Comments Add Comment

जनप्रतिनिधिबीचको विवादले ६ महिनादेखि गाउँपालिकाको काम ठप्प

स्वास्थ्यसंस्थामा औषधीसमेत सकियो

८ पुस, रामेछाप । जनप्रतिनिधिबीचको विवादले जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको कामकाज ठप्प भएको छ । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम पास नहुँदा गाउँपालिकाको सम्पुर्ण कामकाज ठप्प भएको हो ।

नागरिक निगरानीको क्रममा सो पालिकामा वेथितिको नमुना देखिएको मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईंले बताए । बजेट तथा कार्यक्रम पास गर्नका लागि असार महिनामा बसेको गाउँकार्यपालिकाको बैठकमा विवाद भएपछि बजेट र कार्यक्रम पास हुन सकेको छैन । त्यस यता गाउँ कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन ।

असारमा भएको बैठकमा गाउँपालिकाको वडा नं–१ दुरागाउँमा गरिएको विद्युतीकरणको लागि करिब ६ करोड रुपैयाँ विनियोजन गर्न गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले प्रस्ताव गरेका थिए । कामको अनुगमन गरेपछि मात्र रकम विनियोनज गर्नुपर्ने प्रस्ताव गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाललगायतका कार्यपालिकाका सदस्यहरुले राखेपछि अध्यक्षले गरेको कामको किन अनुगमन भन्दै अध्यक्षले विवाद उठाएको कार्यपालिका सदस्यहरु बताउँछन् ।

अहिले विद्युत विवादको छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल झिकाएको छ । ७ वटा वडा रहेको सो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ६ जना वडाअध्यक्ष तत्कालिन नेकपा एमालेबाट बिजयी भएका छन् । एकजना वडाअध्यक्ष कांग्रेसबाट बिजयी भएका हुन् । बैठकमा विद्युतको लागि बजेट विनियोजन नगरेसम्म गाउँपालिकाको बजेट तथा कार्यक्रम पास नगर्ने अडान गाउँपालिका अध्यक्षले लिने गरेको नेकपाका नेता निकास पौडेलले बताए ।

स्वास्थ्य संस्थाहरुमा औषधि सकियो

गाउँपालिकाको बजेट नआउँदा स्वास्थ्य क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । बजेट नआएको कारण स्वास्थ्य संस्थामा आवश्यक औषधि खरिद हुन सकेको छैन । नागरिक निगरानीको क्रममा ३९ थरी औषधि हुनु पर्न स्वास्थ्य संस्थामा २० थरी औषधि पनि नपाइएको गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेलले बताए ।

स्वास्थ्य संस्थामा भएका औषधिहरु पनि सीमित भएकोले बजेट नआए स्वास्थ्य संस्था चलाउनै नसकिने अवस्था रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्य संस्थाहरुमा बालबालिकाहरुलाई खुवाउने झोल सिटामोलदेखि, ज्वरो आउँदा दिने एमोक्सोसिलिन, आँखा र कानको औषधि लगायतका औषधिहरु समेत अभाव भएको छ । यस स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र सहित ७ वटा भन्दा बढी स्वास्थ्य संस्थाहरु रहेका छन् ।

गाउँपालिकाले बजेट विनियोजन नगर्दा विद्यार्थीहरुले खाजा खर्च तथा छात्रावृत्तिसमेत पाएका छैनन् । गाउँपालिकाबाट बजेट नआएको कारण शैक्षिक सत्रको उत्तरार्धतिर आइपुग्दा पनि छात्रावृत्तिको रकम र र खाजा खर्चवापतको रकम विद्यार्थीलाई दिन नसकेको झटेश्वर मावि धोवीका सहायक प्रधानाध्यपक मोहनबहादुर श्रेष्ठले बताए ।

सात वडाको लागि एकजना सचिव

गाउँपालिका आन्तरिक विवादमा फसेपछि सो गाउँपालिकामा कुनै पनि कर्मचारी जान मान्दैनन् । गएका कर्मचारी पनि सरुवा मिलाएर हिँड्ने गरेका छन् । गाउँपालिकामा ६ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत छैनन् । लेखाका कर्मचारी पनि छैनन् । पालिकामा अस्थायी करारका कर्मचारी मात्र छन् ।

गाउँपालिकोका ७ वटा वडाको वडासचिवको जिम्मेवारी एक जना वडा सचिवले सम्हाल्दै आएका छन् । वडा नं ६ का वडा सचिव केहरमान तामाङले ७ वटै वडाको पञ्जीकरणलगायतको काम गरिरहेका छन् । उनी हप्तमा ४ दिन आफ्नो वडामा बस्छन् भने ३ दिन गाउँपालिकाको कार्यालयमा बासेर ६ वटा वडाको पञ्चिकरणको काम गर्दछन् ।

गाउँपालिकाको कृषि विकास शाखमा २ जना कार्यालय सहयोगीमात्रै छन् । उनीहरुले पालैपालो कार्यालय खोलेर बस्ने गरेका छन् । पहिलापहिला बिउ बिजन र प्राविधिक खोज्न किसान आउने गरेको भए पनि सेवा पाउन छाडेपछि किसान पनि आउन छाडेका कार्यालय सहयोगी लले मगरले बताए ।

गाउँपालिकाका करार कर्मचारीले ६ महिनादेखि तलबसमेत पाएका छैनन् । आफूहरुले दशैं खर्चसहित साउनदेखिको तलब नपाएको सवओभरसियर अच्युत तिमल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment