Comments Add Comment

सामाजिक सञ्जालले ल्याएको संकट : ‘कोल्याप्स’को मार्गमा पत्रकारिता

विश्वको पहिलो पत्रिका सन् १६०९ मा फ्रान्सबाट जर्मन भाषामा प्रकाशन भएको थियो । त्यसपछि जर्मन, अमेरिका, बेलायत लगायतका देशमा पत्रिका प्रकाशन भएका हुन् । अठारौं शताब्दीसम्म आइपुग्दा युरोप र अमेरिकामा धेरै पत्रपत्रिका प्रकाशन भए ।

उन्नाइसौँ र बिसौँ शताब्दीमा पत्रपत्रिका सूचना, शिक्षा र चेतनाको प्रमुख माध्यम मात्र बनेन, पत्रपत्रिकाको चार सय वर्षको इतिहासमा दुई सय वर्ष निर्विकल्प बन्यो । रेडियोको आविष्कार नहुन्जेलसम्म पत्रपत्रिका प्रतिस्पर्धीविहीन थिए ।

सन् १९१२ मा एटलान्टिक पानीजहाजको दुर्घटना सम्बन्धी समाचार पहिलोपटक रेडियोले प्रसारण गरेपछि रेडियोको युगको सुरु भएको हो । सन् १९२० को दशकमा सम्पन्न र शक्तिशाली देशले रेडियो सञ्चालनमा ल्याए भने दोस्रो विश्वयुद्धपछि रेडियोको व्यावसायीकरण बढेको हो ।

दुई शताब्दीसम्म एक छत्र प्रभाव जमाएको पत्रपत्रिकालाई दोस्रो विश्वयुद्धपछि भने रेडियोले चुनौती दियो । निरक्षरले पनि सुन्न र बुझ्न सक्ने, निःशुल्क सूचना पाइने भएपछि रेडियोको आकर्षण र लोकप्रियता बढेको हो ।

सन् १९७० को दशकमा भएको टेलिभिजन आविष्कारले सञ्चारमा नयाँ युगको प्रारम्भ गरेको थियो । पत्रपत्रिका पढेर सूचना प्राप्त गर्ने कुरालाई रेडियोको सुन्ने कुराले चुनौती दिएको थियो भने टेलिभिजनमा पढ्न, सुन्न र हेर्न सकिने कुराको पत्रपत्रिका र रेडियोलाई चुनौती थपिएको थियो । टेलिभिजनको विकास सञ्चारमा नयाँ युगको एक क्रान्ति नै थियो ।

एकएम रेडियोको विकासले रडियोले पुर्नजीवन त पायो तर लामो समय टिक्न सकेन । एफएम रेडियो युग दुई दशक पुग्न नपाउँदै र घर–घरमा टेलिभिजन पुगेको एक दशक हुन नपाउँदै टेलभिजनमाथि इन्टरनेटको विकासले नयाँ चुनौती थपिदियो ।

सन् १९९० को दशकमा विकास भएको इन्टरनेटले अनलाइन मिडियाको विकास सम्भव भएको हो । आज पत्रपत्रिका, रेडियो र टेलिभिजन जस्ता सूचनाका साधन परम्परागत मिडियामा रुपान्तरित भएका छन् । यिनले आफ्नो प्रभाव र पहुँच कायम राख्न न्यु मिडियाको सहारा नलिई नहुने अवस्थामा पुगेको छ ।

पत्रपत्रिका, रेडियो वा टेलिभिजनले इन्टरनेटबाट उत्पादित सामग्री अनलाइन र सामाजिक सञ्जालमार्फत पाठक, दर्शक र स्रोतामा पुर्‍याउनु पर्ने बाध्यता छ । सामाजिक सञ्जालको प्रयोग परम्परागत मिडियाका लागि चुनौती मात्र होइन, अनिवार्य बनेको छ ।

न्यूमिडियाको प्रभाव

तारामणि सापकोटा

बीसौँ शताब्दीमा पत्रकारिताको बहुआयामिक विकास मात्र भएन, यसले व्यवसायिक अभ्यासका नयाँ मूल्य मान्यता स्थापित गर्‍यो । मिडिया जगत प्रेस स्वतन्त्रता, आचारसंहिता, व्यावसायिक पत्रकारिताका मापदण्ड र आधार तयार गरी लोकतन्त्र, मानवअधिकार, नागरिक अधिकारको पक्षमा उभियो । लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रता एक–अर्काका पूरक भए । यी मान्यता बिसौँ शताब्दीमा विकास भएका हुन् ।

बिसौँ शताब्दीको अन्त्यबाट भएको सूचना प्रविधिको विकास र प्रयोगले मिडियामा ठूलो बद्लाव ल्याएको छ । एक्काइसौँ शताब्दी सूचना प्रविधिमा आधारित पत्रकारिताको युग हो । इन्टरनेटका माध्यमबाट प्रविधियुक्त पत्रकारिताको अभ्यास भइरहेको छ । पत्रकारितामा सूचना प्रविधि आजको अनिवार्य आवश्यकता हो ।

सूचना प्रविधिले इन्टरनेटका माध्यमबाट सूचना, शिक्षा र मनोरञ्जन प्राप्त गर्ने नयाँ आधार खडा गरेको छ । हातमा भएको मोबाइलबाट हेर्न, सुन्न र पढ्न सकिने अवस्थामा पुर्‍याएको छ । मोबाइल, कम्प्युटरलगायतका विद्युतीय सामग्रीको प्रयोग गरी सूचना प्रवाह गर्ने माध्यम नै न्यु जर्नालिजम् वा डिजिटल जर्नालिजम् हो ।

सन् १९९० पछि इन्टरनेटका माध्यमबाट समाचार सम्प्रेषण हुन थालेपछि न्यु मिडियाको विकास भएको हो । फेसबुक, युट्यूब, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोगले न्यु मिडियाको लोकप्रियता ह्वात्तै बढेको हो । सामाजिक सञ्जालको विकास र प्रयोगले न्यु मिडियाको लोकप्रियता मात्र बढेन, सूचनामा नागरिकको पहुँचमा पनि बृद्धि भएको छ ।

परम्परागत मिडिया (पत्रपत्रिका, रेडियो र टीभी) मा जसरी न्यु मिडियाले चुनौती दिएको छ, त्यसरी नै अनलाइन न्युज पोर्टललाई सामाजिक सञ्जालले चुनौती दिएको छ । फेसबुक, ट्यूटर, यूट्युबलगायतका सामाजिक सञ्जालको विकास पछि मात्र अनलाइन न्यु पोर्टल आम मानिससम्म पुगेको हो ।

समाचारका लागि महिना, हप्ता, दिन वा केही घण्टा पर्खनुपर्ने बाध्यता समाप्त भएको छ । पाठक, दर्शक र श्रोताले तत्कालै सूचना प्राप्त गर्ने अवस्था विकास भएको छ । सञ्चारमाध्यमका सामग्री फेसबुक, ट्वीटर र युट्युब जस्ता सामाजिक सञ्जालमार्फत् नागरिकले सजिलै प्राप्त गर्न सक्ने अवस्था छ ।

पाठकले इन्टरनेटका माध्यमबाट तत्कालै आफ्नो चासो र प्रतिक्रिया मात्र व्यक्त गर्दैनन्, प्रकाशित समाचार सामग्रीमा तत्काल प्रतिक्रिया, आलोचना, समर्थन वा विरोध गर्न सक्ने अवस्था पुगेका छन् ।

पत्रपत्रिका, रेडियो र टेलिभिजनमा पाठक, श्रोता र दर्शकबीचको अन्तरसम्वाद नाम मात्रको हुन्थ्यो । नागरिकका प्रतिक्रिया वा गुनासो छाप्न पत्रिकामा हप्तौँ लाग्ने, छाप्ने–नछाप्ने (पत्रिका, रेडिया वा टिभी) सम्पादकको विवेकमा निर्भर हुने कुरालाई न्यु मिडियाले समाप्त पारिदिएको छ । पाठक, श्रोता वा दर्शकले तत्काल प्रतिक्रिया व्यक्त गर्न सक्ने अवस्था छ ।

मिडियाका कुनै विषयमा चित्त नबुझे सामाजिक सञ्जालमार्फत तत्काल प्रतिक्रिया, टिप्पणी, आलोचना वा असहमति प्रकट गर्नसक्दछन् । परम्परागत मिडियामा यो सम्भावना न्यून हुन्छ । प्रतिक्रियाका लागि महिनौँ वा हप्तौँ कुर्नु पर्ने अवस्था हुन्थ्यो, र छ ।

पत्रकारिता कोल्याप्सको मार्गमा !

परम्परागत मिडिया (पत्रपत्रिका, रेडियो र टीभी) मा जसरी न्यु मिडियाले चुनौती दिएको छ, त्यसरी नै अनलाइन न्युज पोर्टललाई सामाजिक सञ्जालले चुनौती दिएको छ । फेसबुक, ट्यूटर, यूट्युबलगायतका सामाजिक सञ्जालको विकास पछि मात्र अनलाइन न्यु पोर्टल आम मानिससम्म पुगेको हो ।

अनलाइन न्युज पोर्टल सामाजिक सञ्जालसँग निर्भर रहनुपर्ने अवस्था छ । सामाजिक सञ्जालको विकाससँगै जसरी न्युज पोर्टलको प्रयोगमा व्यापकता भएको हो, न्युज पोर्टलका सामाग्री सामाजिक सञ्जालमा आउन थालेसँगै यसको लोकप्रियता र प्रयोगमा व्यापकता आएको हो । न्यु मिडियाभित्रका यी दुई प्लेटफर्म एक अर्काप्रति निर्भर मात्र छैनन्, पूरक पनि हुन् । यद्यपि, सामाजिक सञ्जाल अनलाइन मिडियाका लागि पनि चुनौती बनेको छ ।

औपचारिक समाचारका लागि पत्रकारले सूचना प्राप्त गर्न धेरै संघर्ष गर्नु पर्ने अवस्था पनि अन्त्य भएको छ । सामाजिक सञ्जालमा आएका प्रारम्भिक सूचनालाई आधार बनाएर समाचार बनाए पुग्ने अवस्था विकास भएको छ । एउटा सञ्चारमाध्यमले उत्पादन गरेको समाचार अरुले कपी गर्न सक्ने वा त्यसलाई आधार मानेर समाचार तयार गर्ने अवस्था सूचना प्रविधि र सामाजिक सञ्जालले तयार गरेको हो ।

नागरिकले सामाजिक सञ्जालमा प्रयोग गरेका सूचनाका आधारमा पत्रकार समाचार बनाउनुपर्ने ठाउँमा पुगेका छन् । कुनै दुर्घटना भयोभने दुर्घटना परेको सवारीभित्रकै अर्को कुनै व्यक्ति वा स्थानीय वा तत्काल त्यहाँ पुग्ने व्यक्तिले त्यसको प्रारम्भिक विवरण, फोटो वा भिडियो सामाजिक सञ्जाल मार्फत प्रवाह गर्न सक्छन् । यसका लागि कुनै सञ्चारमाध्यम पर्खनु पर्दैन । घटनास्थल पुगेर मात्र सूचना संकलन गर्ने र समाचार बनाउनुपर्ने अवस्था पत्रकारका लागि समाप्त भएको छ ।

पत्रकार सूचना संकलन, प्रशोधन र उत्पादनमा संलग्न थिए । तर, अब पत्रकारको यी तीन तहको भूमिकामा सक्रियता घटेको छ । अर्थात् पत्रकार नभए पनि आम मानिसले सूचना पाउन सक्ने अवस्था छ । सञ्चार माध्यममा उत्पादित समाचार पाठक, श्रोता र दर्शकसमक्ष पुगेपछि मात्र आम नागरिकले सूचना पाउने अवस्था समाप्त भएको छ ।

उत्पादित सूचना व्यवस्थापन पक्षले आम मानिसमा पुर्‍याउने गर्दथ्यो । यसमा आममानिसको आकर्षण व्यापक रुपमा थियो । तर, आज आम नागरिक पनि सूचना संकलन र प्रवाहमा सक्रिय छन् । आम नागरिकले संकलन र प्रवाह गरेका सूचना पत्रकार र सञ्चार माध्यमका लागि सूचनाका प्रारम्भिक स्रोत बन्न थालेको छ ।

पत्रकार र सञ्चारका माध्यम अब सूचना प्राप्त गर्ने प्रमुख स्रोत होइनन् । उनीहरुले आमसञ्चारमा सबै माध्यम सामाजिक सञ्जालबाट प्राप्त गर्ने अवस्था हुँदैछ । आम मानिसमा भएको शिक्षा, स्वास्थ्य, मनोरञ्जन, चेतना र सूचना हिजो सञ्चारमाध्यमबाट प्रवाह गर्दथे । आज उनीहरु सामाजिक सञ्जालबाट प्रवाह गर्न थालेका छन् । आफ्ना धारणा र सूचना प्रवाह गर्ने मुख्य माध्यम सामाजिक सञ्जाल बनेको छ ।

आमसञ्चारका माध्यम सञ्चालन हुने मुख्य स्रोत विज्ञापन हो । तर, विज्ञापनको ठूलो हिस्सा सोझै सामाजिक सञ्जालमा जान थाल्नु खतराको घण्टी हो ।

उच्च पदमा बसेका नेता, कर्मचारीदेखि सर्वसाधारणले फेसबुकमा पाँच हजारलाई सोझै मित्र बनाउन सक्छन् । ट्वीटरमा लाखौँ फलोअर हुन सक्छन् । उच्च तहमा बसेका व्यक्तिले प्रवाह गर्ने सामग्री समाचारका स्रोत भएका छन् । यसले के देखाउँछ भने एउटा पावरफूल अखबारभन्दा धेरै फलोअर भएका व्यक्तिको ट्वीट शक्तिशाली हुन सक्छ ।

सामाजिक सञ्जालकै कारण आम नागरिकले आमसञ्चारका माध्यमलाई महत्व दिन छाडेका छन् । जुरुक्क उठेर पत्रिका खोज्ने, रेडियोको ट्युन बटार्ने वा टेलिभिजनको रिमोट थिच्ने व्यक्ति आज मोबाइलको खोजीमा हुन्छ, फेसबुक र ट्वीटर सर्च गर्न थाल्छ ।

मानिसका घरका टेलिभिजनमा धुलो लागेको छ । रिमोट कहाँ छ पत्तो छैन । घरमा टेलिभिजन नहेरेको महिनौँ भइसक्यो । डिस केबललाई तिरेको पैसा बेकार हुन थालेको छ । टीभी हेरेर छोराछोरी बिग्रिए भनेर आज कसैले गुनासो गर्दैनन् । मोबाइल, ल्यापटप वा कम्प्युटर चलाएर केटाकेटी बिग्रिए भन्न थालेका छन् ।

हो, ग्रामीण क्षेत्र जहाँ इन्टरनेटको सहज पहुँच छैन, त्यस्ता ठाउँमा रेडियो र टीभीको अझै प्रभाव कायम छ । ती ठाउँमा रेडियो र टीभीको प्रभाव कायम रहनुको एक मात्र कारण इन्टरनेटको अभाव हो । जुन दिन ती ठाउँमा इन्टरनेट पुग्छ, त्यहाँ रिमोटको खोजी हुन छाड्छ, रेडियोको ट्युन बटारिन छाडिनेछ ।

एक दशकयता सामाजिक सञ्जाल यति प्रभावशाली भएको कि सञ्चारमाध्यम उनीहरुमै निर्भर हुन बाध्य छन् । सामाजिक सञ्जालले दिन–प्रतिदिन मिडियालाई चुनौती दिँदै आएका छन् । औपचारिक कार्यक्रम, दुर्घटना, सानातिना गतिविधि, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता, सभा, समारोह, भाषण, गोष्ठी, अन्तरक्रियाजस्ता कार्यक्रमका लागि अब पत्रकार वा मिडिया आवश्यक पर्दैन ।

आयोजक आफैँले सामाजिक सञ्जालमा लाइभ वा पोष्ट गरे पर्याप्त हुन थालेको छ । यसरी पोष्ट गरिएका सामग्री आफ्ना सदस्यले मात्र शेयर गरे दशौँ हजारले हेर्न र पढ्न सक्छन् भने पत्रकार वा मिडियाको किन आश्वश्यक पर्‍यो र ?

पत्रपत्रिका पढेन, रेडियो सुन्न र टेलिभिजन हेर्न अभ्यस्त भएको पुस्ता रहुन्जेल केही हदसम्म पुराना मिडियाको अर्थ र औचित्य रहला । तर, जुन पुस्ताले पत्रिका पढेन, रेडियो सुनेन र टेलिभिजन हेरेन, त्यो पुस्ताले सूचनाका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने भन्दा अर्को विकल्प सोच्नै सक्तैनन् । संसारमा सूचना प्राप्त गर्ने नयाँ विकल्प आविस्कार नहुन्जेलसम्म मुख्य माध्यम नै सामाजिक साञ्जाल बनेको छ ।

समाजिक सञ्जालका समस्या छन् । अभ्यासका हिसाबले सामाजिक सञ्जालको व्यापक प्रयोगले एक दशक मात्र नाघेकाले सूधारका अपेक्षा बाँकी नै छ । समाजमा मानिस जति शिक्षित, वौद्धिक र चेतनशील हुँदै जान्छन्, त्यति नै सामाजिक सञ्जाल जस्ता प्लेटफर्मको गुणात्मक बिकास हुँदै जाने अपेक्षा गर्न सकिन्छ । पत्रकारिताको चारसय वर्षको इतिहास भए पनि पत्रकार आचारसंहिता कर्यान्वयनको नभएको विषयमा बहस हुने गरेको छ । सामाजिक सञ्जाल जस्ता प्लेटफर्म परिमार्जन र परिस्कृत भएसँगै यसको प्रयोगमा अझ विश्वासनीयता बढ्ने हो ।

टेलिभिजन सञ्चालनका लागि करोडौँ खर्च लाग्छ । तर, अनलाइन टीभी केही लाखमै सञ्चालन हुन सक्छ । सीप हुनेले एक्लै युट्यूब च्यानल चलाएर राम्रो प्रभाव र आम्दानी गरेका छन् । टेलिभिजनका लागि युट्यूब खतरा भएको छ ।

सामाजिक सञ्जाल सूचनाका दृष्टिले मात्र होइन, आर्थिक दृष्टिकोणले पनि पत्रकारिताका लागि चुनौती बनेको छ । यो पत्रपत्रिका, रेडियो र टीभीका लागि त चुनौती छँदैछ, अनलाइन न्युज पोर्टलका लागि पनि खतरा सावित हुँदै गएको छ । आमसञ्चारका माध्यम सञ्चालन हुने मुख्य स्रोत विज्ञापन हो । तर, विज्ञापनको ठूलो हिस्सा सोझै सामाजिक सञ्जालमा जान थाल्नु खतराको घण्टी हो । बिनाआम्दानी निजी क्षेत्रका सञ्चार माध्यम सञ्चालन हुन सक्तैनन् ।

परम्परागत मिडियामध्ये पत्रिका र रेडियोको भविष्य निकै संकटपूर्ण छ । टेलिभिजन पनि आर्थिक दृष्टिकोणले संकटमा छ । ठूला कम्पनीले टेलिभिजनका लागि दिने विज्ञापन सोझै सामाजिक सञ्जाल वा न्युज पोर्टलमा दिन थालेका छन् ।

टेलिभिजन सञ्चालनका लागि करोडौँ खर्च लाग्छ । तर, अनलाइन टीभी केही लाखमै सञ्चालन हुन सक्छ । सीप हुनेले एक्लै युट्यूब च्यानल चलाएर राम्रो प्रभाव र आम्दानी गरेका छन् । टेलिभिजनका लागि युट्यूब खतरा भएको छ ।

मिडियाले आफूलाई जोगाउने वा बचाउने आधार भनेको खोजमूलक पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग नै हो । औपचारिक सामाचारका लागि पत्रकार र मिडियाको आवश्यकता पर्दैन । तर, खोजमूलक पत्रकारिताका लागि सीप, कला र दक्षता चाहिन्छ । पत्रकारिताको ज्ञान आवश्यक पर्ने हुन्छ । खोजमूलक पत्रकारिताका संलग्न पत्रकार र मिडिया सानो सङ्ख्यामा टिक्लान्, तर ठूलो संख्यामा पत्रकार र मिडिया टिक्न सक्ने सम्भावना न्युन छ ।

रोजगार र पेशाको रुपमा भन्दा आकर्षक र ग्ल्यामर्स पेशा भएकाले नेपाली पत्रकारितामा आकर्षण बढेको हो । वैकल्पिक मिडियाका कारण दिन–प्रतिदिन पत्रकारितामा आकर्षण घट्दै गएको छ । यस्तो अवस्थामा मिडियाले आम्दानी गर्नपनि नसक्ने, प्रभाव पनि नहुने भएपछि संख्यात्मक हिसाबले मिडियामा आकर्षण घट्छ । पत्रकारितामा आकर्षण घट्नुको अर्थ यसको संख्यामा पनि कमी आउनु हो ।

नेपालको सन्दर्भमा पुरानो मिडियाको प्रभाव कायम रहेको अवस्था छ । नयाँले पूर्ण विकास गर्न नसकेको र पुरानो समाप्त नभएको अवस्थाले नेपाली मिडिया एक प्रकारको संक्रमणकालको अवस्थामा छ । शिक्षा, चेतना र प्रविधिमा पहुँचको कमीले गर्दा पुरानो पुस्ताका कारण परम्परागत मिडियाको अस्तित्व कायम रहेको हो । त्यसमा पनि नेपालका पत्रपत्रिकालाई सरकारले लोककल्याणकारी विज्ञापनका नाममा दिने अनुदानले घिटिक घिटिक भएर अहिलेसम्म चलेका हुन् । आप्mनै बलबुताले टिक्न सक्ने कमैमात्र मिडिया छन् । तिनको पनि अवस्था नाजुक छ ।

फाइभजीले ल्याउने संकट

सूचना प्रविधिमा फोरजीको विकास र प्रयोगले आजको दुनियाँमा धेरै परिवर्तन सम्भव भएको छ । फाइभजी इन्टरनेटको तयारी हुँदैछ । अहिलेको इटरनेट फोरजीको फूल स्पिड भन्दा फाइभजी २५ गुणा बढी हुनेछ । एउटा फिल्म डाउनलोड गर्न मात्र साढे ३ सेकेण्ड लाग्ने कुराले इन्टरनेट अबका दिनमा कति स्पिड हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । फाइभजी सेन्सरबाट सञ्चालन हुनेछ ।

इन्टरनेटमा फोरजीसम्मको यात्रामा मानिसले प्रविधिको व्यापक प्रयोग गरे भने फाइभजी प्रविधिबाट मानव समुदाय सञ्चालन हुने यसका जानकारको भनाइ छ । चीन र दक्षिण कोरियाले फाइभजी प्रविधिको विकास गरिरहेका छन् । फाइभजी प्रविधि नेपालमा भित्राउने तयारी सरकारले गरेको छ । ढिलो–चाँडो नेपालमा पनि यो प्रविधि आउँछ ।

नेपालमा यो प्रविधि आएपछि अहिलेको भन्दा कयौँ गुणा बढी बदलाव सञ्चारमाध्यममा हुने निश्चित छ । फाइभजी को विकासले सूचना प्रविधि नागरिकको लगभग पूर्ण पहुँचमा हुने अनुमान गरिएको छ । आफूलाई बदल्न नसक्ने पत्रकार र मिडिया त्यो नयाँ युगबाट पलायन हुनु पर्ने अवस्था आउँछ ।

सूचना प्रविधिको विकासले पत्रकारको मात्र होइन, मिडियाको संख्यामै कमी आउँछ । सामाजिक सञ्जाल जस्ता अनौपचारिक माध्यमनै पावरफूल हुन्छन् र मिडिया र पत्रकारको ठूलो हिस्सा कोल्याप्स हुने सम्भावना रहन्छ ।

सामाजिक सञ्जालले पार्ने प्रभाव

सूचना प्रविधिको उच्च विकासले मिडिया मात्र होइन, सरकार र शासन–प्रसाशन पनि सामाजिक सञ्जालका माध्यमबाट नागरिकको नियन्त्रणमा जान थालेको छ । मिडियाबाट हुने आलोचना र सडकबाट हुने विरोध प्रदर्शन भन्दा सामाजिक सञ्जालबाट हुने विरोधको सरकारलाई सामना गर्न मुस्किल हुन थालेको छ । सामाजिक सञ्जालबाट हुने आलोचना र टिप्पणीले आन्दोलनको रुप ग्रहण गर्ने र परिवर्तन हुने अवस्था हुँदै गएको छ ।

सडकमा हुने प्रदर्शनका विरुद्ध सरकारले खुल्ला आलोचना र प्रतिवाद गर्न सक्छ । मिडियाको आलोचनाको सामना पनि सरकार वा सरकारी निकायले सामना गरेका छन् । त्यसमा सरकार समर्थक मिडियाले सरकारलाई सहयोग गर्न सक्छन् । सरकारी मान्छेले भित्रभित्रै सेटिङ मिलाएर मिडियाको मुख बन्द गराउन सक्छन् ।

तर, नागरिकले सामाजिक सञ्जाल मार्फत गर्ने आलोचनाबाट बच्न सरकार र सत्तालाई कठिन हुँदै गएको छ । नागरिकले आफ्नो अभिमत सामाजिक सञ्जालको प्लेटफर्मबाट सार्वजनिक गर्ने भएकाले सरकार नागरिकसँग डराएको हो ।

सरकार र शक्तिमा बसेका व्यक्तिका सम्बन्धमा मिडियामा आउन नसकेका विषय पनि सामाजिक सञ्जालमा आउने र भाइरलहुने गरेको छ । भेला, सभा, समारोहजस्ता कार्यक्रमका लागि प्रचारका साधन अहिले सामाजिक सञ्जाल बनेको छ । सरकारका निर्णयका विरुद्धसामाजिक सञ्जालमा हुने आलोचनाले सरकारपछि हट्न बाध्य भएको छ ।

सरकार र राज्य संयन्त्र समाजिक सञ्जालबाट नराम्ररी प्रभावित छन् । सरकार, मन्त्री, राजनीतिक दल, दलको नेता, कार्यकर्ता, संघ संस्था, प्रहरी, प्रसाशन मात्र सरकारी कार्यालय र न्यायलयका कामसमेत सामाजिक सञ्जालमा आउने नागरिकका प्रतिक्रियाबाट प्रभावित छन् ।

सामाजिक सञ्जालमा आउने प्रतिक्रिया र आलोचनाबाट प्रहरी र अदालतले गर्ने कार्य प्रभावित हुन थालेको छ । हिजो मिडियामा आउने कुराले सरकार, दल, प्रहरी, अदालत जस्ता राज्यका संयन्त्र प्रभावित थिए । तर, आज मिडियाको त्यो ठाउँ नजानिँदो पाराले सामाजिक सञ्जालले लिँदै गएको छ ।

नेपाली समाजमा सामाजिक सञ्जालको अधिक प्रयोग राजनीतिक दलका नेता, कार्यकर्ता, शहरीय पढालेखा, राजनीतिक आस्था विचार बोकेको व्यक्तिले गर्न सक्ने अनुमान गर्न सकिन्छ । जुन दिन सामाजिक सञ्जालमा नयाँ पुस्ताको होल्ड हुन थाल्छ, जो राजनीतिक विचार र प्रभावमा नबाँधिएको होस्, त्यसपछि सामाजिक सञ्जाल अहिलेको भन्दा झन शक्तिशाली हुन्छ ।

सामाजिक सञ्जालबाट भविश्यमा प्रत्यक्ष साशन व्यवस्थाको अभ्यास नहोला भन्न सकिन्न । प्रत्यक्ष प्रजातन्त्र सिद्धान्तत स्थापित भएपनि अभ्यासमा खासै छैन । राज्यले नै जनमत बुझ्न सामाजिक सञ्जाल वा त्यही प्रकृतिको संयन्त्रको प्रयोग गर्न सक्ने दिन आयो भने कुनै आश्चर्य नमान्दा हुन्छ । प्रत्यक्ष प्रजातन्त्रको कार्यान्वयन र जनमत बुझ्ने भविश्यको उत्कृष्ठ माध्यम हुन सक्छ ।

स्वतन्त्र विचार र चिन्तन गर्न सक्नेहरुको जमात ठूलो भएका दिन सामाजिक आजको भन्दा कयौँ गुण बढी हुन्छ । त्यसबेला सामाजिक सञ्जालका प्लेटफर्मका स्वरुप बदलिएको हुन सक्छ । राज्य र सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न सक्ने अवस्था नभएकाले बिस्तारै यसले सरकार, राजनीतिक दल, प्रहरी, प्रसाशन, अदालत जस्ता निकायलाई नियन्त्रण गर्ने काम गर्दछ । नेपालको सन्दर्भमा हामी केही दृष्टान्त हेर्न सक्छौँ ।

डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्रको विषयमा गरेको अनशनलाई मिडिया र सामाजिक सञ्जालबाट सहयोग र समर्थन भएको थियो । डा. केसीको आन्दोलन त्यही बलमा सफल भयो । सरकारगुठी विधेयक फिर्ता लिन बाध्य भयो । गुठी विधेयकविरुद्ध बृहत प्रदर्शन गराउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका थियो । र, सरकारले गुठी विधेयक फिर्ता लिन बाध्य भयो ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पक्राउ गर्न नसकेको विषयमा पनि सामाजिक सञ्जालबाट व्यापक दबाव सिर्जना भयो । निर्मलाका हत्यारा पक्राउ गर्न नसकेको विषयमा सरकार र प्रहरीको क्षमता र नियतमाथि नागरिकले सामाजिक सञ्जालबाट प्रश्न गरे ।

शालिकराम पुडासैनीलाई आत्महत्या गर्न उक्साएकोआरोपमा पक्राउ परेका रवि लामिछानेका पक्षमा देखिएको जनसमर्थनको आधार सामाजिक सञ्जाल बन्यो । उनको पक्षमा मूलधारका मिडियाले खुलेर समर्थन गरेका थिएनन् । जनता सडक र सामाजिक सञ्जालमा रविका पक्षमा खुलेर आउन थालेपछि मात्र रविको विषयमा समाचार कभरेज गर्न ठूला मिडियालाई दबाव परेको थियो । ज्ञानेन्द्र शाहीको भ्रष्टाचार विरोधी अभियान सामाजिक सञ्जालबाटै स्थापित भएको हो । सामाजिक सञ्जाल नहुँदो हो त शाहीले राष्ट्रिय चर्चा पाउन सम्भव हुँदैनथ्यो ।

नेपालको लिम्पियाधुरा, कालापानीको भूभाग भारतले आफ्नो बनाउँदै नयाँ नक्सा जारी गर्यो । नक्साका सम्बन्धमा सञ्चार माध्यमबाट सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा भारतबिरुद्ध तिव्र प्रतिक्रिया आयो । आम नागरिकले सामाजिक सञ्जालकै माध्याबाट भारतको नेपाली भूभाग हडप्पने कार्यको आलोचना गरे । नेपाल सरकार र राजनीतिक दललाई खबरदारी गरे ।

नागरिकको त्यो दबावले सरकार र दल लिम्पियाधुरा, कालापानी नेपाली भूभाग हो भन्न बाध्य भए । दल र सरकार एक ठाउँमा उभिए । यो दबावका लागि सामाजिक सञ्जालको ठूलो भूमिका छ । सुरुमा कालापानी मात्र हाम्रो भन्ने नेताहरु अहिले लिम्पियाधुरादेखिको जमिन हाम्रो हो भन्न बाध्य छन् ।

अबका मिडियाबाट प्रभावित र नियन्त्रित सरकार, राजनीतिक दल, प्रहरी, प्रसाशन, अदालतजस्ता राज्यका निकाय अब विस्तारै सामाजिक सञ्जालका टीकाटिप्पणी र प्रतिक्रियाबाट प्रभावित हुन थालेका छन् । सामाजिक सञ्जालले राज्यलाई नियन्त्रण र सन्तुलनको अभ्यासमा लाँदैछ ।

भारतमा भाजपा सरकारले नागरिकता संशोधन विधेयक संसदबाट पारित गरेपछि देशभर त्यसको विरोध भएको छ । भारतका मूलधारका टेलिभिजन र पत्रपत्रिका सरकारको पक्षमा छन् । तरपनि देशभर जनता सडकमा उत्रिएका छन् । त्यसको एक मात्र कारण सामाजिक सञ्जाल नै हो । विद्यार्थी, विपक्षी पार्टी, राजनीतिक तथा सामाजिक संघ संगठन, जातीय संघ संगठनले दिनैपिच्छे गर्ने विरोध प्रदर्शनको सूचना मूलधारका मिडियामा भन्दा सामाजिक सञ्जालमा धेरै हुने गरेको छ ।

भारतमा नागरिकता कानुनका विरुद्ध भएको आन्दोलनका गतिविधि प्रचारको एनडीटीभी लगायतका केही टेलिभिजन, पत्रपत्रिका र अनलाइन बाहेक अधिकांश मूलधारका मिडियाले नकारात्मक प्रचार गरेका छन् । तर पनि नागरिकले सडक प्रदर्शनको मुख्य साधन सामाजिक सञ्जाललाई बनाएका छन् ।

भारतमा भइरहेका प्रदर्शनको मूलधारमा मिडियाले नकारात्मक प्रवाह गरेपछि प्रदर्शनकारी र समर्थकले सामाजिक सञ्जालबाटै प्रचार गरेका छन् । उनीहरुले ठूला मिडियालाई सत्ता पक्षधर अर्थात गोदी (काखे) मिडिया र मोदी मिडिया भनेर आलोचना गरेका छन् । नागरिकको पक्षमा नआउने वा सत्ताको भजन गाउने मिडियाको नागरिकले सामाजिक सञ्जालबाट खुलेर आलोचना गर्न थालेका छन् ।

मोदी सरकारले काश्मीरको विशेषधिका अन्त्यसँग मोवाइल र इन्टरनेटमा प्रतिवन्ध लगायो । नागरिकता कानुनका विरुद्ध आन्दोलन हुन थालेपछि दिल्लीमा दुई दिन भन्दा बढी इन्टरनेट बन्द गर्न सकेन । सरकार इन्टरनेट बन्द गर्ने कुराबाट पछि हट्न बाध्य भयो ।

सामाजिक सञ्जालमा आलोचना मात्र होइन, लुकेका प्रतिभा र विषय पनि एकाएक भाइरल हुने गरेका छन् । साना–साना विषय र प्रसङ्गले पनि एकाएक व्यापकता पाउन थालेको छ । सभामुख जस्तो उच्च पदस्थ व्यक्ति कृष्णबहादुर महराको यौन प्रकरण सामाजिक सञ्जालकै कारण तत्कालै भाइरल भएको थियो । सडकमा गीत गाउँदै हिँड्ने अशोक दर्जी युट्युबमार्फत् रातारात चर्चित भए । रेल्वे स्टेशनमा गीत गाएर माग्दै हिँड्ने भारतकी रानु मण्डल सामाजिक सञ्जालमा भाइरल भइन् । उनी रातारात स्टार बनिन् । हिरो भएका महरा जस्ता व्यक्ति एकै रातमा जिरो र भुइँमान्छेहरु हिरो हुन थालेका छन् । सामाजिक सञ्जालको यो अर्को एक तागत हो ।

निष्कर्षमा भन्न सकिन्छ कि अबका मिडियाबाट प्रभावित र नियन्त्रित सरकार, राजनीतिक दल, प्रहरी, प्रसाशन, अदालतजस्ता राज्यका निकाय अब विस्तारै सामाजिक सञ्जालका टीकाटिप्पणी र प्रतिक्रियाबाट प्रभावित हुन थालेका छन् । सामाजिक सञ्जालले राज्यलाई नियन्त्रण र सन्तुलनको अभ्यासमा लाँदैछ । नागरिकले प्रत्यक्ष साशन सामाजिक सञ्जालबाट गर्ने अभ्यास गर्दैछन् ।

यसर्थ, सूचना प्रविधिको विकासले मिडियाको विकल्पमा आएको सामाजिक सञ्जालमा आमनागरिकको सूचना प्राप्त गर्ने लोकप्रिय साधन बनेको छ । मिडियामा आकर्षण घटेको छ । सूचना प्रविधिले सिर्जना गरेको यस्तो चुनौतीको सामना गर्नु पत्रकारका लगि एक मात्र विकल्प खोजी पत्रकारिता हो ।

औपचारिक समाचार भन्दा खोजमूलक र विश्लेषणात्मक समाचार सामग्री संकलन तथा उत्पादनमा जोड दिनुपर्छ । सूचना प्रविधि र पत्रकारितामा पत्रकारले आफूलाई अब्बल सावित गर्न सक्नुपर्छ । पत्रकार र मिडियाले सूचना प्रविधिको विकाससँग आफूलाई रुपान्तरित गर्नुपर्छ । यसले मात्र हाम्रो पत्रकारिता र सञ्चार माध्यम बाँच्न सक्छ ।

(लेखक नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा सजिलो खबर डटकमका सम्पादक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment