Comments Add Comment

रिसर्च सेन्टर स्थापना गर्न डेरी एसोसिएशनको माग

११ पुस, बुटवल । नेपाल डेरी एसोसिएशनले दुग्धजन्य पदार्थको गुणस्तरीय उत्पादन, दक्ष जनशक्ति उत्पादन र अनुसन्धानका लागि राष्ट्रियस्तरको डेरी रिसर्च सेन्टर स्थापना गर्न माग गरेको छ ।

२१ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा बुटवलमा शुक्रबार पत्रकार सम्मेलन गरी एसोसिएशनले यस्तो माग गरेको हो । नेपालकै पहिलो डेरी सथापना भएको काभ्रेको नालास्थित टुसालमा रिसर्च सेन्टर स्थापना गर्न एसोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले माग गरे । सरकारले घोषणा गरेको सहुलियत दरको ऋण प्राप्तिको लागि बैंकहरुसँग सहकार्य गरी उद्योगीहरुलाई सहजीकरण गर्न भ्याट रिबेट ५० प्रतिशत भएको र हाल हटाइएकोमा पुनः लागु गर्न पनि अध्यक्ष सापकोटाले माग गरे । दुग्ध विकास नीति २०६४ परिमार्जन गराइ कार्यान्वयन गर्न, नो रिटर्न कार्यविधि बनाइ कार्यान्वयन गर्न, खाद्य ऐन २०२३ समय सापेक्ष परिमार्जन भई नयाँ आएको ऐनमा रहेका अप्ठ्यारालाई डेरी उद्योगीहरुको हित अनुरुप ल्याउन पनि उनले माग गरे ।

मुलुकमा दैनिक ६२ लाख लिटर दुध उत्पादन भइरहेकामा १७ प्रतिशत मात्र औपचारिक क्षेत्रबाट बिक्री वितरण हुने ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट बिक्री वितरण हुने गरेकाले सबैलाई औपचारिक क्षेत्रमा समेट्न एसोसिएशनले माग गरेको छ । कुल उत्पादित दूधको ५० प्रतिशत किसान आफैले उपभोग गर्ने गरेका छन् ।

डेरी क्षेत्रमा रोजगारीको हकमा ५ लाख कृषक परिवार आवद्ध रहेका र ३० हजार भन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाएका महासचिव प्रल्हाद दाहालले बताए । वार्षिक राजश्व  १ अर्ब भन्दा बढी डेरी क्षेत्रले  बुझाउने गरेको र दैनिक ४ करोड भन्दा बढी रकम शहरबाट गाउँ प्रवाह भइरहेको दाहालले बताए । डेरी क्षेत्रमा २५ अर्ब भन्दा बढी लगानी भएको दाहालले बताए । दुग्ध क्षेत्रमा तत्काल विदेशी लगानी आवश्यक नभएको र दुग्ध क्षेत्रमा विदेशी लगानी विधेयक फिर्ता गरेकामा नेपालका डेरी व्यवसायीहरुलाई राहत महसुस भएको महासचिव दाहालले बताए ।

श्रम ऐन २०७५ र सामाजिक सुरक्षा कोष,बैंकको व्याजदर, डिजेल, पेट्रोलको मल्यवृद्धि, घर भाडा वृद्धि र ५० प्रतिशत भ्याट छुट हटाइएकोले आयातित दुध तथा दुग्ध पदार्थसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको व्यवसायीले गुनासो गरे । विद्युत महशुलमा छुट दिइनुको सट्टा उल्टो महशुलमा वृद्धि हुँदा र संशोधित खाद्य ऐनका कारण धेरै डेरी व्यवसायीहरुलाई अप्ठ्यारो भएकोले पुनर्विचार गर्न एसोसिएशनले माग गरेको छ ।

बुटवलमा हुने साधारणसभामा सातै प्रदेशबाट दुई सय बढी डेरी व्यवसायीहरु सहभागी हुने प्रदेश ५ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए । साधारणसभाको उद्घाटन मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यक्रम तय भएको प्रदेश अध्यक्ष भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment