Comments Add Comment

सम्झनामा भारतीय साहित्यकार गंगाप्रसाद

कहिलेकाहीँ कुनै कुनै भेट पहिलो र अन्तिम एउटै भइदिन्छ । पछि भेटौंला भनिन्छ, केही योजना पनि बनाइन्छ पहिलो भेटमै, तर दोश्रो भेट कहिल्यै हुँदैन र सबथोक समाप्त हुन्छ । डा. गंगाप्रसाद विमलसँग पनि त्यस्तै भयो ।

गत अक्टोवर १८ देखि २० सम्म भारतको नयाँ दिल्लीमा सम्पन्न ” साउथ एशिएन लिटरेचर फेस्टिभल” को दोश्रो र तेश्रो दिन भेट भयो । भलाकुसारी भयो । उनको मुखबाट सो उत्सवमा प्रत्यक्ष कविता सुन्ने अवसर पाइयो । तेश्रो तथा अन्तिम दिन अन्तिम बेला छुट्टिएका थियौं । तर, त्यो नै अन्तिम भइदियो ।

उनी यसै हप्ता श्रीलङ्कामा कार दुर्घटनामा दिवङ्गत भए । एउटा नमिठो पीडाले मुटु पूरै हल्लियो ।

उनको सौम्य व्यक्तित्व, भलाद्मी व्यवहार, सरल वोलीचाली सवथोक आँखामा नाच्न थाले, मनले विश्वासै गर्न मानेन उनी दिवङ्गत भए भनेर ।

म तीसको दशकमा नेपाली साहित्यमा झुल्किएको हुँ । त्यो समय भारतमा हिन्दी साहित्यका प्रसस्त पत्रिकाहरुको चकचकी थियो, बोलवाला थियो । सारिका, धर्मयुग, साप्ताहिक हिन्दुस्तान, कादम्विनी, नवनीत, गंगा लगायतका पत्रिपत्रिकाहरुले बजारको राज गर्थे । हिन्दी भाषी भारतका शहरहरुमा मात्र होईन काठमाडौंमा पनि ती पत्रिकाहरुको उत्तिकै बोलवाला हुन्थ्यो । हामीले तिनै पत्रपत्रिका पढेर त्यो समय कटाएका हौं । कतिपयले त हामीमध्ये कतिलाई सारिकाले जन्माएका कथाकार भनेर हेय दृष्टिको टिप्पणी पनि गर्थे । त्यही समयमा मैले डा. गंगाप्रसाद विमल पढेको हुँ । उनका कथा पढेको हुँ । कविता पढेको हुँ । मन पराएको हुँ ।

कालान्तरमा ती अधिकाँश पत्रिकाहरु समयको गर्तमा बिलाए, तर त्यसका लेखकहरु मनमै बसे । उनका रचनाले पारेका प्रभाव हृृदयमा गढि नै रहे । गंगाप्रसाद विमल पनि त्यसैगरी मनमा गढेका साहित्यकार थिए ।

काठमाडौंमा भारतीय राजदूतावासमा आउने साँस्कृतिक सहचारीहरुको नेपाली साहित्य र साहित्यकारहरुसँगको सम्वन्धको कथा निकै पुरानो छ । डा. शिवमंगलसिं सुमन र शंकर लामिछानेको राम्रो सम्वन्ध थियो । नरेन्द्र जैन राजदूत आफैं कवि थिए । नेपाल आएर नेपालकै विषयमा उनले आफ्ना दुई कविता सङ्ग्रह प्रकाशन गर्नुका साथै तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको रजत जयन्तीका अवसर पारेर नेपाली कविताहरुको भव्य सङ्कलन हिन्दीमा अनुवाद तथा प्रकाशन गरी प्रतिष्ठानलाई उपहार दिएका थिए ।

साथै बेलाबेलामा भारतीय दूतावासमा भारतीय कविहरुलाई बोलाएर नेपाली कविहरुलाई पनि निम्त्याई कवि गोष्ठीहरु गर्ने पनि चलन थियो । कतिपय नेपाली संस्थाकै निम्तोमा भारतीय साहित्यकार पनि आउँथे । यसरी नेपाल आउने साहित्यकारहरु नामवर सिं, राजेन्द्र अवस्थी, सरोजनी प्रितम, गगन गील, हिमाँशु जोशी लगायत कैयन् भारतीय साहित्यकारहरुलाई काठमाडौंमै भेट्ने अवसर पाइयो । तर गंगाप्रसाद विमल नेपाल आएनन् वा मैले आएको थाहा पाइनँ, उनीसँग कहिल्यै भेट भएको थिएन ।

यो भेटका लागि सन् २०१९ को अक्टोवर कुर्न पर्ने रहेछ, तर यो पापी सालले नै उनको जीवन लिइदियो । दुर्भाग्य र दुःखद यही भइदियो ।

दिल्लीमा उनको घर त छ । म दिल्ली जाने नै छु । तर, उनले दिएको टेलिफोनमा उनी भेटिने छैनन् । विदा डा. गंगाप्रसाद विमल !

छोरी, ज्वाइँ, नाति, नातिनीका साथ पारिवारिक भ्रमणमा श्रीलङ्का गएका उनीहरु दक्षिणी श्रीलङ्काको बन्दरगाह शहर गालेबाट कोलम्वोतर्फ आउँदा सदर्न एक्सप्रेसवेमा उनीहरु सवार भ्यान कण्टेनर ट्रकसँग जुधेर दुर्घटना भएको थियो । सो दुर्घटनामा गंगाप्रसाद विमल, उनकी छोरी कनुप्रिया तथा नाती श्रेयसको घटनास्थलमै मृत्यु भएको थियो तथा श्रीकालङ्काली चालकको पनि मृत्यु भएको थियो । सो दुर्घटनामा उनका ज्वाइँ योगेश सहगल तथा नातिनी ऐश्वर्या मात्र बचेका थिए ।

गंगाप्रसाद विमल सन् १९३९ जुलाई ३ का दिन भारतको उत्तराखण्डको उत्तरकाशीमा जन्मेका थिए । उनको शिक्षादीक्षा गढवाल, ऋषिकेश, अलाहावाद, यमुनानगर तथा पञ्जाबमा भएको थियो । उनी सानै उमेरदेखि मेधावी र सिर्जनात्मक स्वभावका थिए । उनले सन् १९६५ मा ” डाक्टर अफ फिलोसफी” प्राप्त गरेका थिए । उनको विवाह सन् १९६५ मै भएको थियो कमलेश अनामिकासँग । उनीहरुका एक छोरा आशिष तथा एक छोरी कनुप्रिया दुई सन्तान थिए ।

उनको सिर्जनशीलताको क्षेत्र साहित्यका विविध विधामा थियो । उनी कवि थिए । कथाकार थिए । उपन्यासकार थिए । नाटककार थिए । समालोचक थिए । सम्पादक थिए । अनुवादक थिए । उनका प्रकाशित सात कविता संग्रहहरु-वोधि-वृक्ष, नो सुनर, ईतना कुछ, सन्नाटे से मुठभेड, मैं वहाँ हुँ , अलिखित-अदिखत, कुछ तो है हुन् ।

त्यस्तै कथा सङ्ग्रहहरु-कोई शुरुवात, अतीतमे कुछ, ईधर-उधर, बाहर न भितर, खोई हुई थाती लगायत छन् । त्यस्तै उनका चार उपन्यास प्रकाशित छन्-अपने से अलग, कहीं कुछ और, मरिचिका तथा मृगान्तक । आज नहीं कल उनको नाट्य कृति थियो ।

कवितामा उनी आफ्ना पिँढीका अब्बल थिए :

कति धेरै कुरा भनिसकिएको छ अहिलेसम्म

तर पनि केही छ जुन भनिएको छैन

म त्यही भन्न चाहन्छु

कति धेरै कुरा लेखिसकिएको छ अहिलेसम्म

तर पनि केही कुरा छन् लेख्न बाँकी

त्यही त म लेख्न चाहन्छु

सहनेका अनेक गाथाहरुमा

विचित्रसँग भयङ्कर र क्रूरतम

सबथोक मानौं सहियो

तर सूर्य उदाउन्जेल र अस्ताउन्जेल

हरेक दिन-यो असहनीय समय

सहनु पर्छ

चुपचाप इन्कार नगरिकन

त्यही त म खोज्न चाहन्छु । 

उनले विभिन्न मान सम्मान, पदवी प्राप्त गरेका थिए । भारतका विभिन्न पुरस्कार मान-सम्मान का साथै आर्ट युनिभर्सिटी रोमको डिप्लोमा, अन्तरराष्ट्रिय स्कटिस पुरस्कार, अन्तर्राष्ट्रिय बुल्गेरियाली सम्मानहरु प्रमुख थिए ।

दिल्लीमा परिचय हुने बित्तिकै उनको विनम्र र शालिन स्वभावले म प्रभावित भएको थिएँ । उनले मेरा समकालीन कवि दिनेश अधिकारीको कविता सङ्ग्रह हिन्दीमा अनुवाद गरेका थिए र दिल्लीबाटै प्रकाशित भएको थियो । मैले भेटको बेला यो प्रसङ्ग पनि उठाएको थिएँ ।

उनले नेपाली भाषासँग नजिकको सम्वन्ध भएको बताएका थिए । कुमाउँ, गढवाल कुनै बेला नेपालकै भूभाग थियो । उनी गढवालमा पढेका थिए । नेपाली भाषासँग उनी केही हिसाबले नजिक थिए ।

मैले सो अवसरमा आफ्नो एउटा निजी कुरा पनि उनीसमक्ष राखेको थिएँ, “मेरो एउटा उपन्यास हिन्दीमा अनुवाद भएको छ, त्यसलाई प्रकाशित गर्नुछ ।” उनले सहज भावले भनेका थिए- ‘कोही वात नहीं, हो जायगा । ”

उनले साहित्य सम्मेलन सकिएपछि उनको घरमा आउने निम्तो पनि दिएका थिए । घरको ठेगाना फोन नम्बर दिँदै भनेका थिए,’आइये ! अपना घर है !”

तर सम्मेलन सकिएको भोलिपल्ट म वृन्दावनमा रहेकी मेरी श्रीमतीलाई लिएर नेपाल फर्कने कार्यक्रम थियो । म तत्काल जान सम्भव भएन । मैले त्यसोभन्दा उनले भनेका थिए,’जब भी आ जाओ । लेकिन फोन करना । मैं बाँकी कुछ नहीं जानता ।’

उनले इमेल, फेसबुक होइन, फोन नै सजिलो हुने, ती सब सोसल मिडिया आफूले प्रयोग गर्ने नगरेको बताएका थिए ।

अक्सर सभा सम्मेलनहरुमा साइड टक राम्रो मानिँदैन । सभा छाडेर बाहिर निस्केर बस्नु राम्रो मानिँदैन । तर साइड टकमै मजा हुन्छ । बाहिर निस्केर बात मार्नै मजा हुन्छ । त्यो सम्मेलनमा पनि हामी एक दुईजना नेपाली सहभागी बाहिर निस्केका थियौं । केही भारतीय पनि बाहिर थिए । गंगाप्रसाद विमल पनि बाहिर निस्केका थिए र हामीले त्यहींको क्यान्टिनमा गफ गर्दै सँगै चिया पिएका थियौं । साहित्यका रमाइला गफ गरेका थियौं ।

अन्तिम दिन हामीलाई लैजाने बस आउन ढिला भएको थियो । उनी पनि आफ्नो गाडी पर्खिरहेका थिए । हाम्रो बस आएको खबर आएपछि मैले छुटि्टनका लागि अभिवादन गरें । उनले भनेका थिए,” गोविन्द, घर जरुर आना !”

अब ती शब्द सम्झनामा सुरक्षित छन् ।

उनले लेखेका थिए :

म मनभरि चुम्न चाहन्छु

आभारमा

आफ्नो त्यो गाउँलाई

त्यो पहिला मसँगै आएको थियो

शहरमा

झट्कारेर, मलाई एकलै छाडेर कहाँ गयो त्यो

स्मृतिको संसारमा

धकेल्दैछु पत्थर

सामुन्ने केबल अँध्यारो छ …।

शायद मृत्युपछिको यात्रा अँध्यारोको यात्रा हो कि ? कतै केही देखिंदैन मृत आँखाले ।

दिल्लीमा उनको घर त छ । म दिल्ली जाने नै छु । तर, उनले दिएको टेलिफोनमा उनी भेटिने छैनन् । विदा डा. गंगाप्रसाद विमल ! अश्रुपूर्ण विदा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment