Comments Add Comment

चाबहिल–गौशालामा सडक र खानेपानीको काम गर्न एउटै ठेक्का

काम गर्न निर्माण कम्पनीले देखाएनन् इच्छा, दुवै काम कालिकाले पाउँदै

१० पुस, काठमाडौं । काठमाडौं महानगरलाई ‘खनपुरी नगरी’ भनेर पनि गिज्याउने गरिन्छ । अन्तरसरकारी समन्वयको अभावमा एउटा निकायले सडक बनाउने र लगत्तै अर्कोले भत्काउने प्रवृत्तिलाई लिएर यस्तो ठट्टा गरिएको हो ।

महिनौंदेखि बिग्रेको सडक ठूलो दबावपछि बल्लतल्ल सडक विभागले बनाउँछ । सडक बनेलगत्तै खानेपानीको पाइप र ढल बिछ्याउन खानेपानी आयोजनाले त्यसलाई फोर्छ । सडकपेटी बनेपछि टेलिकमले फाइबर बिछ्याउन थाल्छ । यस्तो सिलसिलाले एकातिर सडक सधैं अस्तव्यस्त रहने र अर्कोतर्फ राज्यकोषबाट दोहोरो–तेहरो खर्च हुने गरेको भनेर आलोचना हुँदै आएको छ ।

तर काठमाडौंमा पहिलोपटक यस्तो समस्या नदोहोर्‍याउने गरी नयाँ अभ्यास सुरु भएको छ । सडक विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले गौशाला–चाबहिल खण्डमा संयुक्त रूपमा एकैपटक काम गर्न थालेका छन् । पाइप बिछ्याउने र सडक मर्मत गर्ने कामलाई एउटै ठेक्कामा राखिएको छ ।

सडक विभागका अधिकारीहरूका अनुसार गौशाला–चाबहिल खण्डमा खानेपानीका पाइपहरू जीर्ण छन् । वर्षौंअघि बिछ्याइएका पाइपहरूबाट मुल फुटेजस्तो पानी रसाइरहन्छन् । ती पाइप नफेरिकन जति पिच हाले पनि काम नलाग्ने विभागका सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाको भनाइ छ ।

अहिले पनि खण्डमा ठूला–ठूला खाल्डा छन्, घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुन्छ । कारण, रिंगरोडभित्रै सवारी चालक र यात्रुले दुःख पाइरहेका छन् ।

‘गौशालाबाट चाबहिल चोकसम्म यसअघि पनि पटक–पटक पिच नभएका होइनन्, तर पाइप फुट्ने र रसाउने क्रम लगातार चलेपछि पिच टिक्दै टिकेनन्’, उपमहानिर्देशक सापकोटा भन्छन्, ‘त्यसैले यो खण्डबाट सडक र खानेपानीको काम एकै ठेक्काबाट गर्न अन्तरनिकाय समन्वय गरेका हौं ।’

विवादित कम्पनीले ठेक्का पाउँदै

यो खण्डमा मेलम्चीको वितरण लाइनको पाइप बिछ्याउनै बाँकी छ । त्यसैले ठूलो खर्च गरेर कालोपत्रे गर्दा पछि मेलम्चीले सडक खनेर दोहोरो खर्च गर्नुपर्ने अवस्था आउने थियो । यही सम्भावनालाई टार्न र निकै जटिल बनेको यो सडकखण्डको अवस्था सुधार्न दुई निकायले संयुक्त रूपमा एउटै ठेकेदारमार्फत सडक र खानेपानीको काम गराउन लागेका हुन् ।

खानेपानी र भौतिक पूर्वाधार मन्त्रालयका सचिवहरूकै बैठकले संयुक्त ठेक्का लगाउने निर्णय गरेको थियो । त्यसअनुसार सडक विभागले दुईपटक ठेक्का गर्नुपर्‍यो । पहिलोपटक कुनै कम्पनी ठेक्कामा सहभागी नभएपछि दोस्रोपटक ठेक्का लगाउँदा एउटा मात्रै कम्पनीले बोलपत्र हालेको छ ।

बोलपत्र हाल्ने कम्पनी कालिका कन्स्ट्रक्सन हो, जसमाथि भ्रष्टाचारको अभियोग छ । सार्वजनिक खरिद नियमावलीअनुसार, भ्रष्टाचारको अभियोग लागेको कम्पनीको ठेक्काको मूल्यांकन गर्न प्रधानमन्त्री कार्यालयको अनुमति लिनुपर्ने थियो । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कैलाशकुमार श्रेष्ठ सबै प्रक्रिया पूरा गरेर कालिकालाई ठेक्का सम्झौताका लागि बोलाइएको बताउँछन् ।

‘अब सडकको बीच भागमा रहेको खानेपानीको पाइपलाई कालिकाले नै सडकका दुवै छेउतर्फका भागमा सारेर पानी वितरण प्रणाली तयार गर्छ’, उनले भने, ‘त्यसपछि सडकमा हुने पानी चुहावटको समस्या हट्छ र सडक राम्रो हुन्छ ।’

उनका अनुसार यो सडकमा पाइप र सडकको काम गर्न ‘स्टमेट’ तयार गर्न विभागलाई पीआईडीले सघाएको थियो । ठेकेदारले काम सुरु गरेपछि पीआईडीले पाइपको काम कसरी भयो भनेर अनुगमन पनि गर्ने श्रेष्ठले बताए ।

सडक विभागले खानेपानीको पाइप फुट्ने समस्याममा कारण थुप्रै सडक खण्डमा कालोपत्रेलगायतका काम गर्न नसकिएको बताउँदै आएको छ । यस्तो समस्या मूल रूपमा पुतलीसडकमा छ ।

त्यसैगरी, उपत्यकाका विभिन्न खण्डमा पनि खानेपानीको र ढलको पाइप फुट्ने समस्याले कालापत्रे उप्किएका छन् । हालसम्म पनि विभाग खानेपानीको समस्या हल नभएसम्म सडक पिच नगरी बस्ने अभ्यास चल्दै आएको थियो ।

अब भने यसलाई विस्तारै समस्याहरू हटाउँदै जाने र जटिल बनेका सडकमा गौशाला–चाबहिलकै मोडल अपनाउने योजनमा विभाग छ ।

मेलम्ची आएपछि के होला ?

काठमाडौंका सडकलाई मेलम्चीको खानेपानीले अझै समस्या थप्ने आकलन विज्ञहरूको छ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य मेलम्चीको पानी काठमाडौं आएपछि सहरमा ‘ढल निकास’ समस्या जटिल बन्ने बताउँछन् ।

अहिले उपत्यकामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को प्रणालीमार्फत पानी आपूर्ति दैनिक थोरै परिमाणमा भइरहेको छ । तर, मेलम्चीबाट एकैपटक १७ करोड लिटर पानी काठमाडौंमा आउन थाल्नेछ । अहिले दैनिक १० देखि १५ करोड लिटर पानी आपूर्ति भइरहेको छ ।

त्यसमध्ये ८५ देखि ९० प्रतिशत पानी उपयोगपछि काठमाडौंको ढल प्रणालीमा पुग्ने अनुमान छ । तर, अहिले ढल प्रणालीले २९ करोड लिटर पानीसहितको लेदो थेग्न सक्दैन । जसको चाप ह्युमपाइपमा पर्छ । हाल बिछ्याइएका ढलका पाइप जोडिएको ठाउँमा फुट्ने र छुट्ने समस्या देखिने विज्ञहरू औल्याउँछन् । त्यसको असर सडकहरूमा पनि पर्ने देखिन्छ ।

काठमाडौं महानगरपालिकाका अनुसार, उपत्यकाका धेरै स्थानमा परम्परागत ढल प्रणाली अझै विस्थापित भएको छैन । धेरै ठाउँमा पुरानै प्रणाली मर्मत गरेर काम चलाइएको छ । ठमेल, असन, इन्द्रचोक, वसन्तपुर, पाटनलगायत क्षेत्रमा अझै पनि राणाकालीन ढल प्रणाली छन् । जुन, पटक–पटक जाम भएर नागरिकले सास्ती बेहोर्दै आएका छन् ।

काठमाडौंमा सेफ्टी ट्यांकी नराखी बनाइएका हजारौं घर छन्, जसका कारण शौचालयको फोहोर पनि सीधै ढलमा मिसिन्छ ।

मेलम्चीको आगमनसँगै पानीको उपयोग एकाएक बढ्नेछ र ढल प्रणालीमा ठूलो चाप थपिनेछ । काठमाडौंको ढलहरू सडकको मध्य भागमै रहेकाले त्यसमा देखिने समस्याको असर सीधै सकडमा पर्नेछ ।

मेलम्ची आएपछि काठमाडौंको ढल प्रणालीको क्षमता र गुणस्तरको वास्तविक परीक्षण हुने विज्ञहरू बताउँछन् । अहिले नै विभिन्न स्थानका सडकमा ढल फुटेर हिँडिनसक्नु छ । रत्नपार्क क्षेत्र सुख्खायाममै ‘ढलमग्न’ छन् । खुलामञ्च क्षेत्रमा ढल सडकमा बाहिरिँदा पनि सरोकारवाला निकायको आँखा पुगेको छैन ।

हिउँदमै यो हालत छ, वर्षामा त काठमाडौंको अवस्था के होला ? पूर्वाधार विज्ञ आचार्य मेलम्ची काठमाडौं आएपछि ढल फुटेर सडकभरि हुनसक्ने अवस्थालाई कसैले ध्यान नदिएको बताउँछन् । उनी भन्छन्, ‘ढल निकासको राम्रो प्रबन्ध नभएका कारण भोलि के हुन्छ भन्ने कुनै निकायमा मतलव देखिँदैन ।’

सरकारी अध्ययनअनुसार राजधानीको करिब २ दर्जन स्थानमा वर्षामा ढल र पानीको पाइप फुटेर सडक अस्तव्यस्त रहन्छ । सुन्धारादेखि भोटाहिटी, लैनचौर, जमल, नारायणगोपाल चोक, तीनकुनेदेखि कोटेश्वर, थापाथलीदेखि माइतीघरमा ढल सडकमा आइपुग्ने समस्या व्यापक छ ।

यस्तै, नक्सालदेखि भगवतीबहाल, गौशालाको जयबागेश्वरी, लैनचौर र सोह्खुट्टेमा पनि ढल तथा पानी चुहिने समस्या छ । पुतलीसडकदेखि कृष्ण पाउरोटी, कमलादीदेखि त्रिचन्द्र क्याम्पस, रातोपुल र हात्तीसार क्षेत्रमा पनि ढल लिकेजको समस्या ज्यादा देखिने गरेको सडक विभाग बताउँछ ।

‘कालोपत्रे गरिएका सडकलाई मुख्य रुपमा प्रभाव पार्ने पानीले नै हो । लगातार पानी जमेर सडकमा रहिरहँदा कालोपत्रको आयु घट्छ र खाल्डो पर्न थाल्छ,’ विभागमा उपमहानिर्देशक शिवहरि सापकोटा भन्छन्, ‘पछि साना खाल्डा ठूलो हुँदै जान्छन् । खानेपानी र ढल सडकमा फुटेर महिनौं हुँदा पनि मर्मत नहुने समस्या चर्को छ ।’

मेलम्ची आएपछि काठमाडौंका होचा स्थानहरूमा ढलको समस्या विकराल बन्ने अनुमान छ । पानी सुस्तरी बग्ने क्षेत्रमा ढल फुटेर डुबानकै समस्या पनि निम्तिन सक्ने विज्ञहरू पनि बताउँछन् ।

त्यसबेला काठमाडौंमा खोला, नदी र खोल्सामा पनि पानीको सतह बढ्नेछ । सोही कारण होचा बस्तीमा छिट्टै पानी पस्ने र डुबानको जोखिम छ ।

अहिले नै ढलको पाइपका जोर्तीहरू फुटेर ढल चुहिने समस्या छ । अब पूराना र साना पाइप हटाएर अनिवार्य आधुनिक प्रविधिका ठूला पाइप जडान गर्नुपर्छ ।

काठमाडौंमा सडकसहितका ठूला पूर्वाधार निर्माण तीव्र छ । त्यसमाथि अधिकांश स्थानमा नाला खुला छाडिएको छ । वर्षामा निर्माणजन्य फोहोर गिटी, बालुवा र ढुंगा पनि ढलमै बग्ने अवस्था छ ।

प्लास्टिकजन्य ठोस फोहोर पनि ढलमै आउने छ । नकुहिने र ठोस फोहोर पनि ढलमै बगाउने काठमाडौंका बासिन्दाको बानी आगामी दिनमा चुनौती बन्ने सम्भावना छ ।
काठमाडौंका ढलमा दुई मिटरसम्म गोलाइका ठूला पाइप जडान गरिएको छ । ती पाइपले प्रतिमिनट एकदेखि डेढ करोड लिटर पानी मात्र थेग्न सक्छन् । मेलम्चीका कारण अहिलेभन्दा पाँच गुणा चाप थपिनेछ ।

मेलम्चीमै यांग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी मिसाएर काठमाडौं ल्याउने योजना छ । त्यसैले ढल व्यवस्थापनमा भइरहेको बेवास्ता निकट भविष्यमै शहरको ठूलो समस्या बन्ने दाबी सरकारी अधिकारीहरूको पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment