Comments Add Comment

प्रहरीलाई समयमै खबर गर्दा ‘बलि’ बाट जोगिइन्

कोभर्ट अपरेशनमा समातिए गिरोहका ७ सदस्य

१० पुस, काठमाडौं । ‘एउटा राम्रो प्राजेक्टका लागि ६ फिट हाइट भएको मोडल चाहिएको छ । काम गर्ने हो ?’ ब्यूटी कन्टेस्ट हुँदै एकाध म्यूजिक भिडियोमा पनि अभिनय गर्न सुरु गरेकी २१ वर्षीया प्रमिला (नाम परिवर्तन) लाई दुई साताअघि अफर आयो ।

मोडलिङ क्षेत्रमा भर्खरै प्रवेश गर्दै गरेकी उनका लागि यो अवसर थियो । त्यसमा पनि विराटनगर आउजाउ गर्ने हवाई टिकटसहित ५० हजार रुपैयाँ दिने भनेपछि उनले धेरै सोच्नै परेन ।

सितापाइलाकी प्रेममाया तामाङले प्रमिलाको उचाइ नापेर विराटनगरका उमेश शाहलाई पनि पठाए । ‘केही दिनपछि तिम्रो नाम फाइनल भयो भन्ने खबर आयो’, पीडित युवतीले प्रहरीसँग भनेकी छन् ।

त्यसपछि भने उनलाई नौला प्रश्नहरु सोध्न थालिए । उनी समझदारी पत्रमा हस्ताक्षर गरेर काम अघि बढाउने प्रस्ताव राख्थिन् । कार्यक्रमको ढाँचा माग्थिन् । तामाङको समूहले भने अर्कै प्रश्न गर्थें, ‘मासु खान्छौं ? रक्सी खाने गरेको छौं कि छैनौं ? महिनावारी भएको छ कि छैन ?’

मोडलिङसँग यस्तो प्रश्नको सम्बन्ध नभए पनि उनले जवाफ दिइन् ।

सांस्कृतिक कार्यक्रम गर्ने र विराटनगरबाट पारि नेपाल-भारत सीमा क्षेत्रमा सुटिङ हुने उनलाई बताइयो ।

सीमा क्षेत्रमा भन्ने वित्तिकै उनी झस्किइन् । फेरि उनलाई पूजा गर्नुपर्ने पनि भनिएको थियो । शंका लागेपछि काठमाडौं प्रहरी परिसर, टेकुमा गएर शुक्रबार मौखिक जानकारी गराइन् ।

प्रहरीको कोभर्ट अपरेशन

प्रमिलाको बयान सुनेपछि प्रहरीलाई पनि आश्चर्य लाग्यो । भारततिर लानुपर्ने, पूजा पाठ र महिनावारीबारे पनि सोध्नु पर्ने कारण के हुनसक्ला ? काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका भन्छन्, ‘सुरुमा हामीलाई ट्रान्स पार्टीका लागि लान खोजिएको हुनसक्छ भन्ने लागेको थियो ।’

तर प्रहरी अधिकृतसँग प्रमाण थिएन । उनीहरु प्रमाणसहित गिरोहका सदस्यलाई समात्न चाहन्थे । त्यसपछि काठमाडौं प्रहरीले एउटा गोप्य अपरेशन चलाउने निर्णय गर्‍यो र प्रमिलालाई साथमा लियो ।

नुवाकोटका कृष्ण तामाङले उनलाई आइतवार विराटनगर आउन भन्दै हवाई टिकट र २६ हजार रुपैयाँ दिए । तर प्रहरीसँग समन्वय भइरहेकाले बहाना बनाएर उनी त्यो दिन उडिनन् ।

सोमबार १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दाङकी दिलकुमारी बुढासँगै विराटनगर गइन् । प्रहरीले टोली पनि त्यही विमानबाट विराटनगर पुग्यो । विराटनगर विमानस्थलमा प्रमिलालाई लिन नवलपरासीका कृष्ण तामाङ र सप्तरीका उमेश शाह पुगिसकेका थिए ।

विमानस्थलबाट प्रमिलालाई जलजला चोकको कालिमन्दिर धर्मशाला लगियो, जहाँ कोठा नं. २०५ र २०६ बुक गरिएको थियो ।

त्यहाँ लगेर कृष्ण र उमेशकेमा समूहले पुनः उचाइ, महिनावारी भए/नभएको जानकारी, घाउचोटको जाँच गर्न थल्यो । युवतीको बयान बमोजिम विराटनगरमा पनि उस्तै प्रश्न सोधिएपछि अपरेशनमा खटिएका अधिकृतहरु पनि झस्किए । त्यसपछि तामाङ र शाह बाहिर गए ।

‘बाहिर गएका बेला उनीहरुले अपरिचित व्यक्तिसँग तान्त्रिक पूजाका लागि सीमापारी लैजाने भनेको सुनियो’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘कुराकानी गर्दै गर्दा सप्तरीका उमेश माझी, सुनसरीका रञ्जितकुमार चौधी र मोरङका दिलिप पोद्दार पनि सँगै थिए ।’

उनीहरुले पूजा सामग्री पनि खरिद गरे । युवतीलाई कपडा किनाउने बहानामा विराटनगरपारि जोगवनी पुर्‍याए । त्यहाँबाट एक घरमा राखेर तान्त्रिक पूजा गराउन लाग्दा उनलाई नेपाली अनुसन्धान अधिकृतको टोलीले पक्राउ गर्‍यो । पीडित र अभियुक्तलाई लिएर टोली काठमाडौं फर्कियो र काठमाडौंमा रहेकी प्रेममायालाई पनि सितापाइलाबाट पक्राउ परिन् ।

५ लाखको प्रलोभनमा बलि चढाउने प्रयास

प्रारम्भिक अनुसन्धानबाट आर्थिक लाभमा परेर ६ जनाले नेपाली युवतीलाई बलि चढाउन खोजेको देखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी बताउँछन् । उनकाअनुसार प्रेममाया र कृष्णलाई युवती मिलाइदिए वापत ५ लाख रुपैयाँ दिने आश्वसन दिइएको थियो ।

अन्यलाई दिने रकम भने खुलेको छैन । घटनाको मुख्य योजनाकार पोद्दार भएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ । पक्राउ परेका मध्ये उमेश जिल्ला प्रहरी कार्यालय, सप्तरीबाट अपहरण, शरीर बन्धक तथा हातहतियार तथा खरखजना मुद्दामा धरौटीमा छुटेका व्यक्ति हुन् ।

उनीहरुको साथबाट नगद १ लाख ९ हजार ५ सय, विभिन्न बैंकको ९ लाख एक हजार रुपैयाँ बराबरको चेक, कालो रङ्गको धागो, गेरु रंगको कपडा र कालो धागोले बाँधेको जाँदीको दुई वटा जन्तर, तान्त्रिक पूजाका सामग्री लगायत बरामद भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment