Comments Add Comment

भ्रमण वर्ष २०२० : मकवानपुर गढीमा विजय उत्सवको आयोजना हुने

११ पुस, हेटौंडा । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुर गढीमा विजय उत्सव मनाउनेदेखि लिएर इन्द्रसरोवरमा प्याराग्लाइडिङ गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।

भ्रमण वर्षलाई सफल पार्न समन्वय समितिले जिल्लाको प्रमुख नाका क्षेत्रमा गन्तव्य चिनाउने होर्डिङ बोर्ड राख्ने भएको छ । भ्रमण वर्षलाई सफल बनाउने जिम्मेवारी सबै नेपाली नागरिकको भएकाले सोही अनुसार योजनावद्ध रुपमा कार्यक्रमहरु गर्न लागिएको समितिका प्रमुख रधुनाथ खुलालले बताए ।

कार्यक्रम अनुसार जिल्लामा रहेका अधिकांश पर्यटकिय स्थलको चित्रसहितको ब्रुसर प्रकाशन गर्ने भएको छ । पर्यटकको स्वागतका लागि हेटौंडाको बुद्ध चोक र शहिद स्मारक, मनहरी गाउँपालिकाले लोथर, थाहा नगरपालिकाले टिस्टुङ दामेचौर, इन्द्रसरोवर गाउँपालिकाले हुमाने भञ्ज्याङ र बागमति गाउँपालिकाले झुरझुरेमा होर्डिङ बोर्ड राख्ने भएका छन् ।

भ्रमण वर्ष २०२० को लोगोसहितको टोपी तयार गर्ने, प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा भएका पर्यटन स्थलहरुमा पुग्ने बाटो सरसफाइ र मर्मत गर्ने, जनवरी १ मा जिससले शहिद स्मारकमा र प्रत्येक स्थानीय तहले आ-आफ्नो स्थानीय तहमै आन्तरिक तथा वाह्य पर्यटकलाई स्वागत कार्यक्रम गर्नेछन् ।

ऐतिहासिक मकवानपुर गढीमा माघ १० गते विजय उत्सव मनाउने र हेटौंडाको शहिद स्मारकमा माघ १० देखि १६ सम्म शहिद सप्ताह मनाउने कार्यक्रम तय गरिएको समन्वय समितिका प्रमुख खुलालले बताए ।

पर्यटनको आगमनसँगै मुलुक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास रहेकाले मकवानपुरका होटल व्यवसायीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने गरी नेपाली खानाको मेनु सहित तयार गर्ने र भ्रमण वर्ष लक्षित खानामा छुट दिने भएका छन् । होटलसम्म आएका पर्यटकका लागि यातायतको व्यवस्थापन गर्ने निर्णय भएको समन्वय समितिले जनाएको छ । हेटौंडा राइडर्स क्ल्बले पर्यटन वर्षलाई सफल बनाउन शनिबार अफरोड च्याम्पियनशीप प्रतियोगिता आयोजना गर्ने छ भने इन्द्रसरोवर गाउँपालिकाले इन्द्रसरोवर ताल माथि प्याग्लाइडिङसहित स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

समन्वय समितिको पहलमा जिल्लामा रहेका १० स्थानीय तहले प्रदेश सरकारले प्रति स्थानीय तह ३ पर्यटकीय गन्तव्य माग गरेको थियो । स्थानीय तहले जिल्लामा रहेका ३० प्रमुख गन्तव्य प्रदेश सरकारलाई दिएको समितिका प्रमुख खुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment