Comments Add Comment

अनुष्काले गाउँमा देखेको सपना

११ पुस, काठमाडौं । ‘विद्यार्थी भिषा’ च्यापेर अष्ट्रेलिया पुगेकी अनुष्का श्रेष्ठ बैंकिङ क्षेत्रमा करियर बनाउन चाहन्थिन् । पिताको पदचाप पच्छ्याउँदै उनले यो क्षेत्र रोजेकी थिइन्, तर अष्ट्रेलियामा आयोजित एक सौन्दर्य प्रतियोगिताले उनको लक्ष्य मोडिदियो ।

‘मिस नेपाल ओशियाना–२०१८’ को शीर्ष उपाधि जितेपछि अनुष्का नेपाल फर्किइन् । नेपाल आउँदा केही सपना र योजना पनि थियो । त्यसैले त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सिन्धुपाल्चोक हान्निइन् । उनको गन्तव्य थियो, सोल्सिङ गाऊँ ।

काठमाडौंमा जन्मेहुर्केकी, अष्ट्रेलियाको जीवन साक्षत्कार गरेकी अनुष्कालाई ग्रामिण परिवेशको खासै अनुभव थिएन । तैपनि काठमाडौंबाट ७० किलोमिटर टाढा रहेको त्यही गाउँमा आफ्ना सपना र योजना विच्छ्याउन चाहिन ।

तर जब सोल्सिङ पुगिन्, त्यहाँको जनजीवन बुझिन्, त्यहाँको समस्या र जटिलता आफैंले अनुभव गरिन् । उनलाई लाग्यो, मैले त सोल्सिङको दुःख चिनेकै रहेनछु । ‘मिस नेपाल ओशियनामा जितेको रकमले ल्यापटप र कम्प्युटर खरिद गरेर सोल्सिङ गाउँमा पुर्‍याउन चाहन्थें’ अनुष्काले सुनाइन्, ‘तर त्यहाँ ल्यापटप र कम्प्युटरभन्दा अरु नै खाँचो देखें ।’ शिक्षाको क्षेत्रमा केही सहयोग गर्छु भन्ने सोच बनाएकी उनलाई आफ्नो सोच नै परिर्वतन गरिन् । उनी केही यस्तो थालनी गर्ने सुरसारमा लागिन्, जसले सोल्सिङ गाउँको तुँवालो हटोस् ।

हुन पनि सोल्सिङ गाउँका बालबच्चालाई ल्यापटप र कम्प्युटर होइन, विद्यालय जाने लुगाफाटो समेत थिएन । विद्यालयमा पर्यापत शिक्षक थिएनन् । घर–परिवार आर्थिक संकटमा थियो । आयआर्जनको गतिलो र भरपर्दो स्रोत थिएन । कहाँबाट काम थाल्ने ? सुरुमा त अनुष्का आफैंमा अलमलिइन् । ‘बालबच्चाका लागि लुगाफाटो र स्कुल ब्याग पहिलो आवश्यकता लाग्यो’ अनुष्का सुनाउँछिन्, ‘त्यहीबाट मैले आफ्नो कामको थालनी गरें ।’

अनि सोल्सिङ फेरियो

अहिले गाउँका मानिसहरु उद्यममा लागेका छन्, आयआर्जन गर्न थालेका छन् । स्कुलमा नियमित शिक्षकको व्यवस्था भएको छ । बालबच्चा कापी कलम बोकेर विद्यालय धाइरहेका छन् र, भन्न थालेका छन्, ‘डाक्टर बन्छु, पाइलट बन्छु ।’

यो सपनाको विजारोपण त्यसै भएको होइन । उमेरले २३ बर्ष टेक्दै गरेकी अनुष्काको दृढता र पहलमा भएको हो, जसमा देश विदेशमा रहेका धेरैले सहयोग गरेका छन् ।

अनुष्कालाई लागेको छ, उनीहरुका कलिला सपनालाई साकार बनाउन शिक्षा नै पहिलो शर्त हो ।

तर यो केही जोर लुगाफाटो र स्कुल ब्याग दिएर मात्र हुँदैन । भनिन्छ नि, ‘माछो दिने होइन, माछा मारेर खाने सीप सिकाउनुपर्छ ।’ अनुष्काले पनि त्यही बाटो रोझिन् । सोल्सिङ गाउँलाई सोझै आर्थिक सहयोग होइन, आत्मनिर्भर बनाउन चाहन्छिन् । यसका लागि विभिन्न सीप विकासको तालिम दिलाइन् ।

अहिले सोल्सिङका घर–घरमा उद्यम छन्, उद्यमी छन् । कोही अगरबत्ती बनाउँदैछन्, कोही इँटा बनाउँदैछन्, कोही गलैंचा बुन्दैछन् । ‘उहाँहरु आफैं मेहनती हुनुहुन्छ, परिश्रमी हुनुहुन्छ तर सीप विकास हामीले गरिदिने हो’ अनुष्का भन्छिन्, ‘बाटो हामीले देखाइदिने हो, हिँड्नका लागि उनीहरु आफैं सक्षम र तयार छन् ।’

सोल्सिङ गाउँका १ सय ४० घर परिवार अहिले केही न केही सीपमुलक काममा लागेका छन् । उनीहरुले उत्पादन गरेका चिजबिजले उचित बजार पाउनुपर्छ भन्ने कुरामा पनि अनुष्का सचेत छिन् । गाउँका उत्पादनलाई कहाँ लगेर बेच्ने, कसरी बेच्ने भन्ने घोत्लिएकी छिन् । अनुष्का भन्छिन्, ‘पहिला म मिस नेपालकै स्पोन्सरहरुसँग कुरा गर्छु । त्यसपछि बाहिरी सहयोग पनि लिनेछु ।’

सोल्सिङकी छोरी

जसै अनुष्का सोल्सिङ गाउँमा पुग्छिन्, त्यहाँको हार्दिकताले उनलाई गदगद बनाउँछ । सबैले उनलाई ‘छोरी’ भन्छन् । हरेकको घरमा उनलाई हार्दिक आतिथ्य मिल्छ । ‘उहाँहरुले मलाई जति माया दिनुभएको छ, जति विश्वास गर्नुभएको छ, त्यसले मलाई अरु केही गर्नुपर्छ भन्ने लागेको छ’ अनुष्का सुनाउँछिन्, ‘म सोल्सिङ गाउँलाई एउटा नमुनाको रुपमा पेश गर्न चाहन्छु ।’

पहिलो पटक सोल्सिङ गाउँमा पुग्दा नै स्थानियवासी मेहनती, परिश्रमी र मिलनसार लागेको थियो अनुष्कालाई । उनीहरुलाई देखेर यसैपनि जाँगर चल्ने, उत्साह जाग्ने । अनुष्का भन्छिन्, ‘त्यहाँका मान्छेहरु काम गरेर खान खोज्ने खालको हुनुहुदोरहेछ । म पनि त्यस्तै स्वभावको थिएँ । त्यसैले म निकै उत्साहित थिएँ ।’

यो त्यही समयको कुरा हो, जतिबेला अनुष्का ‘मिस नेपाल’ भइसकेकी थिइनन् । यता शहरमा ‘मिस नेपाल’को तयारी चल्दै थियो । अनुष्कालाई लाग्यो, ‘मिस नेपालमा भाग लिनुपर्छ ।’

उनलाई यस्तो किन पनि लाग्यो भने जब कुनै क्षेत्रमा ‘नेम र फेम’ मिल्छ, तब आफ्ना अधकल्चो सपनालाई पुरा गर्ने शक्ति मिल्छ । सामथ्र्य मिल्छ । सहयोग मिल्छ । अनुष्काले अनलाइनखबरसँग भनेकी थिइन्, ‘सामान्य रुपमै मैले जे गरिरहेकी थिएँ, त्यो आफैंमा काफी थिएन । त्यसैले जब आफ्नो नेम र फेम बनाइन्छ, तब कुनैपनि काम अरु प्रभावकारी ढंगले गर्न सकिन्छ भन्ने लाग्यो ।’ उनले यसका लागि उपयुक्त प्लेटफर्म देखिन्, मिस नेपाल ।

सोल्सिङको साथ

अनुष्काले सोल्सिङका लागि काम गरिन् । अनुष्काको लागि पनि सोल्सिङ गाउँ फलिफापयुक्त भयो । सोल्सिङमा आफूले गरेका अभियानलाई उनले श्रव्यदृश्यमा उतारिन् । उक्त भिडियोले नै अनुष्कालाई मिस नेपालको यात्रा गौरवपूर्ण बनाइदियो ।

‘मिस वल्र्ड’को समापनमा अनुष्काले तयार गरेको सोही भिडियो पनि प्रदर्शन गरिएको थियो । भिडियो सिन्धुपाल्चोकको सोल्सिङ गाउँमै पुगेर तयार गरेकी थिइन् । १० मिनेट ३० सेकेन्डको भिडियोमा ७ महिनासम्म गरेको कामलाई देखाइएको छ । अनुष्का भन्छिन्, ‘हामीले त्यहाँ गएर काम गर्न थालेको म मिस नेपालमा जानुपूर्व नै हो । त्यहीँ समयदेखि नै हामीले भिडियो फुटेजहरु खिचिरहेका थियौं । पछि त्यसैलाई काटछाट गरेर १० मिनेटको बनाएका हौं ।’

ब्युटी विथ प्रपोज

‘फेस्टिभल अफ ब्रिटेन’ को एउटा इभेन्टको रुपमा भएको थियो, विकिनी प्रतियोगिता । खासगरी ‘विकिनी’को बजारीकरण गर्ने ध्ययेले सुरु भएको यो प्रतियोगिता समयक्रममा ‘सुन्दरी प्रतियोगिता’मा रुपान्तरण भयो । युवतीको नापनक्सालाई ‘सौन्दर्य’को मानक बनाएको प्रतियोगिताले ‘ग्ल्यामर वल्र्ड’मा बेग्लै तरंग ल्याइदियो ।

तर पछि सौन्दर्यको आयम र अर्थ क्रमश खुकुला हुँदै गयो । ‘विश्व सुन्दरी प्रतियोगिता’मा पनि केवल शारीरिक मात्र होइन, बौद्धिक आकर्षण पनि खोज्न थालियो । शारीरिक नापनक्सा मिलेको र बौद्धिकताले भरिपूर्ण युवती नै ‘विश्व सुन्दरी’को ताज पहिरिन योग्य ठहरिए । यद्यपि सुन्दरता र बौद्धिकता मात्र पनि काफी भएन । आफ्नो सौन्दर्य–छवी र बौद्विक–गुणको व्यवहारिक प्रयोगलाई महत्व दिन थालियो । यसपछि सौन्दर्य प्रतियोगितामा जोडियो, व्युटी विथ प्रपोज ।

र, मिस नेपाल अनुष्का श्रेष्ठले ‘विश्व सुन्दरी’को मञ्चमा उभिएर यही ‘व्युटी विथ प्रपोज’को ताज पहिरिन् ।

भलै यसले ‘शीर्ष उपाधि’को अग्लाई प्राप्त नगरेपनि यो आफैमा अर्थपूर्ण विधा हो । मिस वल्र्डमा ‘ब्युटी विथ प्रपोज’को उपधि पहिरिएपछि उपाधि नेपाललाई सर्मपर्ण गर्दै लेखेकी थिइन्, ‘विम वल्र्ड २०१९ मा नेपालले ब्युटी विथ प्रपोजको पुरस्कार जितेको छ । हामी हेड टु हेड विन र मल्टिमिडिया च्याम्पियन पुरस्कार पनि घर लैजादैँछौं । नेपाली मायाले विश्वमा ठूलो प्रभाव पारेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment