Comments Add Comment

नेकपाले सभामुख टुंगो लगाउन नसक्दा संसद् बैठक धकेलिँदै

११ पुस, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ ।

उपसभामुख डा.शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ । आजको बैठकको कार्यसूचीमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने पनि थियो ।

सत्तारूढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेबारे छलफल हुन नसक्दा बैठक प्रभावित भएको हो । नेकपा अध्यक्ष प्रचण्ड बिहीवारै चितवनबाट आउने र सभामुखको टुंगो लगाउने भनिएको थियो । तर प्रचण्डले बिहीबार काठमाडौं फर्किने कार्यक्रम रद्द गरेपछि पार्टीमा छलफल हुन पाएन ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सभामुखका बारेमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा मतैक्य हुन सकेको छैन । प्रचण्डले सभामुख पार्टी एकीकरणअघि नै माओवादीले पाएकाले अबको सभामुख पनि आफैंले प्रस्ताव गर्ने अडान राखेका छन् ।

प्रधानमन्त्री ओली भने सभामुख सुवास नेम्वाङलाई बनाउन चाहन्छन् । अब संसद् झनै पेचिलो बन्ने भएकाले आफूले भर गर्ने र संसदको नेता बन्न सक्ने व्यक्तिलाई सभामुख बनाउने प्रधानमन्त्रीको चाहना रहेको उनी निकट एक नेताले बताए । यद्यपि, दुई नेताबीच व्यक्तिका विषयमा छलफल भएको छैन ।

अध्यक्ष प्रचण्डलाई सभामुख नछाड्न पूर्वमाओवादीका केही नेताहरूको दबाव छ । प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन खोजेको बताइन्छ । सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद् पम्फा भुसाल पनि छन् ।

दुई अध्यक्षबीच सहमतिपछि सचिवालय बैठकले सभामुखको उम्मेदवार तय गर्ने नेकपा स्रोतले जनाएको छ । नेताहरूलाई दुई अध्यक्षलाई सहमति गरेर एउटै नाम बैठकमा पेस गर्न सुझाव दिएका छन् ।

पार्टीले स्पष्ट निर्देशन नदिएपछि उपसभामुख तुम्बाहाम्फेको राजीनामा पनि सरेको छ । सभामुखमा आजै टुंगो लागेर निर्वाचन प्रक्रिया अघि बढ्ने भएमा उनले राजीनामा दिने तयारी थियो । पार्टीले टुंगो लगाएर दुवै अध्यक्षबाट निर्देशन आएपछिमात्र उनले राजीनामा दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment