Comments Add Comment

मिर्गौला रोगीको विलौना : सरकारी सुविधा ‘हात्तीको मुखमा जिरा’

 उपचार गर्दा घरखेत रित्याउनुपर्ने 

इलामका समीर लिम्बु नौ महिना अघिदेखि मृगौला रोगबाट ग्रसित छन् । मृगौला रोगबाट बच्नको लागि उनले नौ महिनाको समयमा मात्रै १८ लाख रुपैयाँ खर्च गरिसके । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालादेखि निःशुल्क भएको डायलासिसले उनलाई आर्थिक रुपमा केही राहत दिएको भएपनि उनले मासिक करिब ४० हजार रुपैयाँ व्यक्तिगत तर्फबाट खर्च गर्ने गरेका छन् ।

भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौलाको प्रत्यारोपण गर्ने भनेर कुरेको भएपनि उनले अहिले समय नपाएर बसेको बताए । ‘कहिले पालो आउँछ थाहा छैन ।’ उनी भन्छन् ‘घरखेत रहुन्ज्याल जीवन रहन्छ भन्छन् । मेरो पनि बाँच्नकै लागि घरखेत सबै सकिने अवस्था आइसकेको छ ।’

समयसमयमा रगत परीक्षण गरिरहनु पर्ने, एचआईभी युरेनियमहरुको अवस्थाबारे जानकारी लिइरहनुपर्ने र अरु उपचार र औषधिको सहित हिसाब जोड्दा ४०/५० हजार मासिक खर्च हुने गरेको उनले बताए । उनी भन्छन् ‘समय समयमा इन्फेक्सन भइरहन्छ । बेला बेलामा अक्सिजन पनि दिइरहनुपर्छ । ४ दिन अघिमात्रै २५ दिन आइसियूमा बसेर निस्किएँ । अहिलेसम्मको सबै हिसाब जोड्दा १८ लाख रुपैयाँ नाघिसकेको छ ।’ उनले त्यसमध्ये कसैले सहयोग गरेको र कसैले ऋण दिएको भन्दै ८ लाख रुपैयाँ ऋणले झनै बेचैन बनाएको बताए ।

मृगौला रोगको बारेमा चिकित्सकहरु भन्छन् ‘यो रोग घरखेत हुँदासम्म जीवन र त्यसपछि मृत्युवरण गर्न बाध्य बनाउने रोग हो ।’ प्रत्यारोपण गरेपछिको अवस्थालाई छाड्ने हो भने नियमित डायलाइसिसको भरमा बाँच्नेहरुको लागि यो नेपालमा घरखेत बाँकी हुन्जेलको लागि मात्रै हो जीवन । सरकारले दिएको सुविधाले धेरै हदसम्म सुविधा दिएको भएपनि अझैपनि धेरै गरिब तथा विपन्नहरु पैसाकै अभावका कारण मृत्युवरण गर्न बाध्य छन् ।

कुनैपनि संकेत बिना नै ठूलो क्षति गराईसक्ने मृगौला रोगको चंगुलमा पर्नेहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । झण्डै ९० प्रतिशतसम्म मृगौलाको नोक्सानी हुँदासम्म पनि केही संकेत देख्न नसकिने भएकोले पनि यसलाई ‘साइलेन्ट किलर’ समेत भन्ने गरिन्छ । मृगौला रोगीहरुको उपचारको लागि मात्रै सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ । यो दर प्रतिवर्ष डरलाग्दो रुपमा बढिरहेको स्वास्थ्य सेवा विभागको तथ्यांकले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले ४१४० जनालाई निःशुल्क डायलाईसिस बापतको २५०० रुपैयाँसम्मको सेवा दियो । यसमध्ये केही संख्यामा एचआईभी पोजेटिभ रहेका बिरामीहरुलाई प्रतिडायलाईसिस ४ हजार रुपैयाँ बराबरको सेवा दिने गरिन्छ ।

नेपालमा यकीन तथ्यांकको अभावका कारण विगत केही वर्ष अघिदेखि ३० लाखभन्दा धेरै मृगौलाका रोगीहरु रहेको बताइन्छ । तर, मृगौलाको ९० प्रतिशतसम्म खराबी हुँदासम्म पनि त्यसको सिधा असर नदेखिने भएकोले नियमित परीक्षण नगर्ने अझ धेरैमा यो रोग लागेको हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

विपन्नहरुकै पीडा धेरै

विपन्न नागरिकहरुको लागि सरकारले स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा ईकाईका महेन्द्रध्वज अधिकारीका अनुसार अहिले मृगौला रोगीहरुको लागि विभिन्न ४ किसिमका सेवाहरु दिने गरिएको छ । पहिलो त मृगौला प्रत्यारोपण हुन नसकेकाहरुको लागि नियमित डायलाईसिसको लागि प्रति डायलाईसिस २५ सय रुपैयाँ बराबरको सेवा दिने गरिन्छ । यसमा एचआईभी पोजेटिभ देखिएकाहरुको लागि थप १५ सयबराबरको सेवा दिने गरिन्छ ।

त्यस्तै, सरकारले मृगौला प्रत्यारोपणको लागि प्रयोगशाला खर्च सहित गर्दा कूल ५ लाख ५० हजार रुपैयाँसम्मको सेवा दिने गरिएको छ । मृगौला प्रत्यारोपण पछि बिरामीहरु लामो समयसम्म पहिलेजस्तै स्वस्थ हुनसक्ने चिकित्सकहरु दाबी गर्छन् ।

मृगौला पीडितको करोडौं रुपैयाँ कहाँ-कहाँ जान्छ ?

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै विभागले २६५ जना विपन्नहरुको मृगौला प्रत्यारोपणको लागि प्रतिव्यक्ति ५ लाख ५० हजार बराबरको खर्च गर्यो । यसलाई हिसाब गर्दा १४ करोड ५७ लाख रुपैयाँ त मृगौला प्रत्यारोपणको लागि मात्रै सरकारले खर्च गरेको देखिन्छ । यस्तो प्रत्यारोपण तीन वर्ष अघि जम्मा १५७ जनाले मात्रै गरेका थिए । तर, यसको संख्या भारी संख्यामा बढ्दै गएको अधिकारी बताउँछन् । एसले एकातर्फ विपन्नहरुमा गम्भीर किसिका रोगहरुको संक्रमण बढ्दै गएको पुष्टि हुन्छ भने अर्काे तर्फ यसले सरकारलाई समेत यसको खर्च धान्नको लागि समस्या सिर्जना भएको पाउन सकिन्छ ।

त्यस्तै, सरकारले सिएपिडीको लागि प्रति डायलाईसिस ४०८ रुपैयाँ बराबरको सेवा दिने गरेको छ । यो घरमै बसेर गर्नसकिने डायलाईसिसको एउटा विधि हो । त्यसको लागि आवश्यक पर्ने सामग्रीहरुको लागि सरकारले सो शुल्क दिने गरेको हो । गत आर्थिक वर्ष मात्रै यो शीर्षकमा २२१ जनालाई सेवा दिइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

अर्काेतर्फ, डायलाईसिस पनि गर्न नसकिने र मृगौला प्रत्यारोपण पनि गर्न नसकिने व्यक्तिहरुको लागि औषधि खर्चको रुपमा एक पटक सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिनेगर्छ । ४ वर्ष अघि २२२ जनाले यो सेवा लिएकोमा गत आर्थिक वर्षमा मात्रै ९३६ जनाले सेवा लिएको केन्द्रको तथ्यांकले जनाएको छ ।

तीन वर्षमा ११३ प्रतिशतले बढ्यो डायलाईसिस गर्ने बिरामीको संख्या

तथ्यांकलाई आधार मान्दा पछिल्लो तीन वर्षमा ११३ प्रतिशतले बिरामीको संख्या बढेको देखिएको छ । आर्थिक वर्ष ०७२/७३ मा सरकारले १९३९ जनालाई डायलाईसिसको सेवा दिएकोमा आर्थिक वर्ष ७५/७६ मा ४१४० मा जनालाई डायलाईसिसको लागि सहयोग गरेको थियो । अर्काेतर्फ ०७२/७३ मा ८५ जनाले सेवा लिएको सिएपीडीमा ०७५/७६ मा आइपुग्दा सेवाग्राहीको संख्या २२१ पुगेको छ । मृगौला प्रत्यारोपण गर्नेको संख्या १५७ बाट बढेर २६५ जना पुगेको छ । मेडिकल ट्रिटमेन्टको संख्या यो अवधिमा २२२ बाट बढेर ९३६ पुगेको छ ।

किन बढ्दैछन् मृगौलामा रोगी ?

मान्यता यो छ कि हरेक वर्ष देशभरमा ३ हजार जनाले मृगौला रोगकै कारण मृत्युवरण गर्छन् । मृगौलाको महत्वपूर्ण काम भनेको ज्यादामात्रामा पानी जम्मा भएर हुनसक्ने खराबी नियन्त्रण गर्ने, रक्तचापको सन्तुलन गराउने, रगत-आरबिसी)को उत्पादन आदि काम गर्छ । जानकारहरुका अनुसार यसले पानीको नियन्त्रण नगर्दा फोक्सोमा धेरै पानी जम्मा भएपछि बिरामीको निधन हुन्छ ।

जतिबेलासम्म घरखेत सकिँदैन त्यतिबेलासम्म जीवन

मृगौला रोग जस्तै मुटु रोग र क्यान्सर पनि जटिल र गम्भीर किसिमका नसर्ने रोगहरु हुन् । तर, यी दुईमध्ये पनि केही फरक छन् । क्यान्सर र मुटुको रोगहरु छिटो छिनोफानो हुने प्रकृतिका हुन्छन् । यी रोगहरु या त छिटै निको हुन्छन् । या त बिरामीको मृत्यु हुन्छ । तर, मृगौला रोग गरिबहरुको लागि बढी संवेदनशील रोग हो । त्यसैले विपन्न र मध्यम आय भएका परिवारहरुको लागि यो एउटा पारिवारिक समस्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment