Comments Add Comment

पोखरेलीको चेतावनी– हिमातिर आँखा नलगाऊ, सके फूलबारी चलाऊ

२०७३ मै यति समूहलाई दिन खोजिएको थियो हिमा गृह

११ पुस, पोखरा । हिमा गृह रिसोर्ट निजी क्षेत्रलाई भाडामा दिने तयारी भइरहेको नेपाल ट्रष्टका अधिकारीहरुको अभिव्यक्तिले पोखरामा तरंग ल्याएको छ ।

गोकर्ण रिर्सोटको सम्झौता झण्डै ६ वर्ष बाँकी रहँदै अर्को २५ वर्षका लागि यति समूहलाई दिने निर्णयको बचाउ गर्न नेपाल ट्रष्टको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । त्यसक्रममा कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह पनि रिसोर्ट चलाउन निजी क्षेत्रलाई दिन लागिएको बताए ।

सरोकारवालाले हिमा गृह निजी क्षेत्रलाई दिए फेरि आन्दोलन गर्ने चेतावनी नै दिएका छन् ।

यसअघि पनि सरकारले हिमा गृहसहित १० रोपनी ४ आना जग्गा यति समूहलाई भाडामा दिने निर्णय नगरेको होइन । ८ वैशाख २०७३ मा फेवा किनारमा रहेको हिमा गृह यति समूहलाई भाडामा दिने निर्णय भएको थियो । तर पोखरेलीले त्यसको विरोध गरे । त्यही आन्दोलनका कारण सरकार पछि हट्यो ।

अहिले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको पोखराका नागरिक अगुवाले बताएका छन् । भ्रमण वर्ष २०२० को गण्डकी प्रदेश सहसंयोजक अग्नि कँडेलले हिमा गृह बचाउन फेरि आन्दोलनको विकल्प नभएको बताए । ‘यस्तो निर्णय निजी क्षेत्रलाई पोस्न फाइदाजनक छ,’ उनले भने, ‘पोखरेलीका निम्ति यो घातक निर्णय हुनेछ । र, यो निर्णय हामीलाई सैह्य हुने छैन ।’

उनले यसअघि पनि यति समूहलाई भाडामा दिने निर्णय गर्दा आन्दोलन भएको स्मरण गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘राज्यको सम्पति निजी क्षेत्रलाई जिम्मा लगाउने निर्णय गर्नेहरुले यो बुझुन कि पोखरेलीसँग कति दम छ ।’

कुनै अप्रिय निर्णय गरे त्यसविरुद्ध हुने आन्दोलनको नेतृत्व आफूहरुले नै गर्ने जानकारी ट्रष्टका अध्यक्ष एवं उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई गराएको कँडेलले बताए ।

पर्यटन व्यवसायी गणेशबहादु भट्टराईले पनि संरक्षण गर्नुपर्ने हिमा गृहलाई बिक्री गर्ने सरकारको तयारी घातक हुने बताए । ‘हिमा गृहलाई हेरिटेजकै रुपमा प्रयोग गरिनुपर्छ । यो राष्ट्रिय सम्पत्ति हो’ उनले भने, ‘सरकारले हरेक ठाउँमा ब्यापार गर्ने होइन ।’ इतिहास बनिसकेको राजसंस्थासँग जोडिएका सम्पत्ति र ऐतिहासिक ठाउँलाई सरकारले संरक्षण गरेर संग्रहालय वा कुनै सांकृतिक र प्राकृतिक महत्व बोकेको ठाउँका रुपमा विकास गर्नुपर्ने उनले बताए ।

रिसोर्ट चलाउने भए फूलबारी रिसोर्ट चलाउन आग्रह गर्दै पोखरेलीले हिमा गृहमा आँखा नलगाउन चेतावनी दिएका छन् । सामाजिक अभियान्ता एवं कवि तीर्थ श्रेष्ठले ऐतिहासिक सम्पदा नहडप्न आग्रह गरे ।

‘हिमा गृह ऐतिहासिक सम्पदा हो । यसलाई इतिहास र प्रकृतिको ज्ञान लिने एकेडेमीको रुपमा विकास गरेर आकर्षणको थलो बनाउन सकिन्छ,’ तीर्थले भने, ‘पोखरा आउने पर्यटकलाई पुग्ने निजी क्षेत्रले रिसोर्ट र होटलमा लगानी गरिरहेका बेला कसैको स्वार्थ पूरा गर्न राज्यको सम्पति दिन आवश्यक छैन ।’

भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश सदस्य टीकाराम सापकोटाले पनि सम्पदाको संरक्षण गर्नेुपर्ने सरकारले रिसोर्ट बनाउन दिने तयारी गर्नु उपयुक्त नभएको बताए । उनले ऐतिहासिक, प्राकृतिक महत्वको सम्पदा भ्रमण वर्षको मुखमा निजी क्षेत्रलाई सुम्पने सरकारी निर्णयको विरोध गर्ने सापकोटाले बताए ।

के हो हिमा गृह ?

तत्कालीन राजा महेन्द्र शाहका माइला भाइ हिमालय वीरविक्रमका नाममा हिमा गृह बनेको थियो । हिमालय निःसन्तान दिवंगत भए । त्यसपछि हिमागृह तत्कालीन राजा वीरेन्द्रको नाममा आयो । फेवा किनारमा रहेका रत्न मन्दिर र हिमा गृह तत्कालीन राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मका रोजाइको थलो थियो ।

पोखरा आउँदा राजपरिवारको बास रत्नमन्दिर र हिमागृहमा हुन्थ्यो । ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ को रात रत्नमन्दिरमा बिताएका थिए । २०६२/०६३ को जनआन्दोलनपछि वीरेन्द्रको नाममा रहेको रत्नमन्दीर र हिमा गृह जनताको भयो । २०६४ साल असोज २१ गतेको मन्त्रिपरिषदको निर्णयले रत्नमन्दिरलाई नेपाल ट्रष्टको नाममा ल्याउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment