रेस । मेरो विचारमा अहिलेको समय अलि फरक छ क्यारे है !

(प्रवीण थप्छन्– उस्तै उस्तै हो । अझ तपाईका कुरा सुन्दा त हामी झन् पहिलाभन्दा ध्वस्त भएर जाँदै छौं कि जस्तो पो लाग्न थाल्यो ।)

रातभरि काम गर्न बस्थें । टेबुलमा छेउमा ब्राण्डीको गिलास । अर्कोतिर किताबहरुको थुप्रो । जेनी मेरा रद्दी अक्षरहरु अर्को कापीमा सार्थिन् ।….

कहिलेकाहीँ संकट आइलाग्थ्यो । सामानहरु बन्धकी राख्थ्यौं ।
(मार्क्सले जाडोमा कोट नभएको, जुत्ताको अभाव, खाद्यान्नको अभाव हुँदा एङ्गेल्सले ब्राण्डी पठाइदिएको र क्रिसमस मनाएको प्रशंग सुनाउँछन् । धर्मबारे चर्चा हुन्छ । त्यसअघि मार्क्सले आफ्नो मित्र पेपरले दास क्यापिटल अंग्रेजीमा अनुवाद गर्न खोज्दा नदिएको र माक्सवादी सोसाइटीमा आफू सहभागी हुन नमानेको प्रशंग सुनाउँछन् ।)

हो, मैले धर्म जनताको अफिम हो भनें । तर, किन भनें ? त्यो पूरा परिच्छेद पढ्ने दुःख कसैले गर्‍या छ अहिलेसम्म ?

अफिम रोगै निको पार्ने औषधि त होइन । तर, यसले दुःख र पीडाबाट केहीबेरका लागि भए पनि मानिसलाई मुक्त पार्न सक्छ । पीलो आएका केला मैले थाहा पाएको छैन र ? यो संसारै एउटा डरलाग्दो पीलोबाट सताइएको छैन र ? पुँजीवादको पीलो, उपभोक्तावादको पीलो, यो वादको पीलो, त्यो वादको पीलो, अपवादको पीलो ।

०००

म जेनीलाई सम्झिइरहन्छु, कसरी उनले आफ्ना सामानहरु बाँधिन् र आफ्ना दुई छोरीहरु जेनी र लाउरालाई लिएर, इङलिस च्यानल पार गरेर लण्डन आइन् । अनि त्यो सोहोको अभाव र गरीवीले भरिएको घरमा अरु तीनजना बच्चाहरु जन्माइन् । उनीहरुको हेरविचार गरिन् । माया र स्नेहहरु हुर्काइन् । र, त्यो एकपछि अर्को मर्दै गरेको… गुए डो भर्खर बामे सर्दै थियो । फ्रान्सिस का एक वर्षजति बाँचिन् होला । एडगरको कात्रो किन्न मैले तीन पाउण्ड सापटी मागें । … ८ वर्षजति बाँच्यो । तर, उसमा सुरुदेखि नै केही समस्या थियो । उसको सुन्दर र ठूलो टाउको थियो, तर उसको शरीर बढ्दै बढेन । ऊ मर्दा हामी उसको लासको वरिपरि बिहान नहुञ्जेलसम्म बसिरह्यौं ।

एलिनोर टुसी जन्मेका बेला हामी डराएका थियौं । तर, यो केटी जब्बर थिई । राम्रो के भएको थियो भने उनका दुईजना दिदीहरु पनि मुस्किलले बाँचेका थिए । जेनी पेरिसमा जन्मिइन् । पेरिस प्रेमीहरुका लागि अदभुत शहर हो, तर केटाकेटीहरुका लागि होइन ।

लाउरा ब्रसेल्समा जन्मिइन् । ब्रसेल्समा कसैले पनि जन्म लिनु नपरोस् ।

लण्डनमा हामीसँग पैसा हुँदैनथ्यो । तर, हरेक हप्ता हाम्रो आइतबारे पिकनिक हुन्थ्यो । हामी हरेक हप्ता ग्रामीण क्षेत्र घुमेर आउँथ्यौं । म, जेनी, केटाकेटीहरु र लेन्ञ्चेन । लेञ्चेनले मासु रोष्ट गर्थिन् । एलिनोर सबैभन्दा सानी थिइन्, तर उनी वियर खान्थिन् । पैसा हुँदैनथ्यो, तर छोरीहरुलाई छुट्टी चाहिन्थ्यो ।

( मार्क्सले यहुदीको आलोचना गरेकोमा छोरी टुसीले विरोध गरेको प्रशंग नाटकमा प्रस्तुत छ । दुई आइरिस विद्रोहीलाई झुड्याइएको र टुसी रोएको मार्क्स सुनाउँछन् ।)

(१४ वर्षकी छोरी टुसी चलाख रहेको र प्रेममा मूर्ख रहेको प्रशंग सुनाउँदै) उनी घरमा आउने कुनै पनि सुन्दर र चल्तापूर्ता युवकप्रति आकर्षित भइरहन्थिन् । टुसी राजनीतिमा चलाख र प्रेममा मूर्ख रहिरहिन् ।

जेनीले घण्टा घण्टामा मेरो पीलो सेकिदिन्थिन् । कहिलेकाहिँ जेनी नभएका बेला लेञ्चेनले सेकिदिन्थिन् । सोहोमा हामी दयनीय अवस्थामा बाँचिरहेका थियौं, त्यहीबेला जेनीकी आमाले केटाकेटीहरुको हेरविचारमा सहयोग पुग्छ भनेर लेञ्चेनलाई पठाइदिनुभो । हामीले घरका सबै फर्निचरहरु बन्धकीमा राखेका थियौं, तर उनी घरेलु कामदार हुन आइपुगिन् । कुलीन परिवारमा बिहे गरेपछि यस्तो हुन्छ नै । जेनीकी आमाले लेञ्चेनसँगै हामीलाई चाँदीका केही भाँडाकुँडा र सुतीका तन्नाहरु पनि पठाइदिनुभएको थियो । तर, लेञ्चेन घरमा घरेलु कामदारका रुपमा कहिल्यै रहनिन् । जेनीले उनलाई असाध्यै माया गर्थिन् र जेनी विरामी पर्दा उनले जेनीका सबै आवश्यकताहरु पूरा गर्थिन् ।

तर, उनको उपस्थितिले जेनी र मेरो सम्बन्धमा तनाव पैदा गर्‍याे ।

१८५८ मा लण्डनका सडकहरु कस्ता थिए, कल्पना गर्न सक्नुहुन्छ ? केही पैसाका लागि टोकरीमा सामान बेचिरहेका केटीहरु, बाँदर डोर्‍याइरहेका मदारीहरु, आगो निल्नेहरु, जादुगरहरु, यौनकर्मीहरु, बाजा बजाउनेहरु, गीत गाउनेहरु, आइरिस गीती कथा गाउँदै मागिरहेका केटीहरु… म यो सबै देख्थें । अनि विषाक्त हावा खाँदै लण्डनका नमीठो गन्धले भरिएका गल्लीहरु हुँदै आफ्नो घर फर्कन्थें । फोहोरको डंगुरलाई पार गरेर भर्खरै बलेका सडक बत्तीहरुको मुनि हिँड्दै म उता धनीहरुको बस्तीमा टायल छापिएको…।

(मार्क्सले लेखेको पुँजी मजदुरले नबुझ्ने र निरस रहेको जेनीको भनाइ सुनाउँदै) किताव लामो छ, विस्तृत छ, निरस छ । तिमीले आफ्ना मजदुर साथीहरुलाई यो किताब उपहार दिन्छौ नि, एउटा तन्नम बाहुनलाई हात्ती उपहार दिएजस्तै लाग्छ ।

यो कम्युनिष्ट घोषणापत्र जस्तो किताब होइन नि, यो त विश्लेषण हो ।

(जेनी भन्छिन्– विश्लेषण नै होस् न त, यसले पनि कम्युनिष्ट घोषणापत्रले जस्तै चिच्याउनुपर्छ । युरोपलाई एउटा भुतले तर्साइरहेको छ, कम्युनिज्मको भुतले । हो, पाठकलाई यसले उत्तेजित बनाउँछ । यो (पुँजी) किताब किन छाप्न दिए होला ? किनकि उनीहरुले बुझ्दै बुझेनन् ।…. तिमी लोग्नेमान्छेहरु आफ्नो काम आलोचनायोग्य छ भनेर स्वीकार्दै स्वीर्कादैनौ ।)

०००

त्यो समय जेनी असाध्यै खराब अवस्थाबाट गुज्रिइरहेकी थिइन् । त्यसको कारण मै थिएँ । तर, उनको बेदना कम गर्ने उपाय मलाई थाहा थिएन । तपाईहरुको एउटा कुरा बुझ्नुपर्छ, जेनी र म प्रेममा पर्दा म १७ वर्षको र जेनी १९ वर्षकी थिइन् । त्योबेला उनी बिछट्टै सुन्दरी थिइन् । बाक्लो कपाल, गाढा आँखा । कुनै कारणले उनको परिवारले मलाई मन परायो । कूलीनहरु वौद्धिक मान्छेलाई मन पराउँछन् । जेनीका बुबा र म ग्रीक दर्शनमाथि घण्टौंसम्म छलफल गथ्र्यौं ।

म जर्मनीबाट निकालिँदा जेनी पनि मसँगै पेरिस आइन् । हामीले बिहा गर्‍याैं । त्यहाँ उनले जेनी र लाउरालाई जन्माइन् । पेरिसमा हामी सुखी थियौं, खुशी थियौं । हाम्रो बाँच्ने कुनै आधार थिएन, हामी साथीहरुलाई क्याफेमा गएर भेट्थ्यौं । उनीहरुसँग पनि बाँच्ने आधार थिएन । हाम्रो यस्तै किसिमको एउटा समूह थियो । अराजकतावादी बाकुकिन, शान्त कवि हाइने, सुन्दर नास्तिक एङगेल्स, पूर्णरुपले अमिल्दो सुप्रिनर र प्रुधो । प्रुधो सम्पत्ति भनेको चोरी हो भन्थ्यो, तर, नजानिँदो पाराले सम्पत्तिको लोभ पनि गथ्र्यो ।

त्यसपछि हामी लण्डन आयौं । दुईटा छोरीहरुका साथ । पेरिसमा गरीब हुनुको एउटा अर्थ हुन्छ भने लण्डनमा अर्कै अर्थ हुन्छ । हामी लण्डनमा बसाइँ सरिसकेपछि जेनी गर्भवती भइन् ।
कहिलेकाहीँ मलाई लाग्छ, सोहोको त्यो ओसिलो, चिसो फ्ल्याटमा आफ्ना बच्चाहरुलाई हुर्काउनुपरेको र सधैं कोही न कोही बिरामी भइरहेको कारण मलाई दोष दिइन्छ । जेनीलाई बिफरले भेट्टायो । उनी निको भइन् । तर, उनको अनुहारमा बिफरका दागहरु देखिए । मैले उनलाई तिमी पहिलेजत्तिकै सुन्दर छ्यौ भनेर सम्झाउने लाख कोसिस गरें, तर, मेरो उपाय काम लागेन । जेनीले मेरा लागि जे गरिन्, जति कष्ट सहिन्, त्यसको कतै केहीसँग तुलना हुन सक्दैन । मैले अरु पुरुषले जस्तो काम पाउँदिन भन्ने तथ्यलाई उनले स्वीकार गरिन् ।

लण्डनमा हामीले नारकीय जीवन भोग्यौं । तर, प्रेम बाँकी नै थियो । तर, एउटा अवस्थामा किन यस्तो भयो, मलाई थाहा छैन । (जेनी भन्छिन्…. किनकि मेरो अनुहारमा विफरको दाग भएकाले । तिमीलाई रिस उठ्यो ? यसो सबै लेञ्चेनको कारणले… ।)

