Comments Add Comment

नेपाली लिगको टचलाइनमा ब्राजिलियन प्रशिक्षक

९ पुस, काठमाडौं । दशरथ रंगशाला प्लेअर बक्स अगाडि टच लाइनमा एक प्रशिक्षक खेलाडीलाई बारम्बार निर्देशन दिइरहन्छन् । रेफ्रीको निर्णयलाई च्यालेन्ज गर्छन् । बारम्बार खेलाडीहरुलाई हौसला दिइरहन्छन्, कहिले रिसाउँछन् पनि ।

उनी हुन्, मार्कुस दान्तस । उनको पूरा नाम मार्कुस फिलिपे साम्पाइओ दान्तस । र, शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबका प्रशिक्षक । उनीसँगै टिममा तीन ब्राजिलियन खेलाडी पनि छन् ।

ब्राजिल विश्व फुटबलको पर्यायवाची हो । सर्वाधिक पाँच पटक विश्वकप जितेको छ । त्यही देशबाट ललितपुरे क्लब फ्रेण्ड्सले खेलाडीसँगै प्रशिक्षकलाई काठमाडौं ल्याएको छ । त्यसैले उनीहरुबारे चासो स्वाभाविक मानिन्छ ।

तर नेपाल आएका तीन खेलाडी र प्रशिक्षकको अवस्था फरक छ । उनीहरु कुनै स्टार होइनन् । तर नेपाली फुटबलको स्तर सुधार गर्न केही भूमिका खेल्न चाहन्छन्, फ्रेण्ड्स क्लबलाई ए डिभिजन लिगमा उत्कृष्ट नतिजा दिलाउन चाहन्छन् ।

‘म नेपालको फुटबल र फ्रेण्ड्स क्लबको विकासका लागि यहाँ आएको हुँ । नेपालमा एकदमै रमाइलो अनुभव गरिरहेको छु,’ पहिलो पटक नेपाल आएका दान्तसले भने ।

फ्रेण्ड्स क्लबकाअनुसार अध्यक्ष राजीव पौडेलले एजेन्टसँग प्रशिक्षक दान्तोसको कुराकानी गरेका थिए । ‘क्लबका अध्यक्षले मलाई प्रोजेक्टबारे बताउनुभयो र मैले स्वीकारेँ किनकी मैले यो नेपाली फुटबलमा महत्वपूर्ण हुन सक्ने ठानेँ,’ उनले भने । उनले त्यसअनुसार एक वर्षे सम्झौता गरेका छन् । ‘म लिग सकिएपछि यहीँ बस्छु किनकी फ्रेण्ड्स क्लबसँग अझै काम गर्नु छ,’ उनी भन्छन् ।

परिवर्तनका लागि समय लाग्छ

फ्रेण्ड्स क्लबले गत सिजन ११औं स्थानमा लिग टुङ्गाएको थियो । अन्तिम खेलमा च्याम्पियन मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै फ्रेण्ड्स पुछारबाट माथि उक्लेको थियो । गत वर्ष रेलिगेसनको व्यवस्था थिएन । यस पटक १४ मध्ये अन्तिममा रहने एक क्लब रेलिगेसनमा पर्छ । त्यसैले क्लबहरु केही सजग पनि छन् ।

दान्तसले पनि यो बुझेका छन् ।

तर सुरुवाती दुई खेल उनका लागि सुखद रहेन । उसले दुवै खेल गुमाएको छ । पहिलो खेलमा फ्रेण्ड्सले उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई कडा चुनौती दिएपनि २-१ को हार स्वीकार गरेको फ्रेण्ड्सले दोस्रो खेलमा ब्रिगेडलाई २-० को नजिता सुम्पियो । र, लिगमा अहिलेसम्म अंकविहीन छ ।

फ्रेण्ड्सले बिहीबार तेस्रो खेलमा लिगको उपाधि दाबेदार मानिएको मच्छिन्द्र क्लबसँग खेल्दैछ । मच्छिन्द्र क्लबमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु छन् ।

प्रशिक्षक दान्तसकाअनुसार यो सिजन क्लबको लक्ष्य शीर्ष ६ मा लिग टुंग्याउने रहेको छ, ‘अहिले ट्रफी जित्न गाह्रो रहेको सत्य मलाई क्लबले जानकारी गराएको छ । त्यसैले फ्रेण्ड्सको लक्ष्य लिगमा टप सिक्समा पर्ने हो,’ उनले भने ।

*****

प्रशिक्षक दान्तसकाअनुसार फ्रेण्ड्सका दुई लक्ष्य छन् । एउटा, फुटबल विकास, अर्को नतिजा ।


‘फ्रेण्ड्स क्लबको फुटबल विकास गर्ने अनि रिजल्ट ल्याउने,’ ३४ वर्षीय दान्तस भन्छन्, ‘नतिजा ल्याउनु महत्वपूर्ण हो किनकी मेरो करियरलाई नतिजा चाहिन्छ । ब्राजिलको फुटबल कोचलाई उसको करियरमा नतिजा चाहिन्छ ।’

जबकी दुवै काम एकसाथ गर्न कठिन छ । ‘मलाई भिन्न मेथोडोलोजी र आइडियामा काम गर्न भनिएको छ । यसमा एडजस्ट हुन खेलाडीलाई समय लाग्छ,’ दान्तसले भने ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलको अन्तिम दुई मिनेटमा दुई गोल खाँदै ब्रिगेड ब्वाइज क्लबसँग २-० ले पराजित भएपछि दान्तसले पोष्ट म्याच कन्फ्रेन्समा खेलाडीहरुले आफ्नो मेथोडोलोजीमा खेल्न नसकेको बताएका थिए । खेलाडीहरु आफ्नो मेथोडोलोजीमा डराइरहेका हुन् कि जस्तो लागेको उनले सुनाए । तर आफू ब्राजिलको भएर खेलाडी नडराएको उनले स्पष्ट पारे ।

उनले आफ्नो फर्मेसन पनि नेपालको अधिकांश प्रशिक्षकको भन्दा फरक रहेको सुनाए । ‘मेरो फर्मेसन बुझ्न खेलाडीलाई समय लाग्छ किनकी यो फरक छ,’ दान्तस भन्छन्, ‘मैले नेपाली फुटबलमा हेरेँ, अधिकांशले ४-४-२ को फर्मेसन प्रयोग गर्छन् । ब्राजिलमा मैले विभिन्न फर्मेसन प्रयोग गरेको छु ।’

उनले ४-१-४-१ को फर्मेसन प्रयोग गरेका छन् । डिफेन्सिभ खेलेर काउन्टरमा गोल गर्ने उनको रणनीति छ । ‘मलाई क्लबका अध्यक्षले अफेन्सिभ स्किल पनि विकास गर्नुपर्छ भनेका छन् । ब्राजिलमा पनि अफेन्सिभ खेलिन्छ । ब्राजिलमा ४-२-३-१, ४-२-४ जस्ता फर्मेसनमा खेलाइन्छ,’ उनले भने ।

फर्मेसनमा परिवर्तन गरेर खेल्न समय लाग्ने उनको बुझाइ छ । तर यस वर्ष राम्रो मेहनत गरेमा फ्रेण्ड्सलाई अर्को वर्ष फाइदा हुने उनको बुझाइ छ । ‘म लिग सकिएपछि पनि क्लबको विकासका लागि यहीँ बस्छु । म मेरो मेथोडोलोजी र आइडिया प्रयोग गर्छु,’ उनले भने, ‘युवा खेलाडीलाई प्रोफेसनल खेलाडीहरुसँग ट्रेनिङ गराउँदा उनीहरुले धेरै सिक्ने अवसर पाउनेछन् ।’

प्रशिक्षक दान्तसले स्पेनिस क्लब बार्सिलोनाको उदाहरण दिँदै भने, ‘त्यहाँ ९-१० वर्षदेखि बच्चाहरुलाई ट्रेनिङ गराउँछन्, जसले गर्दा प्रोफेसनल खेलाडी बन्दा उनीहरुको मेन्टालिटी परिवर्तन भइसक्छ । म यहाँ त्यस्तै गर्न चाहन्छु ।’

नेपाली खेलाडीमा क्षमता छ

नेपाल आएको छोटो समयमा नै प्रशिक्षक दान्तसले नेपाली खेलाडीबारे अध्ययन गर्न भ्याइसके । उनले १३औं दक्षिण एसियाली खेदकुद -साग) अन्तर्गत पुरुष फुटबलको फाइनल हेरे । ‘साग फाइनलमा भुटानविरुद्ध नेपालका नम्बर ७ -अभिषेक रिजाल)ले गज्जब खेले । उनी फ्यान्टास्टिक खेलाडी हुन्,’ दान्तसले भने, ‘मैले क्लब अध्यक्षलाई त्यतिबेलै भनेको थिएँ हि इज बिग मनी ।’

यस्ता खेलाडीहरुलाई अझ निखार्न र अरु खेलाडी उत्पादन गर्न निरन्तर ट्रेनिङ जरुरी हुने उनले बताए । स्वीडेनमा काम गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘त्यहाँका खेलाडी स्ट्रोङ छन् रोवोट जस्तो, तर स्पिड नै थिएन ।’

यहाँ भने खेलाडीहरुलाई राम्रो ट्रेनिङ दिन सके केही वर्षमै नेपाल एसियामै बलियो हुन सक्ने दान्तसको भनाइ छ । ‘नेपालमा राम्रा खेलाडीहरु छन् उनीहरुलाई विकास गर्ने सके आगामी ७-८ वर्षमा एसियाका ठूला राष्ट्रलाई टक्कर दिन सक्नेछन्,’ उनले भने । यसका लागि विभिन्न शैलीमा खेल्नुपर्ने उनको सुझाव छ ।

उनले फ्रेण्ड्सका प्रेजन तामाङ पनि राम्रो खेलाडी भएको बताए । ‘मेरो टिमको राम्रो खेलाडी नम्बर १० हुन् । उनको टेक्निक राम्रो छ, तर दुब्ला छन् । उनलाई अझ ट्रेनिङ चाहिन्छ, जिम जानुपर्छ शरिर पनि बलियो बनाउनुपर्छ,’ उनले भने ।

ब्राजिलियन खेलाडीले अझ राम्रो खेल्नुपर्छ

फ्रेण्ड्समा नेपाली खेलाडीसँगै ३ जना ब्राजिलकै छन् । तर उनीहरुले अझै नेपाली वातावरणमा खेल्न सकेका छैनन् । प्रशिक्षक दान्तस पनि त्यसलाई स्वीकार गर्छन् ।

आर्मी र ब्रिगेडविरुद्ध हार्नुको एउटा कारण ब्राजिलियन खेलाडी चल्न नसक्नु पनि हो । ब्रिगेडविरुद्ध पाएको अवसरसमेत सदुपयोग गर्न नसकेको भन्दै उनले भने, ‘नम्बर ९ ब्राजिलियनले गोल गर्न सकेनन् । उनले अझै ट्रेनिङ गर्नुपर्छ ।’

ब्राजिलबाट आएका वाग्नर फरवार्ड हुन् । तर उनले दुई खेलमा गोल गर्न सकेका छैनन् । ब्राजिल र यहाँको स्टाइल फरक रहेकाले पनि केही गाह्रो भएको बताए । ‘यहाँ विंगर टु विंगर खेलिन्छ । ब्राजिलमा सर्ट पास खेलिन्छ,’ उनले भने, ‘ब्राजिलियन खेलाडीले मलाई सर्ट पासमा खेल्नुपर्छ भनिरहेका छन् ।’

क्लबमा भएका अरु ब्राजिलियन खेलाडीमा पनि स्पिड खासै नदेखिएको उनले बताए । नेपालीहरुले सोच्छन् होला कि उनीहरुलाई ब्राजिलियन कोचले ल्याएछन्, तर होइन । मैले नेपालमै भेटेको हुँ,’ प्रशिक्षक दान्तसले भनेका छन् ।

प्रशिक्षक दान्तस र तीन ब्राजिलियन खेलाडीलाई फ्रेण्ड्स क्लबले एउटै एजेन्टमार्फत् ल्याएको हो । तर फरक समयमा खेलाडी र प्रशिक्षक ल्याएको फ्रेण्ड्स क्लबका प्रवक्ता राजाराम तन्डुकारले बताए । ब्राजिलका खेलाडीलाई आकर्षक रकममा क्लबमा अनुबन्ध गरेको भन्दै उनले रकम भने खुलाउन चाहेनन् ।

ब्राजिलबाट आएकामध्ये फेलिपे डे साउजा मिडफिल्ड र साउलो डे अकुइनो डिफेण्डर हुन् । वाग्नर र फेलिपेले यसअघि एउटै क्लब प्रोफेसनर उनिएओ मोगीबाट खेलेका थिए भने साउलोले प्रोपेसनल भर्डेस मरेस क्लबाट खेलेका थिए ।

को हुन् दान्तस ?

उमेरले भर्खर ३४ वर्षका भए तर टाउकोमा कपाल छैन । बढी स्ट्रेसले गर्दा कपाल झरेको उनले सुनाए ।

दान्तससँग ब्राजिल, पोर्चुगल र स्वीडेनमा फुटबल प्रशिक्षकको काम गरेको अनुभव छ । उनले ब्राजिलको चर्चित क्लब साओपाउलो समेत खेलेका थिए । एर्फइआरजे र एबीटीएफ ए लाइसन्स प्राप्त प्रशिक्षक हुन् । यसले ब्राजिलको घरेलु फुटबल र विश्वभर जुनसुकै क्लबमा पनि प्रशिक्षणको बाटो खुलेको छ ।

टेरेटोपिलिस फुटबल क्लबको मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका उनले त्यही क्लबमा गत वर्ष युथ टिमको कोअर्डिनेटरको रुपमा पनि काम गरेका थिए । नेपाल आउनुअघि उनी स्वीडेनको भोएजा एफसीको प्रशिक्षक थिए ।

परफरमेन्स एनालिस्ट, स्पोर्ट्स कोअर्डिनेटर लगायतको भूमिकामा काम गरिसकेका दान्तसले चेल्सी र पेरिस सेन्ट जर्मेन (पीएसजी) मा इन्टर्नसिप समेत गरेका थिए ।

तस्वीर : शंकर गिरि/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment