Comments Add Comment

‘एण्टिबायोटिक रेसिस्टेण्ट’ र ‘सुपर बग’को चुनौती

अलेक्जेण्डर फ्लेमिङले सन् १९२७ मा पहिलो पटक ‘पेनिसिलिन’ नामक ‘एन्टिबायोटिक’ पत्ता लगाएदेखि हालसम्म आधुनिक चिकित्सा शास्त्रले ठूलो फड्को मारिसकेको छ । अहिलेको समयमा विकराल संक्रमणबाट हुने ठूलो मृत्युदर घटाउन हामी यिनै विभिन्न प्रकारका एण्टिबायोटिकका कारण सफल भएका छौं ।

एउटा एन्टिबायोटिक वर्षौको अनुसन्धान,  ठूलो लगानी तथा धेरै जनावर र मानिसमा सफल परीक्षणपछि मात्र बजारमा ल्याइने गरिन्छ । आजको दिनमा एन्टिबायोटिकको प्रयोग र चुनौती दुवै हामीले जान्न जरुरी छ । यदि हामीमध्ये कोही बिरामी भयौं भने सजिलै नजिकको पसलमा गएर औषधी किनेर खाने गर्छौं र आफू निको हुने कुरामा ढुक्क हुन्छौं, ठीक भइरहेका पनि छौं ।

के हुन् त ‘एन्टिबायोटिक रेसिस्टेण्ट’ र ‘सुपर बग’?

जथाभावी तथा अनियमित रुपमा प्रयोग गरिएको एण्टिबायोटिकबाट उत्पन्न हुने शक्तिशाली ब्याक्टेरियालाई ‘सुपर बग’ भनिन्छ जसलाई पहिला प्रयोग गरिएको एन्टिबायोटिकबाट मार्न सकिन्न र यस्ता ब्याक्टेरियाले एन्टिबायोटिक पचाउन सक्ने शक्ति नै ‘ड्रग रेसिस्टेण्ट’ हो जसको कारणले औषधीको विकल्प कम हुने गर्दछ । ड्रग रेसिस्टेण्टका कारण साधारण संक्रमणमा पनि कडा र महँगो ‘एन्टिबायोटिक’ प्रयोग गर्नुपर्ने अवस्था आइलाग्नुका साथै लामो समयसम्म अस्पताल बस्नुपर्ने हुन्छ ।

सुपर बगहरु ‘जीका’ र ‘इबोला’ भन्दा डरलाग्दो हुने अनुमान गरिएको छ । विश्व स्वास्य्ष संगठन (डब्लुएचओ) का एसिस्टेन्ट डाइरेक्टर डा. केनीका भनाइ अनुसार ‘हामी चाडै नै उपचारको विकल्पबाट टाढा हुदैछौँ ।’

यसरी नै ‘एण्टिबायोटिक रेसिस्टेण्ट’ बढ्दै जाने हो भने सन् २०५० सम्ममा बार्षिक १० मिलियनको मृत्यु हुने अनुमान गरिएको छ ।

एण्टिबायोटिक रेसिस्टेण्ट हुने कारणहरु

१. कुनै पनि एन्टिबायोटिक बिना कारण लामो समय र बारम्बार प्रयोग गर्नु ।

२.  भाइरल ज्वरो, रुघाखोकी,  भाइरसद्वारा घाँटीको संक्रमणमा आफैं किनेर एन्टिबायोटिक सेवन गर्नु ।

३. अरुलाई ठीक भएको कथा सुनेको भरमा चिकित्सकको सल्लाहबिना त्यही औषधी किनेर प्रयोग गर्नु

४. अलि ठीक भएजस्तो भएपछि औषधिको डोज पूरा नगरी बीचैमा छाड्नु ।

५. केही स्वास्थ्य सेवा प्रदायक अथवा चिकित्सकले छिटो निको पार्न सुरुमै कडा वा उच्च कोटीको एन्टिबायोटिक प्रयोग गर्नु ।

६.   छिटो निको पार्न धेरै औषधि लेख्ने र खाने विचार राख्नु ।

७.  ब्याक्टेरियाले एन्टिबायोटिकसँग जुध्ने क्षमता बढाउँदै जानु ।

बालबालिका, बुढापाका, क्यान्सरको किमोथेरापी लिने बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई ड्रग रेसिस्टेण्ट ब्याक्टेरियाद्वारा संक्रमण भएमा उपचार जटिल हुन्छ । त्यसैले यस्ता विषयमा सतर्कता अपनाउन र व्यवहार परिवर्तन गर्न जरुरी छ ।

आजको दिनमा ‘ड्रग रेसिस्टेण्ट’ ठुलो चुनौती भएको छ । ‘ड्रग रेसिस्टेण्ट’ ब्याक्टेरिया उत्पादन गर्नमा धेरै हदसम्म हाम्रो जस्तो देशकै भूमिका ठूलो छ किनकी अमेरिकालगायत विकसित देशमा चिकित्सकको ‘प्रेस्क्रिप्सन’ बिना ‘डिकोल्ड’ र ‘पेनकिलर’ बाहेक अरु औषधि किन्न पाइन्न । यसले अनियमित र अनावश्यक औषधी सेवन नियन्त्रणमा छ  ।

ड्रग रेसिस्टेण्टको रोकथाम र जनचेतना

१. चिकित्सकको सल्लाहअनुसार मात्र एन्टिबायोटिकको प्रयोग गर्ने ।

२. चिकित्सकको सल्लाहबमोजिम साधारण एन्टिबायोटिकले काम नगरेमा मात्र कडा एन्टिबायोटिकको प्रयोग गर्ने ।

३. एक पटक सुरु गरेको एन्टिबायोटिकको डोज पुरा गर्ने ।

४. कुनै पनि एन्टिबायोटिक चिकित्सकले लेखेको समय भन्दा लामो समय सेवन नगर्ने ।

५.   भाइरल संक्रमणमा एन्टिबायोटिकको प्रयोग नगर्ने ।

६.   आफै औषधि किनेर खाने बानि त्याग्ने ।

७.   बालबालिकालाई अनिबार्य खोप लगाउने र जथाभावी धेरै औषधि प्रयोग नगर्ने ।

८.   सुनेको भरमा औषधि सेवन नगर्ने ।

९.   राज्यले सामुदायिक स्वास्थ्य केन्द्रद्वारा सल्लाह दिने, जनचेतनामूलक कार्यक्रम गर्ने तथा अनुगमन गर्ने आदि ।

(कन्सलटेन्ट जनरल प्राक्टिसनर, डा. लिङ्देन काठमाडौँ चाबहिलस्थित ओम अस्पतालको वेलनेस सेन्टरमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment