Comments Add Comment

भ्रमण वर्षको मुखमा पोखरामा भारतीय गाडीमाथि रोक

पर्यटन व्यवसायी भन्छन् : भारतीय पर्यटकको संख्या घट्ने भयो

पोखरा बसपार्क

९ पुस, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा आउने भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि रोक लगाएको छ ।

ट्राफिक व्यवस्थापनको कारण देखाउँदै पोखरा पर्यटन परिषद्कै निवेदनमा गण्डकी प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक बस प्रवेशमा रोक लगाएका हुन् ।

पोखरा आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पर्यटक भारतीय नै हुन्छन् । जसमध्ये अधिकांश सीमाना सहजताका कारण आफ्नै देशको गाडीमा नेपाल आएका हुन्छन् । भारतीय गाडीमाथि रोक लगाउँदा पर्यटक आगमनमा कमी आउने र त्यसले पोखरेली पर्यटनमा असर पार्ने पर्यटन व्यवसायीको भनाइ छ ।

नेपाल भ्रमण वर्ष २०२० घोषणा हुन जम्मा ५ दिन छ । भ्रमण वर्ष सफल पार्न सबैभन्दा बढी भारतीय पर्यटक नै आउने ती पर्यटन व्यवसायीको दाबी थियो । तर, भ्रमण वर्ष घोषणा पूर्वसन्ध्यामा पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक सवारी साधनमाथि रोक लगाउँदा त्यसले पोखरेली पर्यटनमा असर पार्ने होटल व्यवसायी संघका पूर्वअध्यक्ष हरि गैरेले बताए ।

‘पोखरामा आउने अधिकांस पर्यटक भारतीय नै हुन्छन् । उनीहरुको गाडी प्रवेशमा रोक लगाउँदा पोखरेली पर्यटनलाई असर पुग्दैन ?’ गैरे प्रश्न गर्छन्, ‘सरकारले यति ठूलो निर्णय गर्दा व्यवसायीसँग समन्वय पनि गरिएन ।’ उनले भ्रमण वर्षको मुखमा सरकारले गलत कदम चालेको समीक्षा गरे ।

पोखरामा भारतसहित अरु देशका गाडीसमेत आउँछन् । तर, ‘भारतीय गाडी’ नै तोक्दा भारतीय पर्यटकलाई नेपाल हेर्ने दृष्टिकोणप्रति फरक आउने गैह्रेको दाबी छ ।

‘भारतीय पर्यटक बोलाउन लाखौं खर्च गरेर बोर्डर सेल्स मिसनका कार्यक्रम गरिरहेका छौं । भ्रमण वर्षमा पनि सरकारले ठूलै खर्च गर्न लागेको छ,’ उनले भने, ‘कि सबै विदेशी गाडी भन्नुपर्थ्यो । नत्र भारतीय गाडीमात्रै तोक्दा हाम्रो लगानी पानीमा गएन ?’

परिषद्ले पोखरा आएका भारतीय गाडीमा भारतीय गाडी पोखरा नल्याउन र पोखरेली गाडीमात्रै प्रयोग गर्न अनुरोध गर्दै स्टिकरसमेत टाँसेर पठाइरहेको छ । परिषद्को यस कदमविरुद्ध भारतीय मिडियाले समेत लेख्न थालेका छन् । भारतको एक पत्रिका लेख्छ, ‘जिल्ला प्रशासन कास्कीले भारतीय गाडी रोक लगाएको छ । यसबाट नेपाल जाने भारतीय पर्यटकलाई समस्या हुन सक्छ ।’

पर्यटककै हित हुन्छ : पर्यटन परिषद्

पोखरामा भारतीय नम्बर प्लेटको गाडी प्रतिबन्ध गर्दा पोखरेली पर्यटनलाई नै फाइदा पुग्ने दाबी पर्यटन परिषद्ले गरेको छ । ठूलो संख्यामा भारतीय गाडी पोखरा आउँदा ट्राफिक जाम हुने र भारतीय पर्यटकले पोखरा ‘साइट सिन’को मजा पनि लिन नपाउने तर्क परिषद्को छ ।

‘भारतीय भाडाका गाडी पोखरा आउँछन् । उनीहरुले नै यहाँका २/४ हेर्छन् । त्यो ठाउँबाहेक उनीहरुलाई पोखराबारे धेरै थाहा हुँदैन । यसले गलत म्यासेज जान्छ,’ परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल भन्छन्, ‘भारतीय गाडी रोक्दा यहाँका ट्राभल ऐजेन्सी, व्यवसायी र ट्याक्सीले पनि काम गर्ने मौका पाउँछन् ।’ उनले भारतीय सार्वजनिक बसमात्रै प्रतिबन्ध गरिएको निजी बस भने आउन सक्ने बताए ।

भारतीय गाडी रोक लगाउँदा पोखराको होटलमा बस्ने र व्यवसायीले ‘खास’ पोखरा देखाउन पाउने पोखरेलले दाबी गरे । ‘होटलवालाकै गाडी हुन्छ । उनीहरुलाई सुरक्षित पार्किङबारे पनि थाहा हुन्छ । उनीहरुले नै भारतीय पर्यटकलाई पोखराको सबै ठाउँ घुमाउन पाउँछन्,’ उनले भने ।

पार्किङ समस्या निम्त्यायो : प्रशासन

जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय गाडीले पार्किङ समस्या निम्त्याएकाले रोक लगाउनु परेको बताएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले ट्राफिक व्यवस्थापनका लागि पोखरा तयार भइसकेपछिमात्रै प्रतिबन्ध खोलिने जानकारी दिए ।

‘भारतीय गाडीलाई पोखराको रुट थाहा हुँदैन । कहाँ पार्किङ गर्ने/नगर्नेबारे पनि थाहा हुँदैन,’ केसीले भने, ‘क्रिसमस र अंग्रेजी नयाँ वर्ष सकिएपछि सम्बन्धित निकायसँग छलफल गरेर बाँकी प्रक्रिया सुरु गर्छौं ।’ उनले भारतीय गाडीमा आउने ठूलो संख्याका पर्यटकले स्थानीय व्यवसायीलाईसमेत असर पार्ने दाबी गरे ।

भ्रमण वर्षमा पोखरामा धेरै पर्यटक आउने र त्यसले ट्राफिक व्यवस्थापनमा चुनौति दिने भएकाले पनि भारतीय सार्वजनिक गाडीमाथि रोक लगाउनु परेको सिडिओ केसीले तर्क राखे । ‘अंग्रेजी नयाँ वर्ष र भ्रमण वर्षमा धेरै पर्यटक आउँछन् । त्यसलाई सहजीकरण गर्न पनि भारतीय सार्वजनिक बस पोखरा आउन रोकिएको हो,’ उनले भने, ‘यो फेरि पर्यटन व्यवसायीकै आग्रहमा चालिएको कदम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment