Comments Add Comment

सही काम गरेर मात्र सफल भइन्छ

एउटा पुरानो भनाइ छ – ‘यदि तिमी सफल हुनुछ भने प्रत्येक दिन यस्तो काम गर कि जसले तिमी आफैंमा डर पैदा होस् ।’

माथिको भनाइले मानिसहरुलाई आफूले पहिले गरेको कामभन्दा फरक काम, अर्थात सिर्जनात्मक काम गर्न सन्देश दिन्छ ।

अहिलेको विश्वव्यापीकरणको युगमा मानिसहरु सफलताका लागि कुदिरहेका देखिन्छन् । तर, अधिकांश मानिसले सफलताको स्वाद चाख्न पाइरहेका हुँदैनन् । कतिपय मानिसहरु मेहनत नगरेका कारणले असफल भएका देखिन्छन् भने कतिपय चाहिँ एकदमै कडा मेहनत गर्दा पनि सफल भइरहेका हुँदैनन् ।

अधिकांश असफल मानिसहरु लगातार एकै प्रकारका प्रयासहरु गरिरहेका हुन्छन् । उनीहरु सफल हुन चाहान्छन् । तर, आफ्नो काम गर्ने तरिका, बानी भने छोड्न तयार हुँदैनन् ।

नयाँ चिज प्राप्त गर्नका लागि पुरानो चिज त्याग्न तयार हुनुपर्छ । सबैका आ–आफ्ना समस्या हुन्छन् र आफ्नो समस्या सबैलाई ठूलो लाग्ने गर्छ । तर, समस्याको हल पनि हामीसँगै हुन्छ ।

कति काम गरियो भन्दा पनि कस्तो काम गरियो भन्ने महत्वपूर्ण हुन्छ । कति भन्नाले संख्यात्मक र कस्तो भन्नाले गुणात्मक शब्दलाई जनाउँछ । कति र कस्तो दुबैको आ–आफ्नो महत्व होला । तर, मुख्यतः पटक–पटक असफल हुँदा पनि त्यही तरिकाले काम गरेर सफल हुन खोज्नु मूर्खता बाहेक केही होइन । किनभने, जतिपटक हिँडे पनि गलत बाटोमा हिँडियो भने गन्तव्यमा पुग्न सकिँदैन । गन्तव्यमा पुग्न सही बाटो हिँड्नैपर्छ । कहिलेकाँही बाटो बिराइयो भने सही बाटो पत्ता लगाउनुपर्छ वा आफैंले नयाँ बाटो बनाउनुपर्छ ।

कामको राम्रो नतिजा आउनका लागि कसरी गर्ने भन्ने थाहा पाउन जरुरी हुन्छ । कसरी भन्ने शब्दले मानिसको काम गर्ने तरिकालाई जनाउँछ ।

मानिसले कुनै पनि काम गर्दा सफलता प्राप्त नभएसम्म कसरी गर्ने भन्ने प्रश्न गरिरहेमा सफलता प्राप्त गर्न सक्छ । असफलताका कारणहरुलाई कसरी असफल भएँ भन्ने प्रश्न गरिरहेमा सफलताको बिन्दु पत्ता लगाउन सकिन्छ । किनभने, अघिल्लो कार्यको असफलताका कारकतत्वहरु के–के थिए भन्ने जवाफ पत्ता लाग्छ ।

एकजना व्यक्ति जागिरको पहिलो दिन काममा एकदम खटिएछन् । आफ्ना हाकिमलाई प्रभावित गर्नका लागि राति अबेरसम्म काम गरेछन् । भोलिपल्ट हाकिमले उनलाई बोलाएर उनले गरेको कामको रिपोटिङ्ग गर्न भनेछन् ।

ती व्यक्तिले एकदमै प्रफुल्लित मुद्रामा भनेछन्, सर ! मैले हिजो राति १२ बजेसम्म काम गरेर सारा उल्टोपाल्टो भएको चिजलाई मिलाएँ ।

हाकिमले प्रश्न गरेछन् – के त्यस्तो उल्टोपाल्टो थियो र तिमीले मिलायौ ?

उनले अझै उत्साहित हुँदै भनेछन् – सर ! हाम्रो अफिसको कम्प्युटरको सम्पूर्ण किबोर्डहरु उल्टोपाल्टो रहेछ, त्यसैले सम्पूर्ण अक्षरहरुलाई क्रमवद्ध तरिकाले मिलाएँ, अहिले ए देखि जेडसम्म सबै क्रमबद्ध मिलेको छ ।

यस्तो मेहनत गरेर सफलता खोज्नु मूर्खता हो । कुनै पनि मेहनत गर्न साँच्चै नै आवश्यक छ कि छैन, त्यस कुरामा ध्यान दिएर मेहनत गर्नुपर्छ । अन्यथा, मासको दालमा बेसार राखेर पहेंलो बनाउँछु, भने जस्तै हुन्छ ।

गलत स्वीच दबाएर बत्ति कहिल्यै बल्दैन । गर्मीबाट बच्नु छ भने ज्याकेट फुकाल्नुपर्छ । ज्याकेट मन पर्छ भन्दैमा गर्मीमा पनि लगाइरह्यो भने त्यसले पोल्न थाल्छ । जाडोबाट बच्नु छ भने ज्याकेट लगाउन अल्छी गर्नुहुँदैन ।

ज्याकेट जस्तै मानिसले मनपर्ने चिज, बानी छाड्न सक्नुपर्छ । कहिलेकाँही बोक्न भारी हुने अप्ठ्यारो काम, अप्ठ्यारा साथीहरु तथा अन्य वातावरणहरुलाई पनि मिलाएर लैजानुपर्ने हुन सक्छ ।

निश्कर्षमा, मानिसले धेरै काम गर्‍यो भन्दैमा सफल हुँदैन, सफल हुनका लागि सही काम गर्नु आवश्यक हुन्छ ।

(लेखक बैंकर हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment