Comments Add Comment

सिन्धुपाल्चोक बस दुर्घटनामा आमा गुमाएकी बालिकालाई मावलीको जिम्मा

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत छ किलोमा गत मंसिर २९ गते दुर्घटनामा परेको बस ।

११ पुस, सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको ६ किलोमा गत मंसिर २९ गते भएको बस दुर्घटनामा परेकी छमहिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ ।

बालिकाकी आमा सुनीता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रहेकाले बालिकालाई १२ दिनपछि मामा र ठूलीआमाको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बालिकालाई सर्लाही जिल्ला लालबन्दी नगरपालिका–१४ निवासी ४१ वर्षीय मामा मइतेसिं लो, ठूलीआमा चिनीमाया लो र सानीआमा सुनमाया लोको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा बालिका जीवितै फेला परेपछि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा लगिएको थियो । रोइरहेकी बालिकालाई फकाउन बोतलको दूध चुसाउँदा नमानेपछि दुई महिनाअघि मात्र सुत्केरी भएकी स्थानीय सुनिता माझीले आफ्नो स्तनपान गराउँदा फकिएपछि उनी बालिकालाई स्तनपान गराउन दैनिक अस्पताल जाने गरेकी थिइन् । बालिकालाई अस्पतालले विशेष सुरक्षाका साथ रेखदेख गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालयको आधिकारिक पत्र लिएर आएको हुँदा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेल तथा सञ्चारकर्मीको रोहबरमा बालिकालाई मावलीको जिम्मा लगाइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष कमल नेपालले बताए ।

बालिकालाई आफन्तको जिम्मा लगाएपछि अस्पतालका नर्सहरु र स्तनपान गराउने महिला पनि निकै भावुक बनेका थिए ।

दोलखाको कालीञ्चोकबाट भक्तपुरका लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा १२ जना र उपचारको क्रममा चारसहित १६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १९ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment