Comments Add Comment

टक्सार कार्यालयको दुई तलामा प्राधिकरणले भूकम्प संग्रहालय बनाउने

११ पुस, काठमाडौं । ०७२ को भूकम्पका स्मृतिहरूलाई जोगाउने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संग्रहालय बनाउने भएको छ । साविकको टक्सार कार्यालय (राष्ट्र बैंक) पुनर्निर्माण सम्पन्न भएसँगै त्यसको दुई तल्लामा संग्रहालय स्थापना गर्ने योजना छ ।

संग्रहालय निर्माणको लागि डिजाइनको काम सम्पन्न भइसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जानकारी दिए । उनका अनुसार, यो संग्रहालय भूकम्पको त्रास भोग्नु नपरेको नयाँ र भावी पुस्ताका लागिसमेत एक पाठशाला हुनेगरी निर्माण गरिनेछ । भूकम्पपछिको अवस्था, उद्दार र राहतमा खटिएका दृश्य र प्रमाणहरू संग्रहालयमा रहनेछन् ।

भूकम्पपछिको चार वर्षमा धेरै मानिसका लागि यसको त्रासदी अतित बनिसक्यो । संग्रहालयले भूकम्प जति बेला पनि आउन सक्छ, जस्तोसुकै विनाश निम्याउन सक्छ भनेर जनतालाई चनाखो बनाइराख्ने विश्वास पनि लिइएको छ ।

संग्रहालयमा नेपालले भूकम्पपछि पुनर्निर्माणमा कसरी काम गर्‍यो भन्ने जानकारी दिनेगरी सामग्रीहरू राखिने भएको छ । संग्रहालयबाट बाहिर निस्किएपछि १२ वैशाख ०७२ को भूकम्प, त्यसको त्रास, त्यसबाट उत्रन गरिएको प्रयासबारे सम्पूर्ण जानकारी हुने सीईओ ज्ञवालीले बताए ।

अभिलेखीकरण हुने

नेपालसँग १९९० सालको भूकम्प र यसले पारेको क्षतिबारे धेरै अभिलेख उपलब्ध छैनन् । त्यसपछिका साना–ठूला भूकम्पका अभिलेख पनि भेटिँदैनन् । ०७२ को भूकम्पको अभिलेख अभाव नहोस् भनी विभिन्न योजना अगाडि सारिएको प्राधिकरणले जनाएको छ । सोही योजना अनुसार इन्जिनियरिङ अध्ययन संस्थानमा अन्तर्राष्ट्रियस्तरको भूकम्प अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।

संग्रहालय तथा अनुसन्धान केन्द्रको संस्थागत दिगोपनका लागि केन्द्रीय तहमा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण, विभिन्न मन्त्रालय र स्थानीय तहमा स्थानीय समुदाय र स्थानीय सरकारहरूसँगको सहकार्यलाई जोड दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment