Comments Add Comment

यमनमा अज्ञात समूहको आक्रमण, १७ सर्वसाधारणको मृत्यु

११ पुस, काठमाडौं । यमनको उत्तरी क्षेत्रमा अज्ञात समूहले आक्रमण गर्दा कम्तीका १७ जनाको ज्यान गएको छ ।

यमनको उत्तर क्षेत्रमा अवस्थित गभर्नरको कार्यालय रहेको सादा सहरमा भएको आक्रमणमा कम्तीमा १७ व्यक्तिको ज्यान गएको राष्ट्र संघले जनाएको छ ।

बिहीबार मृत्यु भएका १७ सर्वसाधारणमध्ये १२ जना इथियोपियाली आप्रबासी रहेका र पाँच जना यमनी नागरिक रहेको बताइएको छ ।

राष्ट्रसंघले घटना कसले घटाएको र आक्रमणमा कस्तो खालको हतियार प्रयोग गरिएको भन्नेबारे केही बताएको छैन ।

यो सहरमा करिब एक महिनाको अन्तरालमा भएका आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

यमनमा पछिल्ला केही महिनायता तुलनात्मक रूपमा शान्त रहने गरेको भए पनि सादामा एक महिनाको अन्तरालमा तीन आक्रमण भएका छन् ।

इरानसँग निकट मानिने यमनी हुथी विद्रोहीको प्रभाव क्षेत्र मानिने सादामा साउदी नेतृत्वको सैन्य गठबन्धनले गरेको सुरक्षा आक्रमणमा ठूलो संख्यामा हुथी विद्रोहीको मृत्य भएपछि विगत केही महिना सादाको अलराक्वमा ठूला झडपका घटना भएका थिएनन् ।

अलराक्वमा नोभेम्बर २२ मा पनि यस्तै आक्रमण भएको थियो भने त्यसको केही दिनपछि पनि यसै प्रकारको आक्रमण भएको थियो ।

नोभेम्बर २२ र लगत्तै केही दिनपछि भएका दुई घटनामा परी २० जनाको मृत्यु भएको थियो भने कम्तीमा २२ जना घाइते भएका थिए । उक्त सहरमा युद्धविरामको अवज्ञा गर्दै भएका घटनामा अहिलेसम्म ८९ सर्वसाधारणले ज्यान गुमाएका छन् ।

यमनमा सन् २०१५ को मार्चमा गठबन्धनले हुथी विद्रोहीविरूद्ध सुरु गरेको द्वन्द्वका कारण दशौं हजार मानिस मारिएका छन् भने लाखौंको संख्यामा विस्थापित भएका छन् । राष्ट्रसंघले यमनको मानवीय संकटलाई विश्वकै चिन्ताजनक समस्याका रूपमा व्याख्या गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment