Comments Add Comment

रामेछापको भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्ने

११ पुस, रामेछाप । रामेछाप नगरपालिकाको वडा नम्बर ८ स्थित भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्ने भएको छ । सहिद गंगालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठको जन्मस्थलमा सो संग्रहालय बन्न लागेको हो ।

भंगेरीलाई कम्युनिस्टहरुको तीर्थस्थलको रुपमा विकास गर्ने गरी भंगेरीलाई अन्तर्राष्ट्रिय संग्रहालयको रुपमा विकास गर्ने प्रदेश-३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुँगेलले बताए ।

‘हिन्दुहरु पशुपति जान्छन्, मुलमानहरु मक्का मदिना जान्छन्, क्रिश्चियनहरु ठूला ठूला चर्चमा जान्छन् । अब कम्युनिस्ट र प्रजातन्त्रवादीहरु गंगालाल र पुष्पलालको जन्मथलो भंगेरीमा आउँछन् । हामी त्यही अनुसारको पूर्वाधार निर्माणमा लागेका छौं,’ ढुँगेलले भने ।

भंगेरीमा गंगालाल र पुष्पलाल जन्मिएको स्थानमा सरकारले जग्गा अधिग्रहण गरी पार्क, संग्रहालय लगायतका संरचना निर्माणको काम सुरु गरेको छ । गंगालाल, पुष्पलाल र साहित्यकार कृष्णलाल अधिकारीको समेत शालिक राख्ने गरी निर्माण सुरु भएको र शालिक निर्माणको काम समेत भइसकेको उनले बताए ।

भंगेरीमा पनि जग्गा सम्यायउने तथा बाटो खोल्ने काम भएको छ । यसको साथै एउटा हलको निर्माण पनि भएको छ । सो स्थानमा संग्रहालय निर्माणको लागि यस वर्ष पनि सरकारले बजेट छुट्याएको छ ।

सो संग्रहालयमा गंगालाल र पुष्पलासँग सम्बन्धित सामाग्रीहरुका साथै कम्युनिस्ट पार्टीका महत्वपूर्ण दस्तावेज तथा सामाग्रीहरु समेत राखिने छन् । त्यसको लागि गंगालाल र पुष्पलालले प्रयोग गरेका सामाग्रि उहाँहरुका पुस्तक, लेख रचना लगायतका सामाग्रीहरुको संकलन पनि भइरहेका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका प्रमुख एवं रामेछापका पूर्वसांसद देवशंकर पौडेल लगायतको टोलीले पुष्पलाल भारतमा निर्वासित भई बस्दा प्रयोग गरेका समान तथा जीवन शैलीको वृत्तचित्र समेत तयार गरी रहेको छ । यी सबै कुरा समावेश गरेर राखिएपछि पुष्पलालको बारेमा अध्ययन गर्न चाहनेले उनको जीवनशैली सहजै बुझ्न सक्ने बताइएको छ ।

गंगालाल र पुष्पलालको ऐतिहासिक जन्मथलोमा अध्ययन अनुसन्धान गर्न आउनेहरुलाई पर्याप्त सामाग्रीहरु दिनसक्ने गरी भंगेरीको विकास गर्नु पर्ने नेकपाका केन्द्रिय सदस्य एवं पूर्वसांसद देवशंकर पौडेल बताउँछन् । यसका लागि सरकार र स्थानीय सबैले सहयोग गर्नु पर्ने उनले बताए ।

सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ दाजुभाइ हुन् । उनीहरुका बुबा रामेछापको मालपोत अड्डामा बडाहाकिमको रुपमा जागिरको लागि आएका बेला भंगेरीमा डेरा लिइ बसेका थिए । गंगालाल र पुष्पलाल दुवैको सोही समयमा भंगेरीमा जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment