+
+
Shares

विदेशी विमान कम्पनीलाई भ्रमण वर्षको जिम्मा, राष्ट्रिय ध्वजावाहकलाई उपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते ११:२२

९ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष सचिवालयले निजी लगानीको विदेशी वायुसेवा कम्पनी टर्कीस एयरलाइन्सलाई भ्रमण वर्षको आधिकारिक एयरलाइन्स तोकेको छ । यो कम्पनीसँग सचिवालयले ४ पुसमा सम्झौता गरेको हो । विदेशी निजी कम्पनीलाई यस्तो जिम्मा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम असन्तुष्ट देखिएको छ ।

निगमले आधिकारिक एयरलाइन्स बन्न सरकारसँग ईच्छा व्यक्त गरेको थियो । तर, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई उपेक्षा गर्दै विदेशी एयरलाइन्ससँग सम्झौता गरिएको भन्दै निगम असन्तुष्ट बनेको हो ।

चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिक समिक्षाका बेला निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमक्ष आधिकारिक एयरलाइन्सका लागि अपेक्षा गरिएको जानकारी गराएको थियो ।

नेपाल वायुसेवा निगमले मन्त्रालयमा गरेको प्रस्तुतिमा भनिएको थियो, ‘भिजिट नेपाल इयर लोगो एयरबस जहाजमा राख्न ग्लोबल सील कोटेसन माग गरिसकिएको छ । सोका लागि मन्त्रालयबाट आधिकारिक एयरलाइन्सको लागि अपेक्षा गरिएको छ ।’

भ्रमण वर्ष सचिवालयले अफिसियल एयरलाइन्सका रुपमा सम्झौता गरेको कम्पनीले काठमाडौंलाई एक गन्तव्य (टर्की) मा मात्र जोड्छ । नेपाल एयरलाइन्सले अहिले ९ गन्तब्यमा काठमाडौंलाई जोडिरहेको छ । निकट भविश्यमा चीनसहित १० गन्तव्यमा जोड्दैछ ।

टर्कीस एयरलाइन्स र भ्रमण वर्ष सचिवालयबीच भएको सम्झौता अनुसार नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्स टर्कीस एयरलाइन्स हुने छ । सचिवालयले बेलायतसहित यूरोप र अमेरिकामा सामान ढुवानी गर्न टर्कीस एयरलाइन्स प्रयोग गर्ने भएको छ । अमेरिका र यूरोपमा हुने ट्राभल एण्ड टूर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्की एयरलाइन्सले संयुक्त रुपमा प्रचार गर्ने छन् । नेपाल भ्रमण वर्षको रिर्पोटिङ गर्न आउने निश्चित पत्रकारलाई कम्पनीले हवाई भाडा व्यहोरिदिने भएको छ ।

भ्रमण वर्ष सचिवालयका उच्च अधिकारीहरु भने भ्रमण वर्षका दौरान एकभन्दा बढी वायुसेवा कम्पनीलाई समेत ‘अफिसियल एयरलाइन्स’ बनाउन सक्ने तर्क गर्छन् ।

भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठले भने, ‘एक भन्दा बढी एयरलाइन्स यो अभियानको अफिसियल पार्टनर बन्न सक्छन् ।’ कम्पनीहरु सहकार्यका लागि प्रस्तावसहित आए सचिवालय सम्झौता गर्न तयार रहेको उनले उल्लेख गरे ।

यता, निगमका अधिकारीहरु भने सरकारी स्वामित्वको कम्पनी भएका कारण स्वतः आधिकारिक एयरलाइन्स निगम नै भएको बताउँछन् ।

‘हामी सरकारी निकाय हौं, सरकारी अभियान नै भएकाले हामी स्वतः आधिकारिक एयरलाइन्स हुनुपर्ने हो,’ निगमका सहप्रवक्ता सुलेख मिश्रले भने । तर, अब टर्कीसले नेपाल भ्रमण वर्षको आधिकारिक एयरलाइन्सका रुपमा लोगो प्रयोग गर्ने अधिकार पाएको छ । यसले सरकारी संस्थानलाई सरकारले नै वेवास्ता गरेको अर्थमा निगमका अधिकारीले बुझेका छन् ।

भ्रमण वर्षमा निगमले के गर्छ ?

मन्त्रालयबाट औपचारिक एयरलाइन्स बन्न अपेक्षा गरेको निगमले आफ्नो सबै जहाजमा भ्रमण वर्षको लोगो टाँसिसकेको छ । निगमका ४ वटा जहाज सोही लोगो बोकेर अन्तराष्ट्रिय गन्तब्यमा उड्छन् ।

आन्तरिक जहाज र सबै सवारीसाधनमा समेत निगमले भ्रमण वर्षको लोगो राखेको छ । निगमका अन्तर्राष्ट्रिय स्टेशनमा प्रचार प्रसार गर्ने र सामाजिक सञ्जालबाट पनि प्रचार तिब्र बनाउने योजना निगमको छ । निगमले टिकट बिक्री कक्ष साँझ ७ बजेसम्मका लागि खुला राख्ने गरी समय लम्ब्याएको छ ।

काठमाडौंका करीव १ सय होटेल तथा टूर कम्पनीसँग सम्झौता गरी विदेशबाट आउने पर्यटकलाई बाह्य स्टेशनबाट प्याकेजमा हवाई टिकट बिक्रिको व्यवस्था गर्ने योजना निगमले राखेको छ । निगमले आफ्नो जहाजमा दिने क्याटरिङका प्याकेजमा भ्रमण वर्षको लोगो राखेर प्रवद्र्धन गर्ने योजना निगमले मन्त्रालयमा बुझाएको सूचिमा उल्लेख छ । इनफ्लाइट म्यागेजिन सांग्रीलामार्फत भ्रमण वर्षको प्रवद्र्धन गर्ने योजना समेत रहेको छ । निगमले आफ्ना कर्मचारीलाई आन्तरिक गन्तब्यमा ७ दिनका लागि भ्रमण बिदा उपलब्ध गराउने, एमए ६० जहाजबाट चार्टर्ड माउन्टेन फ्लाइट गर्ने योजना निगमको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?