( यहाँनेर रेल्वेमा क्लर्क पदका लागि आवेदन दिएको र अक्षर नराम्रो भएर जागिर नपाएको प्रशंग आउँछ । श्रीमती जेनीले मार्क्सलाई आफ्नो असन्तुष्टि पोख्दै भन्छिन्– ‘मूर (मार्क्स) मलाई घरमै थुनेर नराख । तिमी र एङगेल्स बडो भाषण दिएर हिँड्छौ । महिला मुक्तिका निम्ति ठूला–ठूला गफ छाँटेर हिँड्छौ । यौनिक समानताका बारेमा लेख्छौ । तर, आफ्नै घरमा अभ्यासचाहिँ गर्दैनौ ।)

०००

(नाटकमा बाकुनिनको प्रवेश हुन्छ । मदिरा खाइसकेपछि मार्क्ससँग झगडा हुन्छ । श्रमिकहरुको अधिनायकत्व र क्रान्तिको कुरा हुन्छ । बाबुनिनले मार्क्सलाई बुर्जुवा, तथाकथित मार्क्स भन्दै आलोचना गछ्र्रन् । हात हालाहाल नै हुन्छ । नशाकै सुरमा अराजकतावादी बाकुनिनले मार्क्सको निवासको झ्यालबाट बाहिर गल्लीमा पिसाब फेर्दै भन्छन्–म पुरै लण्डनमाथि मुतिरहेको छु । अब यी बेलायती साम्राज्यवादीहरुलाई मेरो मुतले बगाउने छ ।…. हामी जित्ने छौं एक दिन… !’

(प्रवीण खतिवडाले मार्क्सलाई भन्छन्– तपाईलाई यदि कसैले ठीक पार्न सक्छ भने त्यो बाकुनिन मात्रै रहेछ ।)

(नाटकमा यहाँनेर केहीबेर मार्क्सले पेरिस कम्युनको व्याख्या गर्छन् । पुँजीवादले निम्त्याएको बेरोजगारी, आदिबारे चर्चा हुन्छ ।)

सरकारले गरीबहरुका लागि केही गरेन, कहिल्यै गरेन । मानिसहरु अहिलेको अवस्थाबाट उठ्नुपर्छ । त्यसका लागि सम्भावनाहरु छन् । रेडिकल हुनु भनेको समस्याको जरो पहिल्याउनु हो । र, त्यो समस्या भनेका हामी आफैं हौं ।… व्यवस्थाहरु परिवर्तन हुनेछन् ।…..

(प्रवीण फेरि थप्छन्– पुँजीवादले चमत्कार गरेको छ कामरेड…)

जब यी सबै बेचिनेहरुले हामी बेचिँदैछौं र हाम्रा साझा शत्रुहरु छन् भनेर चाल पाउनेछन्, त्यसपछि के हुन्छ ? मानिसहरुले हातेमालो गर्नेछन् र यो हातेमालो अरु देशहरुमा पनि फैलने छ ।… विचारहरुले सीमानाहरु पार गर्नेछन् ।…. तपाईहरुलाई पीलो आएको छ, तपाईहरु बसिरहन सक्नुहुन्न । तपाईहरुले सक्रिय हुनैपर्छ ।

अब पुँजीवाद र समाजवादको कुराहरु नगरौं । अब यो विश्वको विपुल सम्पत्ति कसरी मानिसहरुका लागि उपयोग गर्ने भन्ने कुरा गरौं । मानिसहरुलाई चाहिएका कुराहरु खाना, औषधि, सफा हावा, शुद्ध पानी, रुख र घाँस, बस्नका लागि आरामदायी घर, शरीरलाई बोझ नपर्ने र हानी नगर्ने काम । यी कुराहरु कसका लागि आवश्यक छ भनेर नसोध्नोस् । हरेक मान्छे यी कुराहरु पाउन योग्य छन् । तर, विचार गर्नुपर्ने कुरा के छ भने सबभन्दा पहिला यी कुराहरु वञ्चिति र किनारमा परेका मानिसहरुलाई दिनुपर्छ ।…

(मार्क्सका दूतहरु आइपुग्छन् र भन्छन्– अब जाने बेला पनि भैसकेछ ।)

कलापक्षमा सफल प्रस्तुति

नाटकमा देखिएको रोमाञ्चक पक्ष के थियो भने मार्क्स बन्दा पोखरेललाई राम्रैसित सुहाएको थियो । उनलाई सुहाएको मात्र थिएन, घोकेर कण्ड पारिएका ‘मार्क्सवादी जार्गन’ हरु पोखरेलबाट धाराप्रवाह रुपमा सुन्दा उनी कलाकार भन्दा बढी कम्युनिष्ट दार्शनिक बढी प्रतीत हुन्थे ।

अभिनयको पक्षबाट नाटक सफल भएको दर्शकले महसुस गरे । नाटक हेरिसकेपछि कतिपयले यस्तो आश्चर्य प्रकट गरेको सुनियो कि विदेशी नामहरु सहितका लामा–लामा सम्वाद कलाकारले कण्ठ पार्न सम्भवै छैन, पक्कै पनि रेकर्डेड आवाज सुनाइएको हुनुपर्छ । दर्शकले यसरी नाटकका सम्वादको सफल प्रयोगमाथि संशय व्यक्त गर्नु कलाकारहरुको सफलता हो ।

सुनील पोखरेल, प्रवीण खतिवडा, निशा शर्मा लगायतका कलाकारहरुले विदेशी नाटकका लामा–लामा सम्वाद कसरी हुबहु घोक्न सके होला ? वास्तवमा यो विलक्षण स्मरण शक्ति भएका कलाकारबाट मात्र सम्भव हुन्छ ।
प्रस्तोता संस्था गुरुकुल आरोहण आफैंमा एउटा सफल नाट्य घर हो । त्यसमा ३८ वर्षदेखि काम गर्दै आएका सुनील पोखरेलको नेतृत्वमा कलाकारहरुले नाटकलाई साँच्चै नै जीवन्त बनाए ।

नेपालमा देखाइएको नाटकमा लेखक हावर्ड जीनको भावना कति प्रतिशत प्रतिनिधित्व भयो वा कति अपभ्रंसित भयो ? कति प्रशंगहरु छुटे, कति थपिए ? यसबारे विश्लेषण गर्न हाबर्ड जीनको ‘मार्क्स इन सोहो’ लाई पूरै अध्ययन गर्नुपर्ने हुन्छ । नेपालमा पहिलोचोटि देखाइएको नाटकमा केही संशोधनवादी नीति अपनाएर स्वदेशी मौलिकता दिन खोजिएको प्रष्टै देखिन्थ्यो ।

नाटकको सुरुदेखि अन्त्यसम्म सुनीललाई प्रवीण खतिवडाले साथ दिन्छन् । मार्क्सले पत्नी जेनीको प्रशंग ल्याउँदा मञ्चमा जेनी उपस्थित हुन्छन् । विदेशी रंगमञ्चमा पेइपर, बाकुनिन लगायतका पात्रहरु देखिँदैनन्, तर यहाँ तिनलाई पनि मञ्चमै उपस्थित गराइन्छ । मार्क्सकी छोरीलाई पनि मञ्चमा उपस्थित गराइन्छ ।

‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ भन्ने गीत र अन्य नेपाली गीतहरुको प्रयोग पनि नाटकमा देखिन्छ । कलाकार प्रवीणले बेलाबखत नेपाली समाज र राजनीतिक प्रशंगहरुलाई जोड्ने प्रयास गरेको देखिन्थ्यो । हामी बढी व्यक्तिगत विषयतिर गयौं कि भन्दै मार्क्सलाई सच्याउन खोजेको देखियो, जुन मूल नाटकमाथि गरिएका संशोधनहरु हुन् ।

अमेरिका लगायतका देशमा यो नाटकको मञ्चन गर्दा स्टेजमा कार्ल माक्स मात्र उपस्थित हुन्छन् । सुरुमा एक व्यक्तिले नाटक र यसका लेखक हाबर्डबारे थोरै परिचय दिन्छन् । त्यसपछि, एक घण्टासम्म एकै व्यक्तिले मात्र मञ्चमा प्रस्तुती दिन्छन् । तर, नेपालमा सुनील एक्लैले यसो गर्ने हिम्मत गरेनन् र बहुपात्रहरु खडा गरियो । बहुपात्रले नाटकलाई रोचक त बनायो, तर त्यसले केही सन्देशहरुलाई विद्रूपीकरण गर्न सघायो ।

पियक्कड, पुरुषवादी मार्क्स !

नाटक मञ्चनको दोस्रो दिन नेकपा नेता माधव नेपाल समेत हलमा बसेर नाटक हेरिरहेका थिए । उता मञ्चमा कार्ल मार्क्स लेख्न बस्दा घटघटी रक्सी पिउने ! रक्सीविना न त मार्क्सको लेखनी चल्थ्यो, न त दैनिकी । जाडो भगाउने उपाय पनि त्यही रक्सी, पाहुनालाई सत्कार गर्ने पनि त्यही रक्सी । माधव नेपाललगायत नेपालका धेरै कम्युनिष्टहरुलाई यसरी रक्सी धोकेको मन पर्दैन ।

हुन त मार्क्सवादी दर्शन बनारसी पाकशास्त्रमा आधारित नभएर ननभेज दर्शन हो । तर, नेपालमा त्यस्तो धेरै कम्युनिष्टहरु छन्, जो सादगी जीवन रुचाउँछन् । तर, तिनै कम्युनिष्टका सर्जक मार्क्सले पुस १, २ र ३ गते आफूलाई पियक्कड मार्क्सका रुपमा प्रस्तुत गरे । नेपाली समाज मदिराविरोधी आन्दोलनमा छ । यस्तो बेलामा मार्क्सको पियक्कड प्रस्तुतीले पक्कै पनि नेपालका मदिरा प्रेमीहरुलाई उत्साहित गराएकै हुनुपर्छ । नाटकमा अरु कुराहरुमा नेपालीपन दिने प्रयास गर्दागर्दै पनि मदिराको पक्षलाई विदेशी मोडलमै प्रस्तुत गरियो । मार्क्सलाई पियक्कड रुपमा प्रस्तुत गर्दा त्यसले के सन्देश दियो, कम्युनिष्टहरुले नै जानून् ।

नाटकमा कार्ल मार्क्सलाई महिला अधिकारको सवालमा पनि झण्डै–झण्डै महरापथमै उभ्याउन खोजियो । महिला अधिकारको पक्षमा अव्यवहारिक, दास क्यापिटल लेखेर राजनीतिक अर्थशास्त्रको विश्लेषण गरे पनि परिवारको अर्थतन्त्रको व्यवस्थापनमा असफल रहेको, पुँजीवादको विरोध गरे पनि पुँजीपति एङ्गेल्सबाट गुजारा चलाउनुपरेको, सर्वहारा र मजदुरको वकालत गरे पनि उनीहरुले नबुझ्ने भाषामा लेख्ने गरेको र श्रमजीवीभन्दा बढी बुर्जुवाहरुसँग उठबस गर्ने गरेकोजस्ता मार्क्सका कमजोरीहरु नाटकमा छताछुल्ल हुन पुग्छन् । अझ बाकुनिनसँग त उनी भौतिकरुपमा लाप्पा नै खेल्छन् ।

पत्नी जेनीले आफ्ना पनि मार्क्सलाई घरमा काम गर्ने महिला कामदार लेञ्चेनसँग जोडेर शंका गरेको प्रशंगले पनि नाटकमा ठाउँ पाएको छ । यो विषयले घरमा सधैं टेन्सन हुने गरेको मार्क्सलाई स्वीकार गराइएको छ । महिला अधिकारको वकालत गर्ने महान दार्शनिकको घरमै यस्तो असमझदारी उदेकलाग्दो नै छ । नाटकमा प्रवीण खतिवडाले मार्क्सलाई सम्झाएका छन्– ‘आ कामरेड, सबैका घरमा यस्तो भैहाल्छ नि ।’

मार्क्सवादभित्र महिलामुक्ति खोजिरहेका नेपाली नारीहरुले यो नाटकबाट कस्तो सन्देश पाए होला ? अझ बाकुनिनले झ्यालबाट ‘मुतिदिन्छु’ भन्दै पिसाब फेरेको दृश्य महिला दर्शकहरुका लागि कस्तो लाग्यो होला ? प्रश्न उठाउने ठाउँ देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